कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्वारेन्टाइन बनाउने बिषयमा झडप, १२ राउण्ड हवाई फायर

शिव पुरी

रौतहट — भारतबाट नेपाल फर्केकाहरुलाई राख्न समस्या भएपछि रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टाइन स्थापना गर्ने विषयमा बिहीबार झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ । अहिले त्यस क्षेत्रको अवस्था सामान्य भएको छ । झडपको क्रममा प्रहरीका असई घाईते भएका छन् । 

कटहरिया नगरपालिकाले १ नम्बर वडास्थित भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टाइन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएको थियो । बाक्लो बस्ती भएको ठाउँमा क्वारेन्टाईनमा राख्न नहुने भन्दै स्थानीयले अवरोध गरेपछि झडप भएको हो । क्वारेन्टाइनका लागि ठाउँ हेर्न गएका जनप्रतिनिधि र सुरक्षाकर्मीमाथि स्थानीयले केहीबेर ढुंगामुढासमेत गरेको प्रहरीले बताएको छ । झडपमा परी प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउकोमा चोट लागेको छ । ढुंगा लागेर घाइते भएका असई साहलाई उपचारका लागि गरुडा ल्याइएको छ ।

स्थानीयसँगको विवादले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरीका डिएसपि भरत श्रेष्ठले बताए । ‘क्वारेन्टाइन बनाउने बिषयमा विवाद भएको हो,’ उनले भने, ‘अहिले स्थिति नियन्त्रणमा छ ।’

कटहरिया ५ स्थित जनता माविमा रहेको क्वारेन्टाइनमा २ सय बढी राखिएपछि नगरपालिकाले अर्को स्थानमा क्वारेन्टाइन स्थापना गर्न लागेको हो । कटहरियाका मेयर सियारम कुशवाहाले क्वारेन्टाइन बनाउने बिषयमा विवाद भएको बताए । ‘जनतालाई मार नपर्ने हिसाबले कहाँ राख्दा उपयुक्त हुन्छ भन्ने बिषयमा कुराकानी हुँदैछ,’ उनले भने, ‘भारतबाट आउनेहरुको चाप बढेको छ । उनीहरुलाइ सुरक्षित तरिकाले राख्नु पर्छ ।’

प्रकाशित : जेष्ठ १५, २०७७ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?