लिपुलेक-कालापानी विवाद वार्तामार्फत् नै हल हुनुपर्छ : भारतीय कांग्रेस

जेष्ठ २९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय राष्ट्रिय कांग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा नेपालसँग देखिएको सीमा विवाद वार्ता र कूटनीतिक तवरबाट हल गर्न भारतीय सरकारलाई आग्रह गरेको छ ।

भारतीय कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभा नेता आनन्द शर्माले बुधबार राति प्रेस विज्ञप्तिमार्फत नेपाल–भारतबीच ऐतिहासिक सम्बन्ध र समझदारी कायम रहेकाले वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

भारत र नेपालबीचको सीमा विवादलगायतमा समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र स्थापनाका बाबजुद अहिलेको अवस्था आउनु दु:खद भएको नेता शर्माले बताएका छन् । दुई देशबीचको ऐतिहासिक र मित्रतापूर्ण सम्बन्धमा दरार आएकाले तत्कालै सम्बोधन हुनुपर्ने पनि शर्माले बताएका छन् ।

भारतले सधैँ नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको र दुई देशले करिब ९८ प्रतिशत सीमा विवाद समाधान भइसकेको पनि उनले बताएका छन् ।

बाँकी रहेका सीमा विवाद पनि आपसी समक्षदारी र मित्रताकै आधारमा समाधान गर्न दुवै देश तयार रहेको उल्लेख गर्दै नेता शर्माले अहिले उत्पन्न समस्या कूटनीतिक वार्ता र सम्झौतामार्फत नै समाधान हुनुपर्नेमा भारतीय कांग्रेस अडिग रहेको बताएका छन् ।

नेपाल–भारत सम्बन्धको महत्व र संवेदनशीलतालाई ख्याल राख्दै तत्काल वार्तामार्फत् समस्या समाधान गर्न पनि भारतीय कांग्रेसले सरकारसँग माग गरेको  छ ।

गत वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेसँगै दुई देशबीचको सम्बन्धमा तिक्तता देखिएको छ । नेपाली पक्षसँग सल्लाह नगरी एकतर्फी रुपमा भारतले सडक बनाएपछि नेपाल सरकारले कूटनीतिक नोटमार्फत् त्यसको विरोध गरेको थियो ।

नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिएको छ ।

भारतले भने नेपालले जारी गरेको नयाँ नक्सा आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयकाले उक्त सडक भारतीय भूमिमै बनाइएको दाबी गर्दै सीमा विवाद वार्ताका माध्यमबाटै हल हुनुपर्ने बताएको छ । उसले सकारात्मक र रचनात्मक पहलबाट मात्रै नेपाल–भारतबीच सीमा विवाद समाधानका लागि वार्ता हुने बताएको छ। त्यस्तै भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका छन् । 

कान्तिपुर

Link copied successfully