२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सीमा मिचेको विरोधमा मोदीलाई ज्ञापनपत्र

लन्डन — नेपाली भूमि अतिक्रमण गर्ने भारतीय हस्तक्षेपको विरोध गर्दै गैरआवासीय नेपाली संघ बेलायतले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएको छ । लकडाउनका कारण हुलाकमार्फत ज्ञापनपत्र पठाइएको हो ।

सीमा मिचेको विरोधमा मोदीलाई ज्ञापनपत्र

नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्रीको कार्यालय र लन्डनस्थित भारतीय हाई कमिसनको ठेगानामा विरोधस्वरूप ज्ञापनपत्र र अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा पठाइएको संघका महासचिव फडीन्द्र भट्टराईले जनाए ।

बेलायतको अल्डरसट, मिडल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डबाट छुट्टाछुट्टै पठाइएको ज्ञापनपत्रमा लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग नेपालको भन्ने ऐतिहासिक प्रमाण हुँदाहुँदै भारतले अतिक्रमण गरेकामा निन्दा गरिएको छ ।

ज्ञापनपत्रमा दुई देशबीच सीमा विवाद कूटनीतिक माध्यमले समाधान गर्नुपर्नेमा भारतले एकपक्षीय रूपमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको आरोप लगाइएको छ । नेपालको सबैभन्दा निकट छिमेकी मित्रराष्ट्र भारतको हस्तक्षेपकारी व्यवहारले सम्पूर्ण गैरआवासीय नेपालीको समेत मन दुखाएको भन्दै अतिक्रमित भूमि फिर्ता लिने नेपाल सरकारको कदममा आफ्नो साथ रहेको संघको ज्ञापनपत्रमा उल्लेख छ ।

गत नोभेम्बरमा लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्र आफ्नो सीमाभित्र देखाउने नक्सा प्रकाशित गरेको भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने सडकसमेत उद्घाटन गरिसकेको छ ।

भारतीय कदमको विरोध गर्दै नेपालले पनि हालै लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्र समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरेपछि अहिले दुई देशबीच तिक्तता बढेको छ ।

प्रकाशित : जेष्ठ २८, २०७७ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?