२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कोरोनाबाट मृत्यु भएका ललितपुरका मृतकको शव व्यवस्थापन सेनाले गर्ने

मृतकको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ, ट्रयाकिङ र टेस्ट गरिने
प्रशान्त माली

ललितपुर — ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा  बुधबार मुत्यु भएका कोरोना भाइरस(कोभिड–१९) संक्रमितको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको समन्वयमा गर्ने निर्णय भएको छ ।

कोरोनाबाट मृत्यु भएका ललितपुरका मृतकको शव व्यवस्थापन सेनाले गर्ने

ललितपुर महानगरपालिका–२२ बुङमतीका ५६ वर्षीय ती व्यक्तिको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा व्यवस्थापन गर्ने निर्णय भएको छ । साथै मृतकसँग सम्पर्कमा आएका आफन्त, चिकित्सक, परिवार र टोल बस्तीमा कन्ट्याक्ट ट्रेसिङ, ट्रयाकिङ, र टेस्टिङ गर्ने पनि निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

उनका अनुसार यसका लागि स्थानीय तहसँग समन्वय गर्न स्वास्थ्य कार्यालय प्रमुखलाई जिम्मवारी दिएको छ । ‘कुरुवालाई भने अस्पतालमै राखिएको छ,’ उनले भने, ‘तत्कालका लागि मृतकका परिवारलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनेका छौं । स्वास्थ्य कार्यालय ललितपुर प्रमुखले अध्ययन गरी आवश्यक परेमा महानगरको क्वारेन्टाइनमा राख्न सकिन्छ ।’

ललितपुर महानगरपालिका– २२ बुङमतीका ती व्यक्तिको उपचारकै क्रममा मृत्यु भएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई अनिवार्य क्वारेन्टाइनमा पठाइएको छ । अस्पतालमा सुरक्षा व्यवस्था र सावधानी अपनाइएको छ । किस्ट मेडिकल कलेजको नयाँ भवनको पाँचौं तलाको एमआईसीयू कक्ष सिल गर्ने वा नगर्ने भन्ने विषयमा अध्ययन भइरहेको जानकारी स्वास्थ्य कार्यालय ललितपुर प्रमुख डा.खगेश्वर गेलालले दिए ।

उनले मृतक परिवारका सबैको विवरण संकलन भइरहेको बताए । ‘मृतकलाई कहाँबाट कोरोना सऱ्यो ? बिरामी हुनुअघि कहाँ–कहाँ गएका थिए ? सबै विवरण संकलन गर्ने तयारी भइरहेको छ,’ गेलालले भने । मृतकलाई जेठ ११ गते अस्पताल ल्याइएको थियो । त्यसक्रममा कोरोना टेस्ट गर्ने क्रममा पोजिटिभ देखिएको हो । उनी कलेजोसँग सम्बन्धित रोगबाट ग्रसित भएको अस्पतालले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट मृत्यु भएका ललितपुरका ५६ वर्षीय पुरुषको शव व्यवस्थापनको तयारी

प्रकाशित : जेष्ठ १५, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?