पार्टीभित्रका अस्थिरतावादी प्रवृत्तिविरुद्ध लडौं : नेता खनाल

वैशाख १०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा वरिष्ठ नेता झलनाथ खनालले अस्थिरतावादी प्रवृत्तिविरुद्ध लड्न आह्‍वान गरेका छन् ।हालै सरकारले ल्याएको राजनीति दल विभाजनसम्बन्धी अध्यादेशले राजनीतिक अस्थिरता निम्ताउन सक्ने बहस भैरहेका बेला सत्तारुढ दलका वरिष्ठ नेता खनालको यस्तो भनाइ आएको हो ।

नेता खनालले पार्टी सचिवालय बैठकमा पनि अध्यादेशको विरोध गरेका थिए । उनले अस्थिरतावादी प्रवृत्तिविरुद्ध सिंगो पार्टीलाई एक हुन पनि अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा उनले बुधबार जारी गरेको विज्ञप्तिमा पार्टीमा 'अराजकतावादी र नोकरशाही प्रवृत्ति' बढ्न थालेको पनि संकेत गरेका छन् ।

‘पार्टीलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपले सुदृढ र एकताबद्ध गरेर तथा पार्टीलाई नीति, विधि र पद्धतिसंगत ढंगले अघि बढाएर मात्र उपलब्धिहरुलाई निरन्तरता दिन सकिन्छ । तर, पार्टीमा अराजकतावादी र नोकरशाही प्रवित बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने प्रवृत्ति बढ्न थाले भने उपलब्धिहरु नै गुम्ने खतरा हुन्छ,’ खनालले विज्ञप्तिमा भनेका छन् ।

यतिबेला कुनै पनि प्रकारका अस्थिरतावादी प्रवृतिविरुद्ध एकताबद्ध हुँदै कोरोना भाइरसको महामारी नियन्‍त्रण गर्नुपर्ने आवश्‍यकता नेता खनालले उल्लेख गरेका छन् ।सबै एक भएर महामारीविरुद्ध लडे मात्रै कोरोनाविरुद्ध सफलता हात पर्ने र राष्ट्र तथा मानव जातिलाई बचाउन सकिने उनले बताएका छन् ।

नेता खनालले पार्टी एकताका काम टुंगाउन, कार्यदिशाका आधारमा पार्टी काम विस्तार गर्न तथा संगठनात्मक एकता सुदृढ गर्न पनि माग गरेका छन् ।

नेकपामा अध्यादेशलाई लिएर विवाद भइरहेका बेला नेता खनालले सार्वजनिक अपिलमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

कान्तिपुर

Link copied successfully