स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि, के-के परे प्राथमिकतामा?

विदेशबाट आउने व्यक्तिको अनिवार्य स्वास्थ्य परीक्षण गरिने
बुनु थारु

काठमाडौँ — बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुतिकरणमा अर्थमन्त्री युवराज खतिवडाले कोरोना महामारी तथा संक्रामक रोगको लागि रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राख्ने बताएका छन् ।

स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि, के-के परे प्राथमिकतामा?

यो वर्षको बजेट प्रस्तुत गर्दे विदेशबाट आउने व्यक्तिको अनिवार्य स्वास्थ्य परीक्षण गर्न तथा प्रमुख प्रवेश नाकामा आवश्यक उपकरणसहित हेल्थ डेस्क स्थापना गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्रीले बताएका छन् । सरकारले यसका लागि कोरोना संक्रमण नियन्त्रण तथा नियन्त्रणको लागि तत्काल आवश्यक औषधि, उपकरण तथा उपचारको लागि ६ अर्ब बजेट छुट्याएको समेत बताएकाे छ ।

त्यसैगरी पोखरा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी, भेरी, भरतपूर र डडेलधुरा अस्पताललाई स्तोरन्नती गरी विशेषज्ञ अस्पतालको रुपमा विकास गर्दै लगिने पनि अर्थमन्त्रीले जानकारी दिएका छन् । यस्तै स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको उनले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुुरुप बनाइने तथा सबै प्रदेशमा अत्याधुुनिक स्वास्थ्य प्रयोगशाला स्थापना तथा गर्न जोड दिने योजना पनि बजेटमा परेको छ । सबै स्थानीय तहमा अस्पतालमा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल बनाइने र आगामी वर्षमा थप २७२ अस्पतालका लागि १४ अर्ब २७ करोड बजेट छुट्याइएको छ ।

त्यसका साथै साबिकको जिल्ला तथा अञ्चल अस्पतालको स्तरोन्नती गरिने गरी बजेट बिनियोजन गरिएको छ । १ चिकित्सक एक स्वास्थ्य संस्थाको सुरुवात गर्दै स्थानीय तहका स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था गरि नसर्ने रोगको स्वास्थ्यजाँचका लागि ५ अर्ब १० करोड छट्याइएको पनि अर्थमन्त्रीले बताए ।

यस्तै ३ वर्ष भित्र सबै नागरिकमा स्वास्थ्य बिमा पुग्ने तथा स्थानीय तहको ४० प्रतिशतलाई स्वास्थ्य बिमाको दायरामा ल्याउनका लागि सरकारले ७ अर्ब ५० करोड बजेट छुट्याएको छ । सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट मातृत्व तथा प्रजजन स्वास्थ्यका साथै सर्भाइकल तथा स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने भएको छ ।

सरकारले आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त देश बनाइने घोषणा गरेको छ । कुष्ठ रोेग, क्षय रोग, एड्स रोग नियन्त्रण गर्नका लागि ४ अर्ब २२ करोड बजेट बिनियोजन गरिएको छ ।

राजमार्गको बढी दुर्घटना हुने ठाउँमा ट्रमा सेन्टर स्थापना गर्नका लागि बजेट विनियोजनका साथै सन्टेर फोर डिजिज कन्ट्रोल, फुड एन्ड डग एडमिनिस्ट्रेसन, राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण निर्माणका लागि पिन बजेट विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात खर्च दोब्बर दिइने भएको छ ।

स्वास्थ्य क्षेत्रमा यो वर्ष बजेट वृद्धि गर्दै ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको छ । पछिल्लो आर्थिक वर्ष २०७६/२०७७ को स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?