काठमाडौँ — गृहसचिव महेश्वर न्यौपानेले मंगलबार साँझ नागढुङ्गा नाका अनुगमन गरेर प्रहरीलाई बाहिरका जिल्लाबाट उपत्यका प्रवेश गर्नलाई सम्बन्धित जिल्ला प्रशासनले गृहमन्त्रालयको स्वीकृतिमा जारी गरेको पासलाई मात्रै मान्यता दिन निर्देशन दिएका छन् ।
‘कुन पासलाई मान्यता दिने भन्ने प्रहरीलाई अन्योल रहेछ,’ उनले भने, ‘स्थानीय तह र अरुले दिएको पास मान्यता नदिनु, आइडी कार्ड झुण्ड्याएर पनि छिर्ने रहेछन् । यस्तालाई पनि फर्काउनु भनेर निर्देशन दिएको छु ।’
खत्रीपौवासम्म पुगेर नाकामा थप कडाई गरी उपत्यका भित्रिने सवारीलाई कडाई गर्न उनले प्रहरीलाई निर्देशन दिएका हुन् । सितापाइलाको नाकाबाट समेत भित्रिएको पाइएपछि त्यहाँ अस्थायी प्रहरी पोष्ट राख्न निर्देशन दिएको उनले बताए ।
अनुगमनमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र प्रहरी प्रमुख श्यामलाल ज्ञवालीसमेत सहभागी थिए ।
