पछिल्ला १० दिनमा दैनिक १० हजारभन्दा बढीमा संक्रमण
मस्को — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका हिसाबले अमेरिकापछि रुस सबैभन्दा बढी प्रभावित भएको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्सेस सेन्टरका अनुसार बुधबार बिहानसम्म रुसमा २ लाख ३२ हजार २ सय ४३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
रुसमा अहिलेसम्म २ हजार १ सय १६ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये ४३ हजार ५ सय १२ जना निको भइसकेका छन् । पछिल्ला १० दिनमा रुसमा दैनिक रुपमा थप १० हजारभन्दा बढीका दरले संक्रमित थपिएका छन् ।
रुसमा मार्च मध्यसम्म नयाँ संक्रमित फाट्टफुट्ट रुपमा भेटिने गरेका थिए । मार्च पहिलो सातासम्म रुसमा जम्मा १७ जना संक्रमित रहेकामा अन्त्यमा २ हजार ३ सय पुगेका थिए । त्यसयता रुसमा तीव्र रुपमा संक्रमण फैलिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पछिल्लो समय परीक्षणको दायरा तीव्र रुपमा बढाइएकाले संक्रमितको संख्या पनि बढेको दाबी गरेका छन् । रुसले दैनिक रुपमा १ लाख ५०हजारभन्दा बढीको परीक्षण गरेको जनाएको छ ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । बुधबार बिहानसम्म अमेरिकामा ८२ हजार ३ सय ७३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै अमेरिकामा संक्रमितको संख्या १३ लाख ६९ हजारभन्दा बढी पुगिसकेको छ भने त्यसमध्ये करिब २ लाख ३० हजार निको भएका छन् ।
गत वर्ष डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण अहिलेसम्म विश्वभर २ लाख ९१ हजार ९ सय ५१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बुधबार बिहानसम्म संक्रमितको संख्या करिब ४२ लाख ६२ हजार पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब १५ लाख निको भएका छन् ।
कोभिड–१९ का कारण राजधानी मस्को सबैभन्दा बढी प्रभावित भएको छ । देशभरिका संक्रमितमध्ये करिब आधा मस्कोका छन् । मस्कोका स्थानीयलाई अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन मार्च अन्त्यदेखि नै प्रतिबन्ध लगाइसकिएको छ । मस्कोमा करिब १ करोड २५ लाख मानिस बस्छन् ।
प्रधानमन्त्री र मन्त्री नै संक्रमित
रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनले गत साता आफूलाई कोरोना संक्रमण भएको बताएका थिए ।
संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री मिसुस्टिनले अस्थायी रूपमा पदीय जिम्मेवारी त्यागिसकेका छन् । उनलाई गत जनवरीमा पुटिनले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रथम उपप्रधानमन्त्री आन्द्रेइ बेलोसोभले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
