धनुषामा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८१ पुग्यो

जेष्ठ ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ८१ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८१ पुगेको हो । 

थप संक्रमित हुनेहरुमा धनुषाका २० वर्षीय र ६५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।  यसअघि शनिबार नै थप ११ जनामा संक्रमण पुष्टि भएको थियो । 

साथै कोरोना भाइरसबाट पहिलो पटक नेपालमा एक जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरेको छ ।

सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस सम्बन्धमा थप विवरण लिइएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।

कान्तिपुर

Link copied successfully