कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

समुदायमा कोरोना संक्रमण फैलन सक्ने विज्ञको चेतावनी

कोरोना संक्रमित व्यक्ति रहेको समुदायको स्थितिबारे सूक्ष्म अवलोकन गर्न आग्रह
अतुल मिश्र

काठमाडौँ — मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण समुदायमा फैलिएपछिको अवस्थाका लागि सरकार तयार रहनुपर्ने विशेषज्ञहरुले बताएका छन् । 

समुदायमा कोरोना संक्रमण फैलन सक्ने विज्ञको चेतावनी

शनिबार पाँचौं कोभिड–१९ संक्रमित भेटिएपछि विशेषज्ञहरुले संक्रमण समुदायमा फैलिने नदिन सरकार तयार रहनु पर्ने औंल्याएका हुन् । हालसम्म यो संक्रमण स्थानीय समुदायमा फैलिसकेको मुलुकबाट फर्किएका नेपाली नागरिकहरुमा मात्र देखिएको छ ।


सबैभन्दा पहिले चीनको वुहानबाट फर्किएका एक व्यक्तिमा कोभिड १९ को संक्रमण देखिएको थियो । त्यसको केही साता यो रोग देखिएन । यसपछि एक सातायता फ्रान्स, यूएई, दुबइ र बेल्जियमबाट आएका थप ४ जना नेपालीमा संक्रमण देखिएको हो ।


परीक्षणको दायरामा अझै उल्लेख्य नभए पनि केही वृद्धि भएपछि पछिल्लो सातादेखि संक्रमण देखिन थालिएको हो । ‘संक्रमण ढिलो गरेर देखिएको छ । सरकार स्थानीय समुदायमा संक्रमण फैलिएपछिको अवस्थाको लागि तम्तयार रहनु पर्छ’, वरिष्ठ जनस्वास्थ्यविद् डा.शरद वन्तले भने, 'समुदायमा देखिएपछि अपनाउनु पर्ने सावधानी, उपचार, स्थानीयस्तरमा लकडाउनलगायत सबै पक्षको व्यवस्थापनमा सरकारले तुरुन्त पूर्वतयारी सुरु गर्नु पर्छ ।'

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेसमेत कोरोना संक्रमणको समुदायमा कस्तो स्थिति छ भन्नेबारे सूक्ष्म अवलोकन हुनु पर्ने स्वीकार्छन् । अहिलेसम्म युरोप र खाडी राष्ट्रबाट आएका नेपालीहरुमा कोभिड–१९ संक्रमण देखिएको छ ।


पछिल्लो समय मुख्य रुपमा भारत र त्यसपछि बंगलादेशबाट आउनेहरुमा यो संक्रमण देखिन सुरु हुने उच्च सम्भावना छ । ‘संक्रमणको विस्तारलाई विश्लेषण गर्दा पछिल्लो दिनमा लाखौंको संख्यामा भारत र केही हजारको संख्यामा बंगलादेशबाट आएका नेपालीहरुमा यो संक्रमण देखिन सुरु हुने उच्च सम्भावना छ’, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जिडी डाकुर बताउँछन् ।

हाल प्रयोगशाला प्रमाणित संक्रमण देखिएकाहरु सम्पर्कमा आएका व्यक्तिहरुको पूर्ण पहिचान गर्न अझै सरकारी संयन्त्र सफल हुन नसकेको अवस्था औंल्याउँदै डा.वन्त भन्छन्–‘संक्रमितहरु प्लेन, बस, स्थानीय सवारी साधन चढे भने प्रशस्त व्यक्तिसँग भेट समेत गरेको अवस्थामा यो संक्रमण नेपाली समुदायका अन्य व्यक्तिमा नसारेका होलान् भनेर ढुक्क हुने अवस्था अब छैन ।’


मुलुकमा देखिएको हालसम्मका कोभिड–१९ को केसमा संक्रमित स्वयं अस्पताल पुगेर जचाएपछि संक्रमणको अवस्था सार्वजनिक भएको हो । ‘हालसम्म थाहा पाइएको केश सरकारले खोजेर पत्ता लगाएका होइनन’, डा.ठाकुर भन्छन्–‘महामारीको प्रकृति, विस्तार आदि हेर्दा स्वास्थ्य निकाय पुग्न नसकेका यस्ता सयौं केशहरु आफैं बाहिर आउन सकेका छैनन् ।’


अझ विशेषज्ञहरुले चैत महिनाले मुलुक कहाँ जाने भन्ने निर्णय गर्नेसमेत बताउँछन् । हालसम्म यो संक्रमण स्थानीय नभएर बाहिर देशबाट भित्रिरहेकोले हामी पहिलो अवस्थामा रहेका छौं । ‘तर चैत महिनामा यो संक्रमणको वास्तविक विस्तार थाहा हुन्छ’, डा.ठाकुर भन्छन्–‘दोस्रो अवस्थाअन्तर्गत समुदायमा यो संक्रमण फैलिन लाग्दा विभिषिका हेर्नुबाहेक हामीसँग कुनै विकल्प रहँदैन ।’


उनका अनुसार कोभिड–१९ संक्रमण बाहिरी देशबाट आएकाहरुबाट नेपाली समुदायमा भित्रभित्रै भइरहे पनि हालसम्म सतहमा आउन नसकेको हो । विज्ञहरुले समुदायमा संक्रमण फैलिने अवस्थामा चाहिने तयारी सरकारले तुरुन्त थाल्नु पर्ने औंल्याएका छन् । सरकारले आइसोलेसन शय्या, उपचारका लागि भेन्टिलेटरसहितका आइसीयु तम्तयार राख्नु पर्छ ।


यस्तै स्थानीय समुदायमा सेल्फ क्‍वारेन्टाइन, लकडाउन, सामाजिक/व्यक्तिगत दूरीबारे जागरुकतामा समेत वृद्धि गर्ने उपाय अपनाउनु पर्नेमा विज्ञहरुको जोड छ ।

प्रकाशित : चैत्र १५, २०७६ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?