'भारतबाट आएर सीमामा बसिरहेका नेपालीलाई स्वदेश ल्याएर व्यवस्थित रूपमा राख्नु'
काठमाडौँ — भारतसँगको सीमामा अनावश्यक आवतजावत रोक्नका लागि सुरक्षा प्रबन्ध गर्न सरकारलाई संसदीय समितिले सुझाव दिएको छ । साथै, भारतका विभिन्न सहरबाट स्वदेश आएका नेपालीलाई स्वास्थ्य परीक्षण गरी ल्याएर व्यवस्थित रूपमा राख्न पनि सरकारलाई भनिएको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बुधबार भारतबाट स्वदेश आउन चाहने र लामो समयदेखि सीमास्थित भारतीय भूमिमा क्वारेन्टाइनमा बसेका नेपालीलाई आउन दिन भनेको हो ।
समितिको सुझावमा भनिएको छ, 'कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकासँग जोडिएको भारतीय सीमा वनबासा र टनकपुरमा विगत ३५ दिनभन्दा बढी अलग्गै क्वारेन्टाइनमा राखिएका नेपालीहरूलाई स्वदेश ल्याई आवश्यक स्वास्थ्य परीक्षण गरी व्यवस्थित विवरणसहित सम्बन्धित पालिकामा पठाउने ।'
त्यसैगरी, भारतका विभिन्न सहर र सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतीय प्रशासनले नेपाल जान भनिरहेको अवस्थामा दुवै मुलुकहरूले औपचारिक टलफल गरेर आफ्ना नगरिकलाई ल्याउने व्यवस्था गर्न पनि सरकारलाई समितिले भनेको छ ।
अर्को सुझावमा भनिएको छ, 'भारत लगायत विभिन्न देशहरूमा रहेका नेपालीहरूको कोभिड-१९ को महामारीबाट सुरक्षा गर्न तथा काम विहीन भएकाहरूलाई जीविका संचालनका लागि राहत उपलब्ध गराउन ती देशहरूस्थित नेपाली कूटनीतिक नियोग र नियोग नरहेका देशहरूको हकमा परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट विवरण प्राप्त गरी आवश्यक व्यवस्था गरी समस्या समाधान गर्ने ।'
भारतसँग जोडिएको नेपालको सीमाना अन्तर्राष्ट्रिय कानुन र नेपाली राष्ट्रिय हित अनुकूल नियमन गर्नुका साथै हालसम्म नियमन नभएको सिमाना पारीबाट हुनसक्ने मानिसहरूको जोखिमपूर्ण आवतजावतलाई व्यवस्थित गर्न र आवश्यक सुरक्षा प्रबन्ध मिलाउन पनि सरकारलाई संसदीय समितिले भनेको छ ।
त्यसरी सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण नहोस् भनेर आयश्यक स्वास्थ्य सामग्री र खाद्य लगायत आवासको व्यवस्था मिलाउन पनि सरकारलाई संसदीय समितिको सुझावमा उल्लेख छ ।
