कोहलपुरमा संक्रमित गर्भवति महिलाको ठूलो आन्द्राको शल्यक्रिया सफल

जेष्ठ २७, २०७७

मधु शाही

बाँके — कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मंगलबार दिउँसो कोरोना संक्रमित एक गर्भवति महिलाको ठूलो आन्द्राको शल्यक्रिया सफल भएको छ । अछामको चौरपाटी गाउँपालिका कि २५ वर्षिया महिला १८ हप्ताकी गर्भवति हुन् । 

भारतको मुम्बईबाट १० दिनअघि आएकी उनी अछामकै क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । विरामी भएपछि अछामको बयलपाटा अस्पतालमा उपचार गराएकी उनलाई सोमबार हेलिकप्टरमार्फत् कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज अस्पताल ल्याइएको थियो । अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा संक्रमण फेला परेको थियो । 

भर्ना गरिएकी बिरामीमा संक्रमणदेखिएको पछि मंगलबार अस्पतालको ओपिडी र इमरजेन्सीलगायत सबै सेवा बन्द गरी उनको शल्यक्रिया गरिएको थियो । दिउसो ३ बजेर १५ मिनेटमा उनको शल्यक्रिया सफल भएको अस्पतालले विज्ञप्ति जारी गरि जानकारी दिएको छ । 

नेपालगन्ज मेडिकल कलेजका प्राचार्य डा. मोदनाथ मरहट्ठा, उपप्राचार्य डा. अनुप शर्मा लगायत डा. प्रदिप थापा, डा. अनिष भट्ट, डा. शिरीष आचार्य, स्टाफ नर्स सुनिता योगी, सुष्मिता गुरु, निर्मला बैगारलगायतको टिमले शल्यक्रिया गरेको थियो । उनको शल्यक्रिया सफल भएपछि अस्पतालले बुधबारदेखि सबै सेवा सुचारु हुने जनाएको छ । 

मधु

Link copied successfully