६५ ठाउँमा डढेलो, निभाउने मान्छे छैनन्

काठमाडौंसहित देशभर बढ्यो प्रदूषण, वर्षाको सम्भावना
अब्दुल्लाह मियाँ

काठमाडौँ — लकडाउनले सबैतिर मानवीय गतिविधि ठप्पप्राय: भएका बेला जंगलमा डढेलो बढिरहेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजक एवं डढेलो अनुसन्धानकर्ता सुन्दर शर्माका अनुसार मुलुकका ६५ वटा स्थानमा डढेलो लागिरहेको छ । बितेका २४ घण्टादेखि २१ जिल्लामा डढेलो लागिरहेको छ ।

६५ ठाउँमा डढेलो, निभाउने मान्छे छैनन्

शर्माका अनुसार उदयपुरमा १४, बारामा ११, चितवनमा ७, उदयपुरमा ९, रसुवामा ६, इलाममा ३, धादिङमा ३, सिन्धुपाल्चोकमा ३ ठाउँमा डढेलो लागिरहेको छ । हिमाली क्षेत्रमा पर्ने लाङटाङ निकुञ्जमा समेत डढेलो देखिएको छ । ‘पूर्वदेखि पश्चिमसम्मै डढेलो लागिरहेको छ,’ शर्माले भने, ‘चैतदेखि जेठसम्म डढेलो लाग्ने समय नै हो ।’

जंगलमा घाँसदाउरा र गोठालो जाने व्यक्तिले जानेर वा नजानेर डढेलो सल्काउने गर्छन् । लकडाउनको मौका छोपेर काठ र वन्यजन्तु सिकार गर्न गएका व्यक्तिले डढेलो लाएको अनुमान गरिएको छ । ‘लकडाउनमा पनि तराईदेखि हिमाली क्षेत्रसम्मै डढेलो लागिरहेको छ,’ शर्माले कान्तिपुरसित भने, ‘मानवीय गतिविधि नहुँदा डढेलो नलाग्नुपर्ने हो ।’


विज्ञहरूका अनुसार चैतदेखि जेठसम्म अफगानिस्तानदेखि म्यानमारसम्मको हिमालय (हिन्दु–कुश) क्षेत्रको जंगलमा लाग्ने डढेलोका कारण नेपालसहित भारत, भुटान, बंगलादेश र म्यानमारसम्मको भूभाग बाक्लो तुवाँलोले छोप्छ ।

डढेलोले आर्थिक वर्ष २०६५/६६ मा सबैभन्दा बढी क्षति गरेको थियो । त्यो वर्ष डढेलोका कारण ४९ जनाको ज्यान गएको थियो । त्यही वर्ष रामेछापमा डढेलो निभाउने क्रममा १३ जना सैनिकको ज्यान गएको थियो । त्यसलगत्तै सरकारले डढेलो नियन्त्रणका लागि वन डढेलो व्यवस्थापन रणनीति, २०६७ ल्याएको थियो ।


सर्वसाधारणमा जनचेतना जगाउन वन तथा भूसंरक्षण विभागमातहत सबै डिभिजन वन कार्यालयले चैत पहिलो साता डढेलो सप्ताह गर्दै आए पनि यो वर्ष कोभिड–१९ का कारण ती कार्यक्रम रोकिए ।

बढ्यो प्रदूषण

केही दिन अघिसम्म आँखाले देख्न नसकिने धूलोको कण (पीएम २.५) को मात्रा उल्लेख्य गिरावट आएकामा काठमाडौंसहित देशभर ह्वात्तै बढेको छ । प्रदूषण बढेका कारण आकाश धुम्मिएको छ । सवारी साधन र कलकारखाना बन्द भएका बेला प्रदूषण बढ्नुमा डढेलो एक कारण हुन सक्ने जानकारहरूले उल्लेख गरेका छन् ।

काठमाडांैसहित देशका विभिन्न स्थानमा यतिबेला पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र सकारले तोकेको मापदण्डभन्दा बढी रेकर्ड भएको छ ।


सोमबार सिमरामा पीएम २.५ को मात्रा सबभन्दा बढी अर्थात् ११६ माइक्रोग्राम रेकर्ड भएको छ । यस्तै दमकमा १०७, धनकुटामा ७४, काठमाडौंको शंखपार्कमा ६९, लुम्बिनीमा ६६.५, पोखरा विश्वविद्यालय, लेखनाथ क्षेत्रमा ५९, रत्नपार्कमा ५६, धुलिखेलमा ५४, पोखरामा ४१, दाङमा ३३.५ र नेपालगन्जमा १६ माइक्रोग्राम रेकर्ड भएको छ ।

वर्षाको सम्भावना


जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागका एक, दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने अनुमान गरेको छ । महाशाखाले बुलेटिन प्रकाशन गर्दै यस्तो अवस्थामा सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित : चैत्र २५, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?