कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

राजेन्द्र महतोको प्रश्न, 'सारा बजेट केन्द्रमा राखेर संघीयता बलियो हुन्छ ?'

काठमाडौँ — बजेटले जनतामा उत्साह पैदा नगरेको तथा सरकारले बजेटमार्फत् संघीयतालाई कमजोर पार्न खोजेको राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले बताएका छन् । आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमाथि संसदमा चलिरहेको छलफमा सहभागी हुँदै महतोले परम्परागत बजेट भएको र राज्यको चरित्रअनुसारको बजेट भएको उनको टिप्पणी थियो । 

राजेन्द्र महतोको प्रश्न, 'सारा बजेट केन्द्रमा राखेर संघीयता बलियो हुन्छ ?'

प्रतिनिधिसभाको आइतबारको बैठकमा महतोले भने, 'यो बजेट त राज्यधारी जो छन् उनीहरूको पक्षपोषण गर्न ल्याइएको बजेट हो । राज्यविहीन राष्ट्रियताहरूलाई सिमान्तिकृत गर्ने कमजोर गर्ने प्रकारको बजेट आएको छ ।'

राज्यको चरित्र धनीलाई धनी बनाउने, शक्तिमा रहेकाको महिमागान गर्ने र कमजोर वर्ग तथा समूदायलाई झन कमजोर र कुनामा पार्ने रहेको भन्दै बजेट पनि सोहीअनुसारको आएको महतोको प्रतिक्रिया थियो ।

'मलाई लाग्दैन आम नेपाली जनता यो बजेट आउँदा उत्साहित हुने अवस्था छ,' महतोले भने, 'आगामी आर्थिक वर्षको बजेट गणतान्त्रिक संविधान जारी भएपछिको तेस्रो बजेट हो । जस्तो पहिले आएको थियो, अहिले पनि त्यस्तै हो । थप निराशातर्फ उन्मुख भएको बजेटमा के टिप्पणी गर्ने !'

बजेटले सरकार र सत्ताधारीहरू जनताप्रति वफादार छैनन् भन्ने देखाएको महतोको टिप्पणी थियो । नागरिक भोकले मरिरहेको अवस्थामा सरकार भने कसैलाई भोकले मर्न दिँदैन भन्ने भाषणमा रमाएको उनको भनाइ थियो । 'जनता त दिनदहाडै मरिरहेको छ । यहाँ भाषण गरिरहेको छ- मर्न दिँदैन, भनेर ।'

सरकारले बजेटमार्फत पनि संघीयतालाई कमजोर पार्ने काम गरेको महतोको भनाइ थियो । उनले भने, 'संघीयतालाई सखाप पार्ने काम गरिरहेको छ सरकारले । सारा बजेट केन्द्रमा राखेर संघीयता बलियो हुन्छ ? ८९ प्रतिशत केन्द्रमा, ४ प्रतिशत प्रदेश र ७ प्रतिशत स्थानीय तहमा राखेर संघीयता बलियो हुन्छ ?'

महतोले बजेटको स्रोत पनि स्पष्ट नभएको बताए । उनले त्यसआधारमा बजेट कार्यान्वयनमा समस्या उत्पन्न हुने बताएका थिए ।

वैदेशिक रोजगारीमा गएका नागरिक कोरोनाले रोजगारीले गुमाएर स्वदेश फर्किन लागेको भन्दै महतोले त्यसबाट उत्पन्न हुने परिस्थिति बजेटले आँकलन गर्न नसकेको बताए ।

प्रकाशित : जेष्ठ १८, २०७७ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?