काठमाडौँ — मन्त्रालयगत बजेट विनियोजनमाथि आफूहरूमाथि सांसदले लगाएका भ्रष्टाचारका आरोप पुष्टि गर्न दुई मन्त्रीले सांसदहरूलाई चुनौती दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले आफूहरूमाथि भ्रष्टाचारको आरोप लगाउने सांसदहरूलाई पुष्टि गरेर देखाउन चुनौति दिएका हुन् ।
श्रममन्त्रालयका लागि आगामी आर्थिक वर्षका कार्यक्रम र बजेटमाथि संसदमा छलफल गर्ने क्रममा कांग्रेस सांसद अमरेशकुमार सिंहले मन्त्री यादवमाथि वैदेशिक रोजगार व्यवसायीलाई ठूलो रकम लिएर जोगाउन खोजेको आरोप लगाएका थिए । त्यस्तै, खेलकुदमन्त्री विश्वकर्माले एन्फाबाट १७ करोड रुपैयाँ लिएको आरोप समाजवादी पार्टीका सांसद प्रदीप यादवले लगाएका थिए ।
सांसद सिंहले २४ गतेको प्रतिनिधिसभा बैठकमा १०० जनाभन्दा कम मानिसलाई वैदेशिक रोजगारमा पठाउने म्यानपावरलाई खारेज गर्ने निर्देशिका मन्त्रीले संशोधन गर्न लागेको र त्यसवापत त्यसबाट प्रभावित हुन लागेका प्रत्येक म्यानपावरबाट एक- एक लाख रुपैयाँ लिन लागेको भन्दै मन्त्रीमाथि भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका थिए । उनले त्यस्ता म्यानपावर ५१२ रहेको र उनीहरूले पैसा उठाएर मन्त्रीलाई दिने र लाइसेन्स राख्ने बताइरहेको भन्ने अभिव्यक्ति दिएका थिए । मन्त्रीले त्यसो गर्न लागेको होइन भने कारबाही गरेर देखाउन पनि सिंहले चुनौती दिएका थिए ।
त्यसको जवाफ दिँदै सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्री यादवले सांसद सिंहलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । सांसद सिंहको अभिव्यक्ति व्यक्तिगत कुण्ठा भएको मन्त्रीको भनाइ थियो । ‘एकजना माननीय सदस्यले व्यक्तिगत कुण्ठाले ग्रसित भई विभागीय मन्त्रीले व्यवसायीसँग पैसा लिएर ऐन संशोधन गर्न खोजेको कुरा उठाउनु भएको थियो । ऐन संशोधन गर्ने कार्य मन्त्रीले नभई संसदले गर्ने विषयसमेत बिर्सेर लगाइएको तथ्यहीन आरोपले सम्मानित संसद र स्वयं माननीयज्यूको गरिमामा आँच पुग्ने कुरामा ध्यानकर्षण गराउन चाहन्छु,' मन्त्री यादवले भने, 'उक्त आरोप सरकारलाई असफल देखाउने दुराशयको रूपमा लिएको छु । साथै सो आरोप प्रमाणित गरेर देखाउन आरोप लगाउने माननीयलाई चुनौती पनि दिन चाहन्छु ।’
तीन पटक मन्त्री भएको उल्लेख गर्दै मन्त्री यादवले राजनीतिक जीवनमा कुनैपनि बेला भष्ट्राचारमा संलग्न भएको प्रमाणित गर्न सके आफ्नो जीवन दाउमा राख्ने र राजनीतिक सन्यास लिने घोषणा गरे । उनले भने, ‘विगतका दिनदेखि अहिलेसम्म उहाँले कहिले पनि भ्रष्टाचारका कुराहरू प्रमाणित गरिदिनुभयो भने म उहाँलाई आफ्नो जीवनको सम्पूर्ण दाउमा दिन चाहन्छु । म चुनौती दिन्छु माननीयलाई मलाई साविक गरेर देखाइदिनुस, म राजनीतिक सन्यास लिन तयार छु ।’
मन्त्री विश्वकर्माले एन्फाबाट १७ करोड रकम लिएको सुन्नमा आएको सांसद प्रदीप यादवले आरोप लगाएका थिए । शुक्रबार २३ गतेको प्रतिनिधिसभाको बैठकमा यादवले भनेका थिए, 'मैले के सुनिरहेको छु भने माननीय खेलकुदमन्त्रीले एन्फासँग १७ करोड रुपैयाँ लिनुभएको छ ।’
मन्त्री विश्वकर्माले भने उक्त आरोप आधारहीन भएको र राजनीतिकर्मीको व्यक्तिगत जीवन हुने र त्यस्ता आरोपले व्यक्तिगत र राजनीतिक जीवनमा नकरात्मक असर गर्ने धारणा राखेका थिए ।
सांसद यादवको भनाइ गम्भीर भएको भन्दै संसदको रेकर्डबाट हटाउनुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो । उनले भने, 'एन्फाले १७ करोड रुपैयाँ दिएको छ भनेर भन्नुभयो । सम्बन्धित माननीयजूले भन्न खोज्नुभएको के हो ? भन्न खोजेको आशय के थियो ? सम्बन्धित माननीयजूले स्पष्ट गर्नुपर्यो ।'
सांसद यादवलाई मन्त्रीले चुनौती दिए, 'जुन शब्दमा भन्नुभएको छ त्यै हो भने पुष्टि गर्न माग गर्दछु । मैले एन्फाबाट वा कोही कसैबाट एक रुपैयाँ लिएको छैन।'
मन्त्री विश्वकर्माले एन्फाले पोखरामा एकेडेमी स्थापना गर्न लागेको भने जानकारी दिएका छन् । १७ करोडमा निर्माण हुने एकेडेमी निर्माणका लागि परियोजना छुट्याउनमा आफ्नो कुनै भूमिका नभएको उनले संसदमा बताएका छन् । पोखरा मन्त्री विश्वकर्माको निर्वाचन क्षेत्र हो ।
