पूर्वमन्त्री रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा  कोरोना संक्रमण

एक महिनादेखि थिए बिदामा
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रावलका स्वकीय सचिव गोविन्द दुलालका अनुसार ती सुरक्षाकर्मी एक महिना पहिले बिदामा गएका थिए । श्रीमती बिरामी भएपछि बिदामा गएका उनी १ महिनापछि फेरि काममा फर्किन लागेका थिए । सशस्त्र प्रहरीको सुरक्षा गणबाट फेरि रावलको सुरक्षामा खटिन लागेका उनलाई कोरोना परीक्षण गरेपछि मात्रै आउन भनिएको थियो ।

'रावल सरले फेरि आउन खोजेपछि कोरोना लागेको छैन भनेर पुष्टि भएपछि मात्रै आउन भन्नुभएको थियो । त्यसपछि सशस्त्र प्रहरीको अस्पतालमा उनको कोरोना परीक्षण गरिएको थियो,' दुलालले भने ।

उनी रावलको सुरक्षार्थ पछुवा गाडीमा खटिएका थिए । उनी भक्तपुर दुवाकोटका स्थानीय बासिन्दा भएको खुलेको छ । सशस्त्र प्रहरीले नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको टिमसँग समन्यवय गरेर संक्रमित ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ ।

ती सुरक्षाकर्मीमा कोरोनाको कुनै पनि लक्षण नभएको बताइएको छ । प्रहरीले अहिले दुवाकोटलाई सिल गरेको छ । मंगलबार संक्रमण पुष्टि भएकामध्ये भक्तपुरमा ती सुरक्षाकर्मी र एक जना नर्समा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : वैशाख ३१, २०७७ ०९:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भक्तपुरमा संक्रमित भेटिएका दुवाकोट र शंखधर चोकआसपासका क्षेत्र सिल

मकर श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — भक्तपुरमा संक्रमण भेटिएका दुई ठाउँलाई प्रहरीले सिल गरेको छ । मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ ।

भक्तपुरमा कार्यरत ती महिलाको सुनसरीबाट आएर साथीको कोठामा आएर बसेकी थिइन् । साथीको कोठामा बसेकै बेलामा उनमा संक्रमण पुष्टि भएको हो ।

दुवाकोटमा भेटिएका संक्रमित पुरुष सशस्त्र प्रहरी रहेको स्रोतले जनाएको छ । प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको जनाएको छ ।

-यसअघिको समाचारमा संक्रमित महिला स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी हुनुपर्नेमा नर्स हुन गएकोमा सच्याएका छौं ।

प्रकाशित : वैशाख ३१, २०७७ ०९:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×