काठमाडौँ — सरकारले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धारलाई थप सुविधासहित विस्तार गर्ने भएको छ ।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सुविधा थप गरिने बताएकी हुन् । ०७५ साल पुसदेखि लागू भएको आकस्मिक निःशुल्क हवाई उद्धार सेवाबाट हालसम्म १ सय २ जोखिम अवस्थाका गर्भवति तथा सुत्केरीको उद्धार भएको छ ।
यसैगरी राष्ट्रपति भण्डारीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति उत्थान कार्यक्रम मार्फत् उद्यमशिलता, विकास, वित्तिय पहुँच वृद्धि, प्रविधि सहयोग र उत्पादित वस्तुको बजारिकरणमा सहयोग गरी महिला सशक्तिकरणमा सहयोग गरिने बताएकी छन् ।
यस्तै, सबै स्थानीय तहमा महिला उद्यमशिलता सहजीकरण केन्द्र स्थापना गर्ने सरकारको तयारी छ ।
