शिक्षण अस्पतालका ४९ स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा

संक्रमित बालिकाको सम्पर्कमा आएका स्वास्थ्यकर्मी, बिरामी र कुरुवा गरी ८३ जनाको स्वाब परीक्षण गरिंदै

जेष्ठ २, २०७७

अतुल मिश्र

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोभिड–१९ संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका ४९ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । हाल बालिकालाई शिक्षण अस्पतालकै आइसोलेसन वार्डमा सारिएको छ ।

कपिलवस्तुकी ती बालिका ३ दिनअघि घाँटीको शल्यक्रियाका लागि अस्पताल आएकी थिइन् । बिरामी उच्च जोखिमको क्षेत्रबाट आएकाले उनको स्वाबको नमुना पीसीआर परीक्षणका लागि अस्पतालले पठाएको थियो ।

शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार ती बालिकालाई आइसोलेसन वार्डमा सारेपछि अस्पतालमा सेवा नियमित छ ।

अस्पतालको कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले ती बालिकाको सम्पर्कमा आएका ४९ जना स्वास्थ्यकर्मी, बिरामी र कुरुवासमेत गरी ८३ जनाको घाँटीको र्‍यालको नमुना पीसीआर परीक्षण गर्न संकलन गरिएको छ ।

डा. दासले ४९ जना स्वास्थ्यकर्मीको अहिले पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आए पनि दुई सातासम्म क्वारेन्टाइनमै राखिने बताए । ‘उहाँहरूको स्वाब दुई सातापछि पुन: परीक्षण गर्छाैं,’ उनले भने ।

संक्रमण दर २.९९ प्रतिशत

मुलुकमा कोभिड–१९ को संक्रमण दर २.९९ प्रतिशत पाइएको छ । अर्थात् संक्रमित व्यक्तिको सम्पर्कमा सय जना देखिँदा औसत तीन जनामा संक्रमण पुष्टि भएको अध्ययनमा पाइएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रयोगशाला पुष्टि भएका, कोभिड–१९ का बिरामीको निकट सम्पर्कका ‘स्वस्थ व्यक्ति’ परीक्षणका लागि आएको अन्तिम दुई सातासम्मको अनुगमनको विवरण विश्लेषण गरेर संक्रमण दर (अट्याक्ट रेट) निकालिएको जानकारी दिए ।

महतोका अनुसार प्रदेशगत रूपमा हेर्दा संक्रमण दर प्रदेश २ मा बढी छ । प्रदेश २ मा संक्रमण दर ३.२२ प्रतिशत देखिएको छ । ‘नयाँ कन्ट्याक्ट ट्रेसिङको नतिजासमेत राख्दा यो दर अझ बढ्न सक्छ,’ महतोले भने ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमित र उनीहरूको सम्पर्कमा आएकाहरूले सही सूचना नदिँदा वास्तविक तथ्य थाहा पाउन गाह्रो हुन थालेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । ‘कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमित र निजको सम्पर्कमा आएकाहरू आफ्नो विस्तृत भ्रमण इतिहास, सम्पर्कमा आएका व्यक्तिलगायतबारे जानकारी खुलस्त रूपमा दिंदैनन्,’ महतोले भने, ‘वास्तविकता थाहा पाउन अब नयाँ रणनीतिमा जानुपर्ने देखिएको छ ।’

महामारीको विभिन्न आयामबारे विश्लेषण गर्न करिब ८० प्रतिशत जानकारी सही आउनुपर्ने महतोले बताए । ‘एक परिवारमा १७ जना पोजिटिभ देखिए । उनीहरू परिवारभित्र मात्र एकआपसको सम्पर्कमा आएको बताउँछन्,’ उनले भने ।

हालसम्म चीनमा कोभिडको संक्रमण दर घरायसी वातावरणमा अधिकतम १० प्रतिशत र अन्य निकट सम्पर्कमा ५ प्रतिशत देखिएको महतोले सुनाए । नेपालमा भने अधिकांश कोभिड–१९ संक्रमितमा लक्षण नदेखिएकाले (एसिम्प्योम्याटिक) कसले, कसलाई पहिले सार्‍यो भन्ने पहिचान गर्न गाह्रो बनेको छ ।

कोभिड–१९ को संक्रमण दर कम गर्न जतिसक्दो छिटो संक्रमित पहिचान गरेर आइसोलेसनमा राख्दै उपचार गर्नुपर्ने आवश्यकता विज्ञहरू औंल्याउँछन्् । संक्रमितको संख्या बढ्दै जाँदा लक्षण नदेखिएका संक्रमितलाई अस्पतालमा नराखी निश्चित मापदण्डसहितको आइसोलेसन कक्ष बनाएर राख्नुपर्ने उनीहरू बताउँछन् । ‘छिटो संक्रमणको पहिचान, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार र उनीहरूको निरन्तर कन्ट्याक्ट ट्रेसिङ संक्रमण दर कम गर्ने महत्त्वपूर्ण अस्त्र हुन्,’ महतोले भने ।

अन्य मुलुकमा संक्रमितबाट घरका सदस्यहरूमा भाइरस बढी सरेको अर्थात् संक्रमण दर परिवारका सदस्यमा बढी देखिएको छ । अध्ययनमा सबैभन्दा बढी संक्रमणको मारमा पर्ने सम्भावना श्रीमान् र श्रीमतीबीच देखिएको छ ।

कोभिड–१९ ले अन्य व्यक्तिलाई संक्रमित पार्न सक्ने जोखिम (हेजार्ड) को गति विभिन्न अवस्था र प्रक्रियामा निर्भर गर्छ । स्वस्थ व्यक्ति रोगीको सम्पर्कमा कति घुलमिल हुन्छ, यसले समेत संक्रमण हुन सक्ने जोखिम निर्धारण गर्छ । संक्रमित व्यक्तिले सामान्यतया करिब दुई सातासम्म रोग अन्य व्यक्तिलाई सार्न सक्छ ।

लक्षण भएका कोभिड–१९ का बिरामीमा लक्षण देखिएको दुई दिनअघिदेखि एक दिनपछिसम्म स्वस्थ व्यक्तिलाई रोग सार्ने क्षमता अधिकतम हुन्छ । व्यक्तिको ग्रहणशीलता (सस्पेक्टिबिलिटी) संक्रमण हुने महत्त्वपूर्ण कारण हो । भाइरस सरिसकेपछि शरीरले कुन हदसम्म त्यसलाई सामना गर्छ, त्यसका आधारमा संक्रमण देखिन्छ ।

शरीरमा ‘एसीई–२’ रिसेप्टर जति धेरै हुन्छ संक्रमणको सम्भावनासमेत त्यति नै बढी हुन्छ । बीसीजीको खोप लगाएकाहरूमा कोभिड–१९ संक्रमण हुने सम्भावना कम रहेकोसमेत महतोको भनाइ छ ।

२२ जिल्लामा पुग्यो संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २२ जिल्लाका संक्रमित पाइएका छन्् । कुल संक्रमित संख्या भने २ सय ४९ छ । बिहीबार मात्र काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी, धादिङ र धनुषामा एक–एक जना गरी ६ जना नया संक्रमित थपिएका छन्् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार हालसम्मका संक्रमितमा २ सय पुरुष र ४९ जना महिला छन् । तीमध्ये ३५ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्् । संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन्् ।

बिहीबार १ हजार ३ सय ६३ नमुनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म पीसीआरबाट २२ हजार ६ सय ४४ नमुनाको परीक्षण गरिसकिएको छ । यस्तै, आरडीटी किटबाट बिहीबार २ हजार ८ नमुनाको परीक्षण गरियो । हालसम्म आरडीटीबाट ६२ हजार ३ सय २७ नमुनाको परीक्षण गरिएको छ ।

हाल मुलुकमा १५ हजार ६ सय जना क्वारेन्टाइनमा छन् । प्रदेश १ मा ८ सय २०, प्रदेश २ मा १ हजार ६ सय ९६, वाग्मतीमा १ सय ९, गण्डकीमा २ सय ८६, प्रदेश ५ मा ७ हजार ९ सय ५८, कर्णालीमा १ हजार ६ सय ४ र सुदूरपश्चिममा ३ हजार १ सय २७ जना क्वारेन्टाइनमा छन् ।

प्रदेश १ मा २१, प्रदेश २ मा १ सय १, वाग्मतीमा ३७, गण्डकीमा १ र प्रदेश ५ मा १ सय १२ जना गरी देशभरि २ सय ७२ जना आइसोलेसनमा छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा बिहीबार फलफूल, तरकारी बजार, व्यवसायी, ढुवानीलगायतमा केन्द्रित रहेर ३ सय जनाको पीसीआर परीक्षणका लागि नमुना र ७ सय जनाको आरडीटीका लागि नमुना संकलन गर्न टिम परिचालन गरिएको छ ।

कोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully