फेकोफनले १ हजार ३ सय ९८ वटा भवन क्‍वारेन्टाइन बनाउन दिने 

चैत्र १०, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले देशभरका उपभोक्ता समूहका १ हजार ३ सय ९८ भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेको छ । 

महासंघले सात वटै प्रदेशमा रहेका सामुदायिक वन उपभोक्ता समूहका १ हजार ३ सय ९८ भवनलाई सरकारले चाहेका बेला क्वारेन्टाइन बनाउन सक्ने घोषणा गरेको अध्यक्ष भारती पाठकले जानकारी दिइन् । 


सात वटै प्रदेशमा २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूह छन् । प्रदेश १ मा १ सय २४, प्रदेश २ मा ५५, वागमती प्रदेशमा २ सय ६८, गण्डकी प्रदेशमा २ सय १६, प्रदेश ५ मा  ३ सय ११, कर्णाली प्रदेशमा ८४ र सूदूर पश्चिममा ३ सय ४० गरी जम्मा १ हजार ३ सय ९८ भवनलाई क्वारेन्टाइन बनाउन दिने पाठकले बताइन् ।


यस्तै, महासंघको भक्तपुरस्थित संघीय कार्यालय भवन, प्रदेश महासंघका २ वटा भवन र जिल्ला महासंघका १० वटा भवनलाई पनि संघ, प्रदेश र स्थानीय सरकारले आवश्यक परेका बखत् क्वरेन्टाइनका रुपमा प्रयोग गर्न दिइने महासंघले जनाएको छ । 

कान्तिपुर

Link copied successfully