कोरोना रोकथामका लागि गैरआवासीय नेपाली संघको एक करोड सहयोग

चैत्र १०, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका छन् ।   


संघको बैठकले कोषाध्यक्ष महे कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहतकोष संकलन समिति गठन गरेको छ छ भने उपाध्यक्ष  बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ । संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्नेसमेत तयारी गरेको छ । 


यसअघि संघले कोरोना भाइरस संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको थियो ।  मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले सुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully