काठमाडौँ — भारतले अतिक्रमण गरेको दार्चुलाको कालापानी नजिकैको क्षेत्र तिंकर पुग्ने सडक निर्माणका लागि सरकारले अलग्गै कार्यालय स्थापना गर्ने भएको छ । महाकाली करिडोरअन्तर्गत निर्माण भइरहेको उक्त सडकको खलंगा-तिंकर सडकको निर्माणलाई तीव्रता दिनका लागि अलग्गै कार्यालय स्थापना गरिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बताए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री नेम्वाङले कञ्चनपुरको गड्डाचौकीदेखि दार्चुलाको तिंकरसम्मको महाकाली करिडोर निर्माणलाई सरकारले महत्त्वका साथ अगाडि बढाएको बताए ।
महाकाली करिडोरको खलंगा- तिंकर सडकखण्ड निर्माण निर्माणलाई थप महत्त्व दिएर मन्त्रिपरिषद् बैठकले नै नेपाली सेनालाई जिम्मा दिएको स्मरण गराउँदै मन्त्री नेम्वाङले त्यसका लागि छुट्टै कार्यालय स्थापना गरिने पनि जानकारी गराए । महाकाली करिडोरको कार्यालयबाट उक्त खण्डको निर्माण कार्य अगाडि नबढाएर अलग्गै कार्यालय स्थापना गरेर व्यवस्थापन कार्यालय अगाडि बढाउन लागिएको उनले बताएका हुन् ।
लिपुलेक भएर भारतले सडक निर्माण गरेपछि सरकारले तिंकरमा सशस्त्र प्रहरीको सीमा स्थापना गरेको थियो । तिंकर जानका लागि नेपालीलाई भारतीय सडक प्रयोग गर्ने अवस्थाको अन्त्य गर्नक लागि सरकारले उक्त सडक निर्माणको जिम्मा सेनालाई दिएको थियो । उक्त सडक निर्माणको काम सेनाले थालिसकेको छ ।
