१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सत्तारुढ नेकपा सांसद पौडेल भन्छन्, ' बजेटमा निरन्तरतामा कामचलाउको अंक प्रस्तुत भयो'

काठमाडौँ — सत्तारुढ नेकपाका सांसद देवेन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट र अन्य मन्त्रालयगत विनियोजन विगतका झैं 'निरन्तरतामा कामचलाउ अंक' भएको भन्दै यसले संविधानले लिएको समाजवादको लक्ष्यसम्म पुग्न नसकिने टिप्पणी गरेका छन् । 

सत्तारुढ नेकपा सांसद पौडेल भन्छन्, ' बजेटमा निरन्तरतामा कामचलाउको अंक प्रस्तुत भयो'

प्रतिनिधिसभाको शनिबारको बैठकमा विभिन्न मन्त्रालयका लागि विनियोजित बजेट र योजनामाथिको छलफलमा भाग लिँदै नेकपा स्थायी कमिटी सदस्य रहेका पौडेलले भने, 'बजेटले निरन्तरतामा कामचलाउको अंक प्रस्तुत गरेको छ । यसले आधार प्रकट गरेको छैन ।'

संविधानमा भनिएको समाजवादमा पुग्ने आधार बजेटमा नभेटिएको सांसद पौडेलको भनाइ थियो । 'समाजवादमा पुग्नको निम्ती हामीले भन्दै गरेका, गर्दै गरेका र भोग्दै गरेका कुराको निरन्तरताले हामीले संविधानको प्रस्तावनाको समाजवादमा पुग्न सक्दैनौं,' उनले भने । संविधानमा भनिएको समाजवादमा पुग्ने आधार निर्माण गर्न राष्ट्रिय औद्योगिक पुँजीको विकास, उत्पादन र वितरणलाई नाफामुखी होइन सेवामुखी बनाउने, सामाजिक न्याय एवं न्यायको न्यायोचित कार्यान्वयन गर्ने, सहकारीलाई उत्पादन अर्थतन्त्रको आधार बनाउने, व्यापार घाटालाई न्यूनीकरण गर्ने, कृषिको ठोस र मूर्त आधुनिकीकरण गर्ने, व्यवस्थित र योजनाबद्ध बसोबासको सुरुवात, स्वदेशमा आधारित उद्योगलाई प्रोत्साहनका योजना ल्याउनुपर्ने उनको सुझाव थियो ।

नेकपाको सांसद भएका आधारमा परम्परागत रूपमा आफूले समर्थन गर्नुपरे पनि बजेटमा आधारभूत कुरा छुटेको उनको भनाइ थियो । 'लगातार तीन पटकको बजेट हेर्दा एउटै चित्र आउँछ । मन्त्रालयका विनियोजन पनि परम्परागत छन् । जबसम्म यस्ता परम्परागत अभ्यासलाई अन्त्य गर्न सक्दैनौं, देशको अर्थप्रणाली अगाडि बढ्न सक्दैन,' उनले भने ।

अर्थमन्त्री युवराज खतिवडालाई तीन वर्ष बजेट प्रस्तुत गर्ने भाग्यमानीको संज्ञा दिएका पौडेलले बजेटमा पटक-पटक ८ लाख रोजगारी सिर्जना गर्ने भनिए पनि एउटा सांसदले विदेशबाट फर्किने आफ्नो निर्वाचन क्षेत्रका नागरिकले कसरी रोजगारी पाउलान् भनेर खोज्दा त्यसमा मूर्त रूप नभेटिएको बताए ।

बजेटमा अर्थतन्त्रको पुनरउत्थान तीव्रतर गर्ने, आर्थिक स्थायित्त्व स्थापित गर्ने, वित्तीय संघीयता कार्यान्वयन, नागरिकको जीवन रक्षा, झन्डै ८ लाख रोजगारी, ठूला भौतिक पूर्वाधार, भूमिहिनलाई भूमि दिने र समाजवादी अर्थतन्त्र निर्माण गर्ने भनिए पनि ती काम कसरी गर्ने भन्ने आधार नभेटेको उनको भनाइ थियो ।

'हाम्रोजस्तो देशमा समाजवादको स्थापनाको लागि नवउदारवाद र भूमण्डलीकृत खुला अर्थतन्त्रबाट देशको अर्थप्रणालीलाई जोगाउँदै सीमित स्रोत र साधनको मूर्त र प्रभावकारी प्रयोग र परिचालन गर्नु, भौतिक विकासलाई मानवीय मूल्य मान्यतासँग जोड्नु हाम्रो समाजको आधार हो । बजेटले त्यतातिर दिशानिर्देश गर्न सक्नुपर्दछ,' उनले भने, 'हेर्दै जाँदा, खोज्दै जाँदा कताकता छुटेजस्तो, नपुगेजस्तो महसुस भएको छ ।'

संविधानमा समाजवाद ल्याउने कुरा अर्थमन्त्री र मन्त्रीहरूलाई स्मरण गराउँदै सांसद पौडेलले गरिबीको उन्मुलन गर्ने र वर्गीय असमानता अन्त्य गर्नका लागि राज्यले नाना, खाना र छानाको प्रत्याभूति जनतालाई दिलाउनुपर्ने बेला भएको बताए । शिक्षा, स्वास्थ्य र रोजगारीलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ २४, २०७७ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?