नक्सासम्बन्धी संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

संशोधन पेश गर्न सांसदहरूलाई ७२ घण्टाको समय

जेष्ठ २७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — निशान छापमा रहेको नक्सालाई अद्यावधिक गर्न ल्याइएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव संघीय संसद प्रतिनिधिसभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकले सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले राखेको प्रस्ताव सैद्धान्तिक छलफलपछि सर्बसम्मतिले स्वीकृत भएको हो । 

सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुस्त गरेपछि सत्तारुढ नेकपाका साथै प्रमुख प्रतिपक्ष कांग्रेससहित राजपा र समाजवादीलगायत सबै दलका सांसदले समर्थन जनाएका थिए ।

सैद्धान्तिक छलफलका क्रममा संविधान संशोधन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुसी व्यक्त गरेकी थिइन् । उनले संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । 

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिँदा सकारात्मक सन्देश गएको उनको भनाइ थियो । उनले भनिन्, 'हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ ।'

विधेयक स्वीकृत भएसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरूलाई ७२ घण्टाको समय उपलब्ध भएको छ । यसअघि संशोधनको समय घटाएर विधेयक अगाडि बढाउने भन्ने छलफल भएपनि सांसदहरूलाई संशोधन दर्ता गराउनका लागि पूरै समय उपलब्ध गराइएको छ । 

संशोधन दर्ता गर्ने अवधि सकिएपछि उक्त विधेयक पारित हुने पक्रियामा अगाडि बढ्नेछ । 

सम्बन्धित समाचारः

कान्तिपुर

Link copied successfully