‘यो किटबाट सर्भिलेन्स (निगरानी) का लागि मात्र ‘जाँच’ गर्ने हो । यो रोगबाट विगतमा ती व्यक्ति संक्रमित भए/नभएको जान्न मात्र यस्तो किट प्रयोग हुने गरेको छ ।’ – डा. विनोदकुमार यादव, प्रमुख, बायोकेमिस्ट्री विभाग, त्रिवि शिक्षण अस्पताल
काठमाडौँ — सरकारले अन्य मुलुकबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्तिलाई द्रुत परीक्षण किट (आरडीटी) बाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणलाई तीव्रता दिएको छ । आरडीटीबाट पोजिटिभ देखिएका व्यक्तिको पीसीआर विधिबाट परीक्षण गरेर संक्रमण पुष्टि गर्न थालिएको छ ।
र्यापिड किटबाट पोजिटिभ देखिएका दुई जनाको मंगलबार पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ । ५६ जिल्लामा द्रुत परीक्षण किटबाट जाँच भइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को जाँचअन्तर्गत पीसीआर परीक्षणलाई मान्यता दिएको छ । उसले हालसम्म आरडीटी किटलाई मान्यता प्रदान गरेको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबारसम्म ५६ जिल्लाका ६,६०७ वटा रगतको नमुना द्रुत परीक्षण किटबाट जाँच गरिएको छ । गत २४ घण्टामा मात्रै यो किटबाट १,३१६ वटा परीक्षण गरिएको छ । आरडीटी विधिबाट खासगरी विदेशबाट फर्केका र तिनको सम्पर्कमा आएका व्यक्तिको परीक्षण हुँदै आएको छ ।
पीसीआर विधिबाट पनि हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४,८१९ र उपत्यकाबाहिरका विभिन्न केन्द्रमा १,४८० गरी ६,२९९ जनाको घाँटी र नाकको र्यालको परीक्षण गरिएको छ । यसअन्तर्गत पछिल्लो २४ घण्टामा जनस्वास्थ्य प्रयोगशालामा ३८७ र उपत्यकाबाहिरका केन्द्रहरूमा १९७ गरी ५८४ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म पीसीआर र आरडीटी दुवै गरी १२,९०६ नमुनाको परीक्षण जारी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले र्यापिड किटबाट सबै जिल्लामा परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए । द्रुत परीक्षण किट उपयोग गर्न धेरै दक्ष जनशक्ति नचाहिने र फिल्डमा गएर १५ मिनेटमै नतिजा हेर्न सकिने जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा बताउँछिन् । उनका अनुसार निश्चित मापदण्ड बनाएर पीसीआरमै नमुना परीक्षण गर्ने र मापदण्डमा नआउनेलाई दु्रत किटको माध्यमले परीक्षण दायरामा ल्याउँदा धेरै फाइदा हुने बताइन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले दु्रत परीक्षण किटको अन्य देशमा पनि प्रयोग भइरहेको उल्लेख गर्दै थोरै तालिम र छिटो हुने जनाइन् । ‘पीसीआरमा नआउने व्यक्तिलाई आरडीटी किटबाट परीक्षण गर्नुपरेको हो,’ उनले भनिन् ।
विशेषज्ञहरूले मुलुकमा पीसीआर र द्रुत परीक्षण (एन्टिबडी) किटको प्रयोगका लागि तुरुन्त निश्चित मापदण्ड बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनीहरूले द्रुत परीक्षण किट पीसीआर प्रविधि परीक्षणको विकल्प नभएको समेत बताएका छन् ।
‘द्रुत परीक्षण किट (एन्टिबडी परिक्षण) बाट निगेटिभ आउँदा बिरामीलाई डिस्चार्ज गरिन्छ तर पीसीआरबाट नतिजा पोजिटिभ आएको घटना हामीले हालै देखिसकेका छौं,’ त्रिवि शिक्षण अस्पताल, बायो केमेस्ट्री विभागका प्रमुख डा.विनोदकुमार यादव भन्छन्, ‘यो द्रुत परीक्षण किटको माध्यमले कुनै व्यक्ति विशेषमा कोभिड–१९ रोग भए/नभएको पहिचान नगरौं ।’
उनका अनुसार सरकारले हाल उपयोगमा ल्याएको द्रुत परीक्षण किट सर्भिलेन्स (निगरानी) का लागि मात्र प्रयोग गर्ने ‘जाँच’ हो । अर्थात् यो रोगबाट विगतमा ती व्यक्ति संक्रमित भए/नभएको जान्न मात्र यस्तो किटको प्रयोग हुने गरेको छ । विश्वमा समेत यस्तो किटको उपयोग रोगको ‘सर्भिलेन्स’ अर्थात् समुदायमा संक्रमण गए/नगएको थाहा पाउन मात्र गरिने औल्याउँदै डा. यादव भन्छन्, ‘विश्वव्यापी रूपमा समेत यस्तो किटको उपयोग कुनै व्यक्ति विशेषमा रोग छ वा छैन जान्न गरिँदैन ।’
यो द्रुत परीक्षण किट ‘रोग पहिचान गर्नका लागि उपयुक्त नहुने’ भएकाले रोग पहिचानका लागि रियल टाइम पीसीआर नै प्रयोग गर्नु उपयुक्त देखिने उनी बताउँछन् । ‘विश्वव्यापी रूपमा पनि यही कुरा भइरहेको छ, यसैले द्रुत परीक्षण (एन्टिबडी) बाट पोजिटिभ–निगेटिभ जे आए पनि शंकास्पद बिरामीलाई डिस्चार्ज गर्नु हुँदैन,’ डा.यादव भन्छन् ।
सनसिटीका आशंकित २ जनामा पुष्टि र्यापिड डायग्नोस्टिक टेस्ट किट (आरडीटी) बाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एकै परिवारका तीन जनामध्ये दुई जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ५८ वर्षीय छोरा र ८१ वर्षीया आमामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । यस्तै ५२ वर्षीया बुहारीको रिपोर्ट भने पोजिटिभ नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुकमार्फत जानकारी दिएको छ । उनीहरू पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए । कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजिटिभ आएको थियो ।
हाल कोभिड–१९ पोजिटिभ देखिएकाहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरि अस्पतालमा २ जना, सेती अस्पतालमा ५ जना र नारायणी अस्पतालमा ४ जना गरी १५ जना कोभिड–१९ संक्रमण देखिएका बिरामी अस्पतालमा भर्ना छन् । अस्पतालमा भर्ना रहेका सबै संक्रमितको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ५७७१ जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यकामा १२ र उपत्यकाबाहिर ८७ जना गरी जम्मा ९९ जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ परीक्षणको दायरा विस्तार गरिरहेको जनाएको छ ।
