चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका दुवैजना निको भएका छन् । चितवनमा ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा संक्रमित भएका थिए । यसअघि छोरो निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए भने बुधबार आमा पनि निको भएर घर गएकी छन् । चितवनमा यी दुईजना मात्रै संक्रमित भेटिएर भरतपुरको सरकारी अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका थिए ।
चितवन जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै चितवन कोरोनाबाट मुक्त भए पनि आवश्यक सावधानीहरू जारी नै राख्न जिल्लावासीलाई अपिल गरेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले संक्रमित महिलाको छैठौं र सातौं परीक्षणमा लगातार नेगेटिभ नतिजा आएको आधारमा उनलाई निको भएको ठहर गर्दै अस्पतालले बिदा गरेको जानकारी दिए ।
यसअघि वैशाख १३ गते उनका छोरालाई संक्रमणपछि निको भएर अस्पतालले डिस्चार्ज गरेको थियो । गत चैत्र ३ गते बेलायतबाट काठमाडौं र चैत्र ५ गते चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरमा रहेको आफ्नो घर आएका यी दुई आमा छोरालाई कोराना संक्रमण भएको पुष्टि वैशाख ५ गते मात्रै भएको थियो । संक्रमितको निकट सम्पर्कमा आएका १० जनाको पनि स्वाब परीक्षण भएको थियो । उनीहरु कसैमा पनि संक्रमण भेटिएन ।
