३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

लकडाउनले डायलासिस र किमो लिनुपर्ने बिरामी मर्कामा

बुनु थारु

काठमाडौँ — ५८ वर्षिय श्याम लामा (नाम परिवर्तन) मिर्गौलापीडित हुन् । पेप्सिकोला बस्ने उनलाई हप्तामा ३ पटक नियमित डायलासिस गराउनुपर्ने हुन्छ । उनी डायलासिसका लागि निदान अस्पतालमा रहेको आरोग्य फाउन्डेशनको मिर्गौला डायलासिस सेन्टर जाने गर्छन् । तर लकडाउनले उनलाई समस्या थपिदिएको छ ।

लकडाउनले डायलासिस र किमो लिनुपर्ने बिरामी मर्कामा

जन्मजात नै किड्नी समस्या रहेका उनले यसअघि मेडिसिटीमा डायलासिस गराउँदै आएका थिए । मंसिरबाट उनी त्यहाँ जान थालेका हुन् । लकडाउनले गर्दा उनलाई आवतजावतमा समस्या त भएको छ नै हप्तामा ३ पटक डायलासिस गराउँदै आएका अहिले सेन्टरले २ पटकमा घटाएको छ । त्यसमाथि ४ घण्टा गर्नुपर्ने डायलासिस २ घण्टामा झारिएको छ ।

बुधबार डायलासिस गराउने क्रममा कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘अस्ति ट्याक्सीमा आएको आज एम्बुलेन्समा आएँ । अब त हप्ताको २ पटक मात्र गर्ने र ? बाँच्न पनि गाह्रो हुने । सरकारले केही गर्नुपर्ने हो ।’

श्यामजस्ता सयौँ मिर्गौलाका बिरामीहरु अहिले निकै समस्यामा रहेका छन् । नेपाल मिर्गौलापिडित संघका अनुसार देशभर अहिलेसम्म ५ हजार ३०० जना मिर्गौलाका बिरामी रहेका छन् भने १८०० जनाको प्रत्यारोपण भएको छ ।

मिर्गौला पीडित सरोकार समाजका अध्यक्ष बलराम सुवेदीका अनुसार देशभर ५७ वटा डायलासिस सेन्टर रहेका छन् । उनलाई अहिले धेरै साथीहरुले कसैले डायलासिस पाउँदै नपाएको, पाएपनि समय हेरफेर गरिएको र आवतजावतमा समस्या थपिएको दुःखेसो पोख्ने गर्छन् ।

बलराम भन्छन्– ‘कतिपय डायलासिस सेन्टरले त सेवा नै रोकिसकेका रहेछन्, कसैले हप्ताको २ चोटी मात्र बनाएका छन्, कसैले समय नै घटाएका छन् । बिरामीलाई आउन पनि अप्ठेरो भइरहेको छ ।’

‘हप्तामा १२ घण्टा डायलासिस गर्नुपर्ने मान्छेलाई ६ घण्टाले मात्र पुग्छ ? आधा पेट खानाले पुग्छ ?’ बलराम आक्रोशित सुनिए । कोरोना भाइरसको जोखिम त्यसमाथि लकडाउनको समस्याले झन् समस्या थपिदिएको छ मिर्गौला पीडितहरुलाई ।

राष्ट्रिय मिर्गौला सेन्टरमा दैनिक १०० जनाको मिर्गौला डायलासिस हुन्छ । देशका विभिन्न ठाउँमा रहेको यसको शाखाबाट २५० जनाले डायलासिसको सुविधा लिने गरेका छन् । तर अहिलेको यो अवस्थामा अस्पतालका कर्मचारी, स्रोत साधनको व्यवस्थापनले पनि सेन्टरलाई असर गरिरहेको व्यवस्थापक बिमल बराल बताउँछन् ।

‘टाढाटाढाबाट आउने बिरामीहरुलाई आवतजावतको निकै समस्या भइरहेको छ,’ बिमल भन्छन्, ‘हामीले पहिलेभन्दा सिफ्ट घटाउन बाध्य पनि भएका छौँ । ४ घण्टामा गर्नुपर्ने डायलासिस ३ देखि २ घण्टामा झारेका छौँ । उनीहरुलाई केही फरक त पर्ला तर, अलिअलि भएपनि राहत हुन्छ भन्ने हो ।’

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ढोका निरै सूचना टाँसिएको छ– ‘कोभिड–१९ को संक्रमण फैलिने जोखिम र सरकारले लकडाउनको आदेश गरेकाले ३ चोटी डायलासिस गर्ने बिरामीहरुलाई २ पटक डायलासिस दिइनेछ ।’

यो सूचना पढेपछि बिरामीपनि निराश हुन्छन् । केन्द्रमा दैनिक १०० जनाको डायलासिस हुन्छ । केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठका अनुसार उनीहरुलाई कोरोनाको अलि बढी जोखिम हुन्छ, भिडभाड हुन्छ बिरामीहरुको त्यसैले यस्तो सूचना गरिएको हो । ‘हाललाई डायलासिसमा प्रयोग हुने सामानहरु कमी नहोस् भन्ने नै हो,’ उनले भने ।

मिर्गौला रोग विशेषज्ञ डा. अनिल बराल सरकारले यस्ता बिरामीका लागि केही योजना नै नबनाएकोमा दुखेसो पोख्छन् । ‘अरु रोगका बिरामीहरुलाई भाइबर, फोनबाट सेवा दिँदै आएका छौँ तर यस्ता बिरामीहरुलाई अझ झन् यो स्थितिमा गाह्रो भइरहेको छ,’ उनले भने ।

मिर्गौलाको कार्यक्षमतामा कमी आएपछि मिर्गौलामा भएको विकार वस्तु मेसिनको सहायताले निकालेर सफा गर्ने पद्धतिलाई डायलासिस भनिन्छ । डायलासिस ज्यान बचाउने विधि हो । थुप्रै बिरामीहरु डायलासिसको भरमा बाँचिरहेका हुन्छन् ।

‘हप्तामा ३ चोटी अनि ४ घण्टा गराउनुपर्ने डायलासिसको विश्वव्यापी मान्यता हो । समय केही कम हुने बित्तिकै उनीहरुको स्वास्थ्यमा गम्भिर असर परि नै हाल्छ,’ डा. बराल भन्छन् ।

डा. बरालका अनुसार छोटो समयमा डायलासिसले सफा गर्नुपर्ने शरीरमा रहेको विषाक्त पदार्थहरु पूर्ण रुपमा सफा हुन सक्दैन । डायलासिसमा शरीरबाट पानी पनि निकाल्नुपर्ने हुन्छ । पिसाव नहुने तथा अलिअलि खाएको झोल पदार्थहरुबाट शरीरमा पानी जम्ने हुन्छ । डायलासिसले जमेको पानी निकाल्नुपर्छ । त्यो पानी ४ घण्टामा निकाल्नुपर्नेमा २ घण्टामा निकाल्नु पर्दा शरीरलाई झन् गाह्रो हुन्छ ।

यसरी रुटिनमा हेरफेर हुँदा बिरामीको रक्तचाप कम हुने, हातखुट्टा बाउँडिने, साँस फेर्न गाह्रो हुने , बेहोससैसम्म हुने पनि हुनसक्छ । कालान्तरमा डायलासिसको मात्रा नपुग्ने हुनाले बिरामीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने चिकित्सकहरु बताउँछन् ।

डायलासिसमा शुद्ध पानी अत्यधिक प्रयोग हुन्छ, औषधिहरु समयमा सप्लाइ भएन भने बन्द गनुपर्ने पनि हुनसक्ने डा. बराल बताउँछन् ।
सामान्य मान्छेलाई पनि कोरोनाको जोखिम बढेपछि डायलासिस चाहिन सक्ने अवस्था पनि आउन सक्छ । ‘मल्टी अर्गन फेलियर’ पनि हुनसक्छ । निमोनिया बिग्रेर शरीरका सबै अंगमा थेरापी दिनु पर्ने पनि हुनसक्ने चिकित्सकहरुको भनाइ छ ।

क्यान्सरका बिरामीलाई पनि उस्तै सास्ती
कान्ति अस्पतालका पेडियाट्रिक्स अंकोलोजिस्ट डा. विष्णुरथ गिरीका अनुसार ब्लड क्यान्सर भएका बालबालिकाहरुलाई एक डेढ महिनामा आएर इन्जेक्सन लाउनुपर्ने हुन्छ । ६ देखि ८ महिनाको मुख्य उपचार पछि विशेष सुई लाउनुपर्ने हुन्छ । त्यो ३ वर्षसम्म लाउनुपर्ने हुन्छ ।
डा. गिरी भन्छन्, ‘बिरामीहरु धेरैजसो बाहिरका छन्, आउन समस्या छ । सबै ठाउँमा फेरि यो सुई लगाइँदैन ।’

उनले नयाँ जाँचमा समस्या हुनुका साथै औषधि र रगत पनि अभाव रहेको बताए ।
सिभिल अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुवास पण्डित क्यान्सरका बिरामीहरुमा रोग प्रतिरक्षा प्रणाली कमजोर हुने भएकोले कोरोनाको जोखिम हुने बताउँछन् । जोखिम न्युनिकरण गर्न अहिले अस्पतालमा निको पार्ने खालको केमो नरोकेको उनले जानकारी दिए ।

उनका अनुसार केमो दुई खालको हुन्छ एउटा क्युरेटिभ (निको पार्ने) अनि अर्को प्यालिएटिभ (रोकथाम) गर्ने ।

अहिलेको अवस्थामा क्यान्सर फैलिसकेको छ र केमोको त्यति फाइदा छैन भने बिरामीसँग सल्लाह गरेर केमो रोक्ने र केमो गर्नुपर्ने समय पछि पनि धकेलेका उनी बताउँछन् । प्राय केमो ३ हप्तामा १ चोटी गराउनुपर्ने हुन्छ ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेश नारायण श्रेष्ठले लकडाउनले बिरामीलाई निकै समस्या भइरहेको बताउँछन् । ‘पासको समस्या छ । आवतजावतमा गाह्रो भएर बिरामी नै घटेका छन् । एकदमै कम बिरामी आएका छन्,’ उनले भने ।
हालको अवस्थामा नयाँ बिरामीलाई केमा नदिएको उनले बताए ।

प्रकाशित : चैत्र १३, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?