काठमाडौँ — कोभिड १९ संक्रमणको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिग सुरक्षा उपकरण (पीपीई) को अभाव भइरहेका बेला पाटन अस्पतालले भने आफैं यसको निर्माण थालेको छ ।
संक्रमितको उपचारमा खटिने भएकाले चिकित्सक तथा नर्सहरु बढी खतरामा पर्ने मानिन्छ ।
पीपीई सेटको अभाव भएपछि अस्पतालले एक सातादेखि आफैं यसको निर्माण थालेको हो । यसका लागि आवश्यक पर्ने बुट, गाउन र क्यापलगायतका सामाग्री बनाउन थालिएको हो । बजारमा उपलब्ध तथा विश्व स्वास्थ्य संगठनले दिएका सामाग्रीहरु हेरेर त्यसैअनुसार निर्माण गरिएको पाटन अस्पतालका हाउसकिपिङका प्रमुख मोहन पौडेलले बताए ।
उनका अनुसार यी गाउनहरु हावा र पानी नछिर्ने खालका छन् । अस्पतालको इन्फेक्सन कन्ट्रोल कमिटीको निगरानीमा सबै बनाइएको उनले बताए । हरेक दिन प्रयोग गरेपछि यी सामाग्रीलाई केमिकल प्रयोग गरी धुने गरिएको पनि उनले जानकारी दिए । यिनको प्रयोगशालामा परीक्षण भने भएको छैन ।
अस्पतालका स्वास्थ्यकर्मीहरु र सफाइ कर्मचारीहरुले यो पीपीईंको प्रयोग गरिरहेका छन् ।
