काठमाडौँ — सत्तारुढ नेकपाका सांसदहरूले १५ दिनको पारिश्रमिक सरकारले कोरोना भाइरस (कोभिड-१९)को उपचारमा खर्च गर्न स्थापना गरेको कोषमा जम्मा गर्ने भएका छन् ।
सरकारले कोरोना भाइरसको नेपालमा संक्रमण भएमा खर्च जुटाउनका लागि 'कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष' स्थापना गरेको छ । उक्त कोषमा नेकपाका मन्त्री बाहेकका सांसदले १५ को पारिश्रमिक जम्मा गर्ने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
नेम्वाङका अनुसार नेकपाका २०० सांसदले १५ दिनको रकम उक्त कोषमा जम्मा गर्नेछन् । जसको रकम ६४ लाख ३९ हजार हुने उनले जानकारी दिए
उक्त रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको राष्ट्रिय वाणिज्य बैंक, सिहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ जम्मा हुने नेकपाले जनाएको छ ।
सरकारले स्थापना गरेको कोषमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाललगायतले आफ्नो एक-एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।
