काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वभर अप्ठ्यारोमा परेका नेपालीको उद्धारलगायतका बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार टेलिफोन गरेर देउवाले नेपालगन्जमा थप संक्रमण बढ्न नदिन युद्धस्तरमा परीक्षण थाल्न आग्रह गरेका छन् । उनले देशरभर पीसीआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गर्न, कुवेत सरकारको सेल्टरमा रहेका करिब ३ हजार एवं मध्यपूर्व र विश्वभर अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि व्यवस्थित योजना बनाएर कार्यन्वयन गर्न पनि माग गरेका छन् ।
सीमा नाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि अझै कयौंले देश आउन नपाएको स्मरण गराउँदै देउवाले तिनलाई स्वदेश आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्धारको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नु सरकारको कर्तव्य रहेको स्मरणसमेत प्रधानमन्त्रीलाई गराएका छन् । ‘केन्द्रीय सरकराले उद्धार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाईनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरि व्यवस्थित र कडाईका साथ कार्य गर्न र गराउन प्रधानमन्त्री समक्ष सभापतिले आग्रह र माग गर्नु भएको छ’कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
