पदकको पुरस्कारबाट राहत वितरण

वैशाख २०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य पदक जितेकी टेबल टेनिस खेलाडी एलिना महर्जनले सरकारले दिएको पुरस्कारको आधा रकमले राहत वितरण गरेकी छन् ।

कोरोना भाइरस (कोभिड १९) को महामारीको कारण सरकारले देशव्यापी लकडाउन गरेपछि दैनिक छाक टार्न गाह्रो भएका परिवारका लागि एलिनाले सहयोग गरेकी हुन् । उनले काठमाडौं महानगरपालिका–१७ ले तयार पारेका सूचीमा रहेका २ सय परिवारलाई चामल ५ केजी, दाल १ केजी, चिउरा ८ सय ग्राम, तेल ५ सय मिलिलिटरको प्याकेज बनाएर खुशिबु क्षेत्रमा वितरण गरेकी हुन् ।

‘मानिसहरूलाई यस्तो (महामारी) बेला गाह्रो भइरहेको छ । मान्छेहरुलाई एक छाक खान पनि गाह्रो भइरहेको सुनें । त्यसैले मलाई पनि उनीहरूलाई केही सहयोग गर्न मन लाग्यो,’ नेपाल प्रहरीमा आबद्ध एलिनाले भनिन्, ‘राहत वितरणमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद । राम्रोसँग अझै सहयोग गर्न सकिएन । अरु सहयोग गर्नको लागि साथीहरू पनि उत्साहित छन् ।’

उनले नविता श्रेष्ठ, रविना महर्जन, दिक्षा तामाङ र सिक्का सुवालसँगै गत मंसिरमा आयोजित १३ औं सागमा महिला टिम स्पर्धातर्फ कांस्यपदक जितेकी थिइन् । त्यसबापत उनले सरकारबाट २ लाख रुपैयाँ पुरस्कार पाएकी थिइन् र त्यसैको १ लाखबाट राहत वितरण गरेकी हुन् । उनले १२ औं साग २०१६ मा पनि महिला डबल्समा भाउजु नबितासँगै महिला डबल्समा कांस्य हात पारेकी थिइन् ।

लकडाउन

कान्तिपुर

Link copied successfully