बाँकेमा ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

जेष्ठ ५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो ।

सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ पुरुष एक महिलामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

त्यसैगरी विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना, धुलिखेलमा गरिएको परीक्षणमा रौतहट, धनुषा, दाङ र धादिङका एक–एक जना तथा भैरहवामा गरिएको परीक्षणमा गुल्मीका एक जना व्यक्तिमा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । 

यसअघि सोमबार बिहान  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  यो सँगै एकैदिनमा कोरोना संक्रमितको संख्या ६२ रहेको छ । संक्रमित सबैको उमेर १८ वर्षदेखि ४६ उमेर समूह रहेको मन्त्रालयले जानकारी दिएको छ । 

हालसम्म पर्सामा ९१, बाँकेमा ८१,  कपिलवस्तुमा ४२, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौंमा ९, धनुषामा ६, कैलाली, बारा र दाङमा ४/४, चितवन, महोत्तरी, सर्लाही र मोरङमा ३/३ तथा बागलुङ, झापा, भक्तपुर,बर्दिया र धादिङमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर, नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर, सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक,  सिन्धुपाल्चोक, धनकुटा र गुल्मीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट ६९ हजार ५ सय ६० नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३० हजार ७ सय २३ परीक्षण  भएका छन्  ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully