तर अस्पतालको क्षमता नहुँदा अधिकांश त्यसै फर्कन बाध्य
काठमाडौँ — कोभिड–१९ परीक्षणका लागि टेकु पुगेका अधिकांश व्यक्ति परीक्षणबिनै फर्किने गरेका छन् । ट्राभल हिस्ट्री नभएको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनीहरूलाई फर्काउने गरेको हो । बुधबार अस्पताल पुगेका ५ सय ७८ मध्ये २ सय २८ जना र बिहीबार पुगेका ६ सय १ मध्ये ३ सय ९ जना परीक्षणबिनै फर्किए । बाँकीको पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
४ दिनअघि सिन्धुपाल्चोकबाट आएकी विमला विश्वकर्मा घरका ११ जना सदस्य लिएर बिहीबार परीक्षण गर्न अस्पताल पुगेकी थिइन् । लकडाउन खुलिसक्यो भन्ने हल्ला सुनेर उनी परिवारसहित काठमाडौं आएकी थिइन् । ‘जिल्ला कटेर आएको भनेर वडाले टेस्ट गर्न पठायो,’ उनले भनिन्, ‘१२ बजेको घाममा भोकभोकै लाइन बसें तर टेस्ट भएन ।’ चिकित्सकले उनको ओपीडी कागजमा ‘लक्षण छैन, परीक्षण आवश्यक छैन’ भनेर लेखिदिएका थिए । बीचमा लक्षण देखिए फेरि अस्पताल आउने सर्तमा उनी त्यही कागज लिएर घर फर्किइन् ।
बिहीबारै रामेछापबाट काठमाडौं आएकी मीनाकुमारी तामाङ सिधै टेकु पुगिन् । साथमा श्रीमान् र बच्चा पनि थिए । बिहान १० बजे अस्पताल पुगेकी उनले दिउँसो साढे १२ बजे बल्ल क्लिनिकमा पालो पाइन् । ट्राभल हिस्ट्री र भाइरसको लक्षण सोधेपछि चिकित्सकले उनको पुर्जामा पनि उही कुरा लेखे, शंकास्पद हैन परीक्षण आवश्यक छैन । उनले भनिन्, ‘यति कुराका लागि यत्रो सास्ती भोगियो, भीडमा मिसिनुपर्यो ।’
तीन दिनअघि धादिङबाट काठमाडौं आएकी माया तामाङ पनि अस्पतालमा भेटिइन् । छोराको स्कुलमा अनलाइन कक्षा सुरु भयो भनेर लुकीछिपी काठमाडौं आएको उनले बताइन् । घर छिरेदेखि उनलाई समुदाय र घरबेटीले छड्के आँखाले हेरेको सुनाइन् । ‘एउटा टेस्ट गरिहाल्छु भनेर आएको तर भएन,’ उनले भनिन्, ‘उल्टै अस्पतालको भीड देखेर डर लाग्यो ।’ रोगको लक्षण नभएपछि उनको स्वाब संकलन भएन ।
गुल्मीबाट आएका मदन ज्ञवाली परिवारसहित टेकु पुगे । बुबाको मृत्यु भएपछि गाउँ पुगेर काठमाडौं फर्केका उनले घरबेटीले कोरोना परीक्षणबिना कोठा छिर्न नदिएको बताए । ‘हामी आफ्नै गाडीमा गएका हौं । त्यही गाडीमा फर्केका हौं,’ उनले भने, ‘कतै कोहीसँग हेलमेल गरेको छैन । दु:ख गरेर अस्पताल आयौं, घण्टौं लाइन बस्यौं तर टेस्ट भएन ।’ पहाडी जिल्लामा संक्रमण छैन, परीक्षण आवश्यक छैन भनेर उनलाई फर्काइयो । बाटोमा हिँडडुल गर्दाभन्दा अस्पतालको भीड देखेर मनमा डर पसेको उनले बताए ।
विज्ञहरूले परीक्षणको दायरा बढाउनुपर्ने भनिरहेका बेला अस्पताल पुग्दा पनि सर्वसाधारणको न आरडीटीबाट न त पीसीआर विधिबाट नै परीक्षण हुन्छ । अस्पताल पुगिसकेकालाई परीक्षणबिना फर्काउन नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले बताए । ‘रोग फैलिएको ठाउँबाट आउनेलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘अन्य जिल्लाबाट आउने पनि उत्तिकै शंकास्पद हुन्, कहाँ र कसरी उनीहरू काठमाडौं छिरेका हुन् के थाहा ?’
अस्पतालमा सबैको परीक्षण गर्न नसकिए नाकामै रोकेर यस्ता मानिसको स्वाब संकलन गर्ने सरकारको नीति हुनुपर्ने उनले औंल्याए । संक्रमण फैलिएको अन्य मुलुकमा यस्तै अभ्यास भएको उनले बताए । ‘कि त फार्मेसी या निजी अस्पतालसम्मै परीक्षण सेवा पुर्याउनुपर्छ,’ उनले भने, ‘क्षमता छैन भनेर अस्पताल पुग्नेलाई फर्काउनु त हुँदैन ।’
तर रोगग्रस्त जिल्लाबाट आएका र ज्वरोखोकी जस्तो लक्षणबिना परीक्षण नगर्ने अस्पतालको भनाइ छ । विज्ञले जेसुकै भने पनि यो सीमितताभन्दा पर गएर परीक्षण नगर्ने अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘न ट्राभल हिस्ट्री न लक्षण, टेस्ट गरेर बेकारमा किन स्रोतसाधन खर्च गर्ने,’ उनले भने, ‘अहिलेका लागि तराईका जिल्लाबाट आउनेको मात्रै परीक्षण हुन्छ ।’
बिहीबार सरुवा रोग अस्पताल पुग्दा परीक्षण गराउन आउनेको भीड बाक्लो थियो । अस्पतालको मूल गेटभन्दा परैसम्म सर्वसाधारणको लाइन थियो । सामाजिक दूरी कायम नगरी उनीहरू लाइनमा बसेका थिए । केहीले मास्क लगाएका थिए, कतिले थिएनन् । केही व्यक्ति अस्पताल आएर उल्टै जोखिममा परियो भन्दै गुनासो गरिरहेका थिए । कोही सरकार र अस्पताल प्रशासनलाई गाली गर्दै थिए । अधिकांश मानिस तराईका जिल्लाबाट आएका थिए । संक्रमण फैलिएको जिल्लाबाट आएका र रोग नदेखिएको ठाउँबाट आएका सबै एकै लाइनमा मिसिएका थिए । लाइन व्यवस्थापन पनि सुरक्षित थिएन ।
आकस्मिक कक्ष अगाडि उस्तै भीड थियो । त्यहाँ चिकित्सक र सर्वसाधारणबीच भनाभन भइरहेको थियो । केही व्यक्तिहरू ‘टेस्ट गराइदिनैपर्यो’ भन्दै जिद्दी गर्दै थिए । शुक्रबारदेखि लाइन व्यवस्थापनका लागि छुट्टै बाटो अपनाइने डा. राजभण्डारीले बताए । ‘घरबेटीले पठाएका र ट्राभल हिस्ट्री नभएकालाई छुट्टै लाइनमा राख्ने,’ उनले भने, ‘संक्रमण फैलिएको जिल्लाबाट आउनेलाई अर्कै लाइनमा राखेर स्वाब संकलन गर्ने ।’
