मदन भण्डारी लोकमार्गको काम सुचारु

वैशाख २०, २०७७

राजकुमार कार्की

सिन्धुली — कोरोना भाइरस(कोभिड–१९) को महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएसँगै रोकिएको राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन मदन भण्डारी लोकमार्गको काम सुचारु भएको छ ।  स्वास्थ्य सतर्कता अपनाउँदै सिन्धुली खण्डमा निर्माणको काम सुरु गरिएको धरान–चतरा–सिन्धुली–हेटाैंडा (मदन भण्डारी लोकमार्ग) सडक आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाका भित्री भागलाई जोड्ने २५० किलोमिटर लोकमार्गलाई दुई खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ । सडक आयोजना पूर्वी खण्डका इन्जिनियर मनिष पोखरेलका अनुसार लकडाउनका कारण रोकिएको १३५ किलोमिटर लामो पूर्वीखण्डअन्तर्गत सिन्धुली जिल्लाभित्र पर्ने सडक निर्माणको काम सुरु गरिएको हो । 

वर्षा याम नजिकिएकाले बनाइँदै गरेका कतिपय संरचनाहरु बिग्रन सक्ने भएकाले क्षति हुन नदिन काम सुरु गर्नुपर्ने बाध्यता आइलागेको इन्जिनियर पोखरेलको भनाइ छ ।

पूर्वीखण्डमा कमला नदीमा पुल निर्माण, झँुंगामा सडक कालोपत्रे र डकाहामा रिटेनिङ वाल निर्माणको काम सुरु भएको छ । निर्माण सामग्री र कामदार अभावमा पहिलेकै रफ्तारमा काम हुन नसके पनि वर्षाको क्षतिबाट जोगाउन आयोजना लागि परेको उनले बताए ।

उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटरलाई पूर्वीखण्ड र भिमानदेखि हेटौंडा उपमहानगरपालिका–६ चौगडासम्मको ११५ किलोमिटरलाई पश्चिमखण्डमा बाँडेर काम भइरहेको थियो । सडक आयोजनाको पूर्वी खण्डमा पनि सडकतर्फ ७५ प्रतिशत र पुलतर्फ ९२ प्रतिशत काम सम्पन्न भएको उहाँको इन्जिनियर पोख्रेलले जानकारी दिनुभयो ।

लोकमार्गको पश्चिमखण्ड आयोजना प्रमुख अर्जुन अर्यालले अहिले वाग्मती पुलदेखि सिन्धुलीमाढीसम्म चारठाउँमा काम सुचारु गर्न लागिएको जानकारी दिए । कामदारको सामाजिक दूरी कायम गरेर, बस्ने क्याम्पभन्दा बाहिर नपठाइ चेक गरेर काम सुरु गरिनेछ । वाग्मती पुलदेखि सिन्धुलीमाढीसम्म पाँचवटा पुलको काम सुरु गर्न लागिएको छ । पश्चिमखण्डअन्तर्गत ११५ किलोमिटर लम्बाइ सडक र ३३ वटा पुल रहेका छन् । पश्चिमखण्डमा सडक निर्माणतर्फ ७५ प्रतिशत र पुल निर्माणतर्फ ९० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । 

उपलब्ध भएको साइड जेठ महिनाभित्र सक्ने लक्ष्य रहेकोमा लकडाउनले गर्दा काम रोकिएको थियो । काम गर्न फिल्ड दिन सके अझै ६ महिनाभित्र सबै काम सकिने आयोजना प्रमुख अर्यालले बताए । मुआब्जा र नक्सांकंन परिवर्तनका कारण विवादित खट्टारदेखि सिन्धुलीमाढीसम्म ६ किलोमिटर सडक निर्माणका लागि ठेकेदारलाई फिल्ड दिन नसकेको उनले सुनाए ।

०७३ कात्तिकमा सम्झौता भई निर्माण सुरु गरिएको उक्त लोकमार्ग ०७७ भदौमा सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ । तर विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण देश लकडाउन भएपछि निर्धारित समयमा सक्न मुस्किल देखिएको उनको भनाइ छ । पहिलो लेयर ११ मिटर चौडाइ र दोस्रो लेयरमा त्यसमाथि सात मिटर चौडाइमा कालोपत्रे गरिने आयोजनाले जनाएको छ । उक्त लोकमार्गको चौडाइ ३० मिटर रहनेछ ।

लकडाउन

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully