अलपत्र परेका नेपालीलाई शुक्रबार यूएईले आफ्‍नै खर्चमा पठाइदिँदै

होम कार्की

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले अलपत्र परेको नेपालीलाई आफ्नै खर्चमा एयर अरेबियाको चार्टर विमानबाट शुक्रबार नेपालीलाई ल्याउने टुंगो लागेको छ । शुक्रबार नेपाल अवतरण हुने समयको भने अझै टुंगो लागेको छैन । बर्माबाट पनि शुक्रबारै २६ जना आउने भएका छन् ।

यूएईले दुई वटा उडान मार्फत् अलपत्र परेकालाई नेपाल पठाइदिने प्रस्ताव राखेको थियो । जसमध्ये पहिलो उडान शुक्रबार तय भएके हो । यूएईले एकसय ६८ सिट क्षमता भएको विमानमा उनीहरुलाई नेपाल पठाउन लागेको हो ।

‘भिजिट भिसामा गई अलपत्र परेका र गर्भवती महिलालाई प्राथमिकतामा राखिएको छ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले कान्तिपुरलाई भने,‘दूतावासले जहाजको क्षमता अनुसार नै नेपालीलाई पठाउनको लागि आन्तरिक तयारी गरिरहेको छ ।’

दूतावासको सर्म्पकमा ५० जना गर्भवती महिला छन् । पहिलो उडानमा सहभागी गराउन नसकिएमा दोस्रो उडानमा सहभागी गराउने दूतावासको भनाई छ ।

विमानमा आउने सबै यात्रुको कोभिड परीक्षण गराएर मात्रै ल्याउने परराष्ट्रको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरीक उड्डायन मन्त्रालयले बिहीबार अबेर मात्रै एयर अरेबियालाई अनुमति दिए लगत्तै परराष्ट्र मन्त्रालयले यूएईस्थित नेपाली दूतावासलाई उडानको अनुमति पठाएको हो । तर, वायुसेवा निगमले राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाइन्सबाट मात्रै कामदार ल्याउनुपर्ने अडानमा थियो ।

‘हामीले शुक्रबार ६ बजे अगाडि नै अवतरण गर्ने प्रबन्ध मिलाउन दूतावासलाई अनुरोध गरेका छौं,’ ती अधिकारीले भने । यूएईमा रहेका झन्डै १८ हजार जना नेपाली कामदार फर्कनको लागि दूतावासमा आवेदन दिएका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्

घर फिर्ने भारतीयको ताँती

शब्द/तस्बिर : पर्वत पोर्तेल

काँकडभिट्टा — भारतको पश्चिम बंगाल सरकारले बुधबार अपरान्हबाट प्रवेश दिएपछि नेपालबाट घर फर्किने भारतीय श्रमिकको लर्को लागेको छ ।केही दिनदेखि पूर्वी नाकामा अलपत्रमध्ये बुधबार ५ सय भारतीयलाई प्रवेश दिइएको थियो । बिहीबार नेपाल–भारत सीमा जोड्ने मेची पुल क्षेत्रमा करिब दुई हजार भारतीय घर फर्किने आशामा बसेका छन् ।

भारत पश्चिम बंगालको अध्यागमन विभागमा कार्यरत आईसीपी सुनिल प्रधानले बुधबार पश्चिम बंगाल सरकारको आधिकारिक पत्र पठाएपछि प्रवेश दिइएको जनाए । उनका अनुसार यसअघि पश्चिम बंगाल सरकारले तत्काल प्रवेश नगर्न खोरीबारी पुलिस स्टेसन र सीमा सुरक्षा बललाई पत्राचार गरेको थियो ।

‘दैनिक ३, ४ सयलाई मात्रै प्रवेश गराउने आदेश थियो,’ प्रधानले भने,‘तर, यो भीडले गाह्रो भइरहेको छ ।’ उनका अनुसार घर फर्किने अधिकांश नेपालका इँटा कारखानामा कार्यरत श्रमिक हुन् । अधिकांश बंगालको कुचबिहार जिल्लाका बासिन्दा छन् ।

नेपालमा कार्यरत भारतीयहरु पूर्वी नाकामा थुप्रिन थालेपछि केही दिनयता उनीहरुको व्यवस्थापनमा समस्या भएको थियो । यद्यपि काँकडभिट्टा सोसाइटी, रोटरी क्लब आदि संस्थाले उनीहरुलाई निःशुल्क खानाको प्रबन्ध मिलाएका थिए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले भारतीय नागरिकका कारण नाकामा समस्या हुन थालेको र आफ्नो देशका नागरिकको उद्धार गर्न भारतीय सुरक्षा निकायलाई अनुरोध गरिएको जनाए ।

हाल दैनिक दुई हजार हाराहारीमा भारतीय आइरहेका छन् । करिब २० हजार भारतीयले पूर्वी नाका प्रयोग गरेर भारत छिर्ने जनाइएको छ । भारतीयहरुलाई पुलबाटै प्रवेश गराइएको छ । भारतबाट आउने नेपालीलाई भने पुल प्रयोग गर्न दिइएको छैन ।


प्रकाशित : जेष्ठ २२, २०७७ २१:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×