१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सबै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न सांसद गिरीको माग 

'प्रदेश २ मा सरकारले गोप्यरुपमा सेना परिचालन गर्‍यो'

काठमाडौँ — संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रत्येक प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण प्रयोगशाला स्थापना गर्न माग गरेकी छन् ।

सबै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न सांसद गिरीको माग 

प्रतिनिधिसभा बैठक स्थगित भइरहेको अवस्थामा प्रेस विज्ञप्ति जारी गर्दै सांसद गिरीले सरकारमाथि स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मीलाई उपलब्ध नगराइ भण्डारण गरेर राखेको आरोप पनि लगाएकी छन् ।


सरकारले गरेको 'लकडाउन'को समर्थन गर्दै सांसद गिरीले माग गरेकी छन्, 'प्रत्येक प्रदेशमा कोरोना भाइरस टेस्ट सेन्टर स्थापना गर्नुपर्छ । स्वास्थ्यकर्मीका लागि पीपीई लगायतका सामग्री उपलब्ध गराउनुपर्छ ।' उनले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने माग पनि राखेकी छन् । प्रतिनिधिसभा बैठक २३ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ ।


गिरीले विश्व स्वास्थ्य संगठन, चीन लगायतका दाताबाट कति रकम र स्वास्थ्य सामाग्री सहयोग आएको हो भन्नेबारे पत्रकार सम्मेलन गरेर गराउन माग गरेकी छन् । खर्चको विवरण पनि सार्वनिक गर्नुपर्ने उनको माग छ ।


प्रदेश २ मा सरकारले गोप्य रूपमा सेना परिचालन गरेको सांसद गिरीको आरोप छ । 'सरकारले गोप्य तवरले प्रदेश २ मा सेना परिचालन गरी संविधानको हननसमेत गरेको छ,' उनको माग छ, 'प्रदेश २ मा सेना परिचालन अन्त्य गरी साधान स्रोतको खर्च स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने ।'


प्रदेश २ मा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थाना नगर्ने संघीय सरकारको निर्णय त्रुटिपूर्ण रहेको सांसद गिरीको भनाइ छ । सरकारले ठूलो र गरिब जनसंख्या भएको प्रदेशलाई बेवास्ता गरेको उनको भनाइ छ ।


जिल्लामा आइसोलेसन र क्वारेन्टाइनमा राखिएकाहरूको उपचार हुन नसकेको गिरीको भनाइ छ । 'काठमाडौं बाहिर धेरै जिल्लाहरूका कैयौं व्यक्तिहरूलाई संक्रमणको आशंकामा क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ तर जिल्लाहरूमा आइसोलेसन वार्डमा शंकाको दायरामा राखिएका व्यक्तिहरूको रगत अथवा घाँटीको स्वाब निकाली टेस्ट गर्ने अवस्था छैन,' उनले भनेकी छन्, 'जिल्लाबाट आवश्यक मात्रामा स्याम्पल पठाउन सकिएको छैन । अनुमानको भरमा काठमाडौं रेफर गर्नुपर्ने बाध्यता आएको छ ।'


बिरामीलाई काठमाडौं ल्याउन सहज नभएको र ल्याए पनि उपचार हुने सुनिश्चितता नरहेको गिरीको भनाइ छ । सरकारले कोरोना फैलिएको तीन महिनामा कुनै काम नगरेको सांसद गिरीको भनाइ छ । 'यो समग्र अवस्था अत्यन्त चिन्ताको विषय हो । यसले प्रष्ट हुन्छ सरकारले विगतको तीन महिना सपना हेर्दै वा प्रचारबाजीमा नै अमूल्य समय बिताएको छ । सरकारले पूर्वानुमानको आधारमा इमानदार भइ गम्भीरतापूर्वक कुनै पूर्वतयारी गरेको छैन । सरकारको असक्षमता सबैका उजागर भइसकेको छ,' उनले भनेकी छन् ।


सरकारले कोरोनाको शंका लागेका व्यक्तिलाई आइसोलेसनमा राखेर नियतीको भरमा छोडेको उनको भनाइ छ । सरकारले गैरजिम्मेवारीपनको पराकाष्ठा नाघेको उनको भनाइ छ । आशंका गरिएका व्यक्ति र उनीहरूको सम्पर्कमा गएकाको कोरोना भाइरस परीक्षण गर्नुपर्ने उनको माग छ ।


चिकित्सक र नर्सहरूलाई तत्काल स्वास्थ्य सामाग्री तथा पीपीई उपलब्ध गराउन सरकारसँग सांसद गिरीले माग गरेकी छन् ।

प्रकाशित : चैत्र १३, २०७६ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?