काठमाडौँ — कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका क्रममा घरेलु हिंसा, महिला हिंसा बढेको भन्ने जानकारी पत्रपत्रिकाबाट पाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताएका छन् । प्रतिनिधिसभामा मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले महिला हिंसाका घटना लकडाउनका क्रममा मात्रै नभएका बताए ।
मन्त्री गुरुङले भने, 'विगतदेखि (महिला/घरेलु) हिंसा हुँदै आएको र यो बीचमा त्यस्ता हिंसा बढेको हो कि भन्ने केही पत्रपत्रिकाबाट समाचारहरू सुनिएकोप्रति मन्त्रालय अत्यन्तै सचेत छ ।'
त्यस्ता घटनामा न्यूनिकरण ल्याउनका लागि मन्त्रालयले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएको उनले जानकारी दिए ।
कांग्रेस सांसद उमा रेग्मीले निर्मला पन्तको बलात्कार र हत्याबारे मन्त्रालयले के गरेको छ भन्ने प्रश्नको जवाफ दिन भने मन्त्री गुरुङले अस्विकार गरे । उनले उक्त प्रश्न संसदमा जहिले पनि उठिरहने र त्यसको जवाफ दिन आफू रोष्ट्रममा नउभिएको बताए । उनले भने, 'निर्मला पन्तको विषयमा मैले उत्तर दिनुपर्नेजस्तो नहुन सक्छ । यो आजको विषय नहुन सक्छ । यो सदनभित्र निरन्तर चलिहरेको र चलिरहने प्रश्न हो । यसको उत्तर माननीयहरूलाई प्रदान गर्न म उभिएको छैन ।'
निर्मला पन्तमाथि भएको घटना अरुमाथि नहोस् भन्नका लागि मन्त्रालय र सरकारले कानुन बनाइरहेको मन्त्री गुरुङको भनाइ थियो ।
महिला हिंसा र घरेलु हिंसाका घटनाबारे मन्त्रालय र सरकारी नियकालाई सूचना प्राप्त नभएको हुनसक्ने र त्यस्ता घटनाबारे सूचना दिन पनि मन्त्री गुरुङले आग्रह गरेका थिए ।
