कपिलवस्तुमा संक्रमितको संख्या ३ सय ६५ पुग्यो

जेष्ठ २०, २०७७

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुमा मंगलबार थप ४९ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँसँगै कपिलवस्तुमा संक्रिमतको संख्या ३ सय ६५ पुगेको छ । थपिएका संक्रमितको उमेर १० महिने शिशुदेखि ८० वर्षे वृद्धसम्म छन् । 

नयाँ संक्रमितमध्ये मायादेवी गाउँपालिकाका ३२,शिवराज नगरपालिकामा १५,वाणगंगा नगरपालिका र महाराजगंज नगरपालिकामा १/१ जना थपिएका छन् । 

हालसम्म मायादेवीमा गाउँपालिकामा संक्रमितको संख्या ५३,शिवराज नगरपालिकामा ४८,वाणगंगा नगरपालिकामा १५,महाराजगंज नगरपालिकामा ५०,बुद्धभूमि नगरपालिकामा १८,कपिलवस्तु नगरपालिकामा २९,यशोधरा गाँउपालिकामा सय,कृष्णनगर नगरपालिकामा ३५,विजयनगर गाउँपालिकामा १६ र शुद्धोदन गाउँपालिकामा २ जना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए । जिल्लामा २३ जना निको भएर घर फर्केका छन् । 

संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला मुलुककै कोरोना हटस्पट बनेको छ । 

जिल्लामा ५ हजार १ सय ३३ जनाको स्वाब संकलन गरिएको छ । त्यसमध्ये ९ सयको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  । 

कोरोना भाइरस

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully