एकैदिन बाँकेका २१ जना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ७० पुग्यो

जेष्ठ ९, २०७७

रुपा गहतराज

नेपालगन्ज — कोरोना संक्रमण बढेको बाँकेमा निको हुनेको संख्या पनि बढेको छ । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ ।

दोस्रो पटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरुलाई शुक्रबार घर पठाइएको डाक्टर राजन पाण्डेले बताए ।

डिस्चार्ज हुनेहरुमा ९ जना महिलासहित १२ जना पुरुष रहेका छन् । जसमा तीन जना बालक रहेका छन् ।

डिस्चार्ज हुनेमा पहिलो संक्रमित भनिएका  भएका ६० वर्षीय वृद्ध पनि छन् । उनीहरु सबै नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारी टोलका रहेको डा. पाण्डेले बताए । आइसोलेसनबाट डिस्चार्ज हुँदै गदाए उनीहरु सबैको अनुहारमा खुसी छाएको थियो ।

देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।  योसँगै नेपालभर स‌ंक्रमण पुष्टि भएका ४८७ जनामध्ये निको हुनेको संख्या ७० पुगेको छ । कोरोनालाई जितेर घर फर्किंदा उनीहरुमा मुहार बेग्लै उत्साह  थियो । पालैपालो स्वास्थ्यकर्मीले गम्छा अनि हातमा फूल थमाए ।

स्वास्थ्यकर्मीले उनीहरले घरमा बसेर के गर्ने ? के नगर्ने भन्ने तालिका दिएर पठाएका छन् । कोरोनामुक्त हुनेहरु सबै नेपालगन्जका हुन ।

बाँकेमा गत वैशाख १९ गते पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षीय वृद्धमा कोरोना पोजेटिभ पाइएको थियो । बाँकेमा अहिलेसम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये नरैनापुरका २५ वर्षीय युवकको मृत्यु भएको थियो । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully