टोखाको सपनतीर्थ मेला र बिस्केट जात्रा स्थगित

वैशाख ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — लिच्छविकालीन संस्कृति र परम्परा बोकेको टोखाको सपनतीर्थ मेला र बिस्केट जात्रा यसपाली स्थगित गरिएको छ ।

कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि नेपाल सरकारले आह्वान गरिएको लकडाउनलाई पालना गर्दै यहाँका ऐतिहासिक तथा धार्मिक मेला तथा जात्रा स्थगित गरिएको न्हुजः खलः, टोखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । 

वैशाख १ गते टोखा नगरपालिका २ स्थित सपनविनायक अगाडि रहेको प्रख्यात सपनतीर्थमा स्नान गर्दा कुष्ठरोगलगायतका रोगहरु नाश हुने जनविश्‍वास रहेको छ । यहाँ रहेक वर्ष वैशाख १ गते ५० हजारदेखि एक लाखको हाराहारीमा दर्शनार्थी मेला भर्न र सपनतीर्थमा स्नान गर्न आउने गर्दछन् । साथै नेवार वस्ती भएका ठाउँहरु धर्मस्थली, मनमैजु, कीर्तिपुर, भक्तपुर, ललितपुरलगायतबाट सांस्कृतिक बाजागाजाका साथ यहाँ मेला भर्न आउने चलन छ । तर यसपाली भने सपनतीर्थ गुठीले गएराति १२ बजे सपनविनायकको पूजाआजा गर्ने बाहेक अन्य धार्मिक र सांस्कृतिक परम्परागत  कामहरु सम्पूर्ण रुपमा स्थगित गरिएको छ ।

साथै धर्मालम्बी आउने सम्भावनालाई मध्यनजर गर्दै स्थानीयवासीलाई यसपाली मेलामा सहभागी नहुन टोखा नगरपालिकाले माइकिङ गरी सार्वजनिक अपिल गरेकाे थियो ।

सपनतीर्थ मेलालगत्तै वैशाख १ देखि ४ गतेसम्म मनाइने टोखाको बिस्केट जात्रा पनि कोरोनाका कारण स्थगित गरिएको हो । यस जात्रामा टोखामा महत्वपूर्ण मानिने शक्तिकेन्द्रहरु शिव, सरस्वती, गणेश, चण्डेश्वरी, इन्द्रायणीलगायत हिन्दु देवीदेवताहरुको खट बनाइ जात्रा गर्ने चलन छ । साथै, बिस्केट जात्राका क्रममा स्थानीयवासीलाई रोग, व्याधि, दुःखबाट बचाउन विभिन्न शक्तिपिठहरुमा होम गर्ने चलन पनि रहिआएको छ ।

यसपाली भने सबै देवता गुठीका सीमित मानिसहरु बसि आ–आफ्नो शक्तिपिठहरुमा क्षमापूजा र होम गरी जात्रा स्थगित गर्ने व्यवस्था मिलाइएको छ । धार्मिक आस्थाका कारण गुभाजुबाट गराइने क्षमापूजा र होममा समेत मानिसको भीड नलागोस् भन्ने मनसायले ती पूजाहरु वैशाख १ गते मध्यरातमा गरिएको थियो । 

यी सबै जात्राहरुको व्यवस्थापन गर्न टोखामा दर्जनौं गुठी, खलः र समूहहरु सयौं वर्षदेखि क्रियाशील छन् ।

कान्तिपुर

Link copied successfully