कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोना परीक्षणमा विश्‍वविद्यालयका ल्याब प्रयोग गर्न जोड

काठमाडौँ — जनशक्ति र उपकरण अभावमा कोरोना परीक्षण प्रभावकारी हुन नसकेको गुनासो आइरहँदा विज्ञहरूले विश्वविद्यालयका ल्याब र जनशक्ति पनि प्रयोगमा ल्याउन सुझाएका छन् । विश्वविद्यालयका प्रयोगशालामा उच्च सुरक्षा सतर्कता अपनाएर कोभिड–१९ को परीक्षण गर्न सकिने उनीहरूको सुझाव छ । 

कोरोना परीक्षणमा विश्‍वविद्यालयका ल्याब प्रयोग गर्न जोड

‘सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पतालका प्रयोगशाला मात्रै प्रयोग गरेको छ । विश्वविद्यालयका प्रयोगशाला पनि प्रयोग गर्न सकिन्छ,’ नास्टका प्राज्ञ एवं वैज्ञानिक डा. दिनेशराज भुजूले भने । सरकारको उच्चस्तरीय संयन्त्रमा शिक्षा, विज्ञान तथा प्रविधि पनि जोडिनुपर्ने उनको भनाइ छ ।


त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं नास्टका प्राज्ञ डा. पीके झा कोरोनासँग जुध्न नागरिकको रोगप्रतिरोधात्मक क्षमता बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताउँछन् । यसतर्फ भएका अन्तर्राष्ट्रिय प्रयासको राम्ररी अध्ययन गरेर रणनीति बनाउनुपर्नेमा उनले जोड दिए ।


त्रिविका आनुवंशिक वैज्ञानिक डा. गिरिराज त्रिपाठी पनि अहिलेको तीव्र जोखिमको अवस्थामा विश्वविद्यालयको प्रयोगशाला प्रयोग गरिनुपर्ने बताउँछन् । ‘पहिलो चरणमा सरकारसँग भएको ल्याबबाट परीक्षण गरिदैछ,’ उनले भने, ‘कोरोना संक्रमण दोस्रो चरणमा पुगेको अवस्थामा विश्वविद्यालयका प्रयोगशाला पनि प्रयोग गर्नुपर्छ ।’ यसका लागि त्रिविमा पर्याप्त जनशक्ति रहेको उनले दाबी गरे ।


माइक्रो बायोलोजिस्ट कयोदेवी यमी पनि यस्तो बेला माइक्रो बायोलोजिस्टहरूलाई अघि सार्नुपर्ने आवश्यकता देख्छिन् । भएजति सबै पीसीआर मेसिन प्रयोगमा ल्याउनुपर्ने बताउँछिन् । ‘हामीसँग भएका पीसीआर मेसिन देखावटी मात्रै भएका छन्,’ उनले भनिन्, ‘यिनलाई प्रयोगमा ल्याइनुपर्छ ।’


नेपालमा आइतबारसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । सरकारले सातै प्रदेशमा परीक्षण व्यापक बनाइने भने पनि सम्भव हुन सकिरहेको छैन । यस्तो बेला बढीभन्दा बढी परीक्षण गर्न सक्ने गरी संयन्त्र तयार गर्न सक्नुपर्ने विज्ञहरू औंल्याउँछन् । तर सबै प्रदेशमा कोभिड–१९ परीक्षण गर्ने रियल टाइम पीसीआर मेसिन चलाउने जनशक्ति नै पर्याप्त छैनन् ।


त्रिविका केन्द्रीय बायोटेक्नोलोजी विभागका प्रमुख डा. कृष्ण मानन्धर विभागसँग पीसीआर मेसिनसहित सबै उपकरण तयार रहेको बताउँछन् । ‘यसका लागि स्याम्पल प्रोसेसिङ युनिट चाहिन्छ,’ उनले भने, ‘एकेडेमिक संस्थामा प्याथाजोनिक काम गर्न मिल्दैन । भाइरसको आरएनए एक्स्ट्राक्सनसम्मको काम प्रोसेसिङ युनिटमा भए अन्य काम हामी गर्न सक्छौं ।’


आफूहरूसँग दक्ष जनशक्ति रहेको तर पीपीई र एन–९५ मास्क, रियाजेन्ट र किट उपलब्ध गराइनुपर्ने उनले बताए । विभागको पीसीआर मेसिनले ४ घन्टामा ९० वटा स्याम्पल परीक्षण गर्न सक्ने मानन्धरले जानकारी दिए ।


यस्तै केन्द्रीय माइक्रो बायोलोजी केन्द्रीय विभागका प्रमुख डा. मेघराज बञ्जडाले सरकारलाई सहयोग चाहिएको खण्डमा त्यहाँको ल्याब र विद्यार्थी दुवै प्रयोग गर्न सक्ने बताए । ‘माइक्रो बायोलोजी पढेका सबै विद्यार्थीलाई रियल टाइम पीसीआरबारे प्रयोगात्मक र सैद्धान्तिक ज्ञान छ,’ उनले भने । उनले पनि कोरोना स्पेसिफिक प्राइमर प्रोभ, पीपीई र मास्क भने सरकारले नै दिनुपर्ने बताए ।

नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलका अनुसार काठमाडौंभित्रै २७ रियल टाइम पिसीआर छन् । अहिले भइरहेको परीक्षणबारे पनि विशेषज्ञको टोली बनाएर ठीक छ/छैन हेर्नुपर्ने उनको भनाइ छ । त्रिविमा मात्रै ३ वटा पीसीआर मेसिन छन् ।

प्रकाशित : चैत्र २३, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?