स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न ट्रान्सपरेन्सीको माग 

चैत्र ३०, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले स्वास्थ्य मन्त्रालयले हालै गरेको स्वास्थ्य सामग्री खरिद प्रकरण र त्यस क्रममा आयातीत सामानको गुणस्तर छानबिन गर्न माग गरेको छ ।

टीआई नेपालले आइतबार विज्ञप्ति जारी गरी विवादास्पद खरिद प्रक्रियामा संलग्न राजनीतिक तथा प्रशासनिक पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न प्रधानमन्त्री केपी ओली र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । स्वास्थ्य सामग्री गुणस्तरहीन पाइएमा प्रयोग नगरी सम्बन्धित मुलुकमै फर्काउनसमेत माग गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले बिना प्रतिस्पर्धा सोझै ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा दिएको थियो । महागोमा स्वास्थ्य सामाग्री खरिद गरेकोमा आलोचना भएपछि सरकारले ओम्नी समूहसागको खरिद सम्झौता रद्द गरेको थियो । त्यसपछि मन्त्रिपरिषदले जीटुजीमार्फत स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ । 

टीआई नेपालले विज्ञप्तिमा सार्वजनिक खरिद गर्दा स्वस्थ प्रतिपर्धा हुनुपर्ने कानुनी व्यवस्था भए पनि कहिले नीतिगत निर्णय त, कहिले जी टु जी खरिदका नाममा पटकपटक विचौलियासागको मिलेमतोमा राज्यकोषको ठूलो रकम अपचलन गर्दै आएकामा सरकारको आलोचना गरेको छ ।

‘राष्ट्रिय संकटका बेला रचिएको स्वास्थ्य सामाग्री खरिद भ्रष्टाचार प्रकरणमा संलग्न राजनीतिक नेतृत्व तहसमेतका सबै पदाधिकारीमाथि आवश्यक अनुसन्धान गरी निर्मम कारबाही गर्न प्रधानमन्त्री र अख्तियारसाग टीआई नेपाल जोडदार माग गर्दछ’ टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीद्वारा जारी विज्ञप्तिमा छ ।

कान्तिपुर

Link copied successfully