कोरोना आशंका गरिएका व्यक्तिको नतिजा आउन बाँकी

भूषण यादव

काठमाडौँ — कोभिड-१९ (कोरोना भाइरस) को आशंका गरिएका वीरगन्जका एक बिरामीको नमूना परीक्षणको अन्तिम नतिजा आउन बाँकी रहेको उनको परिवारले बताएको छ ।

वीरगन्ज महानगरपालिका आदर्शनगर १० निवासी ६७ वर्षीयको उपचारका लागि भारत बिहारको पटना मेडिकल कलेज अस्पताल पुगेका आफन्तले पटनाबाटै कान्तिपुरलाई बताएअनुसार उनको नमूना परीक्षणका लागि पुनाको इन्स्टिच्युट अफ भाइरोलोजीमा पठाइएको छ ।


'यहाँ गरिएको पहिलो परीक्षणपछि डाक्टरले पुनाबाट रिपोर्ट नआइकन कोरोना भएको पुष्टि गर्न सकिँदैन भनेका छन्,' उनले भने ।


भारतीय दैनिक पत्रिका दैनिक जागरणका पटनास्थित स्वास्थ्य संवाददाता पवन कुमारले पनि ती नेपालीमा कोरोना संक्रमण भएको पुष्टि नभएको बताए । पटना मेडिकल कलेज हस्पिटलमा शुक्रबार भर्ना भएका बिरामीको पुनाबाट नमूना परीक्षण आएपछि मात्रै संक्रमण हो होइन भन्न सकिने उनले अस्पतालका चिकित्सकलाई उद्‌धृत गर्दै कान्तिपुरलाई बताए ।


जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तले पनि परिवारलाई उद्‍धृत गर्दै उनको नमूनाको दुईवटा परीक्षण हुने र दोस्रोको नतिजा नआइ भन्न नसकिने बताइन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता ललितकुमार बस्नेतले पनि पुनाको परीक्षणको नतिजा नआइकन केही भन्न नसकिने बताए ।


केहीअघि मिर्गौला प्रत्यारोपण गराएका यी व्यक्ति करिब तीन साताअघि भारतमा एक वैवाहिक कार्यक्रममा सरिक भइ फर्किएका थिए । कलकत्ता, नयाँ दिल्ली र देहरादुन हुँदै मार्च ४ मा वीरगञ्ज फर्किएका उनलाई मार्च १८ देखि ज्वरो देखिएको थियो । स्वासप्रश्वासमा समेत समस्या भएपछि उनलाई बिहीबार वीरगन्ज हेल्थ केयरमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समा पटना पुर्‍याइएको थियो ।


पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले आफ्‍नो फेसबुक पेजमा कोरोना पुष्टि भएको लेखे पनि पछि त्यो पोस्ट हटाएका छन् । पटनामा रहेका आफन्तले उनको स्वास्थ्यमा आइतबार सुधार देखिएको बताएका छन् ।

प्रकाशित : चैत्र ९, २०७६ २१:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अफगानिस्तानमा सात लडाकु मारिए

(एजेन्सी)

काबुल — अफगानिस्तानको कापिसा प्रान्तमा शनिबार भएको गोली हानाहानमा सरकार समर्थित चार र विद्रोही तीनजना लडाकुको मृत्यु भएको छ । 

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम शेखले तालिबान लडाकुको एक समूहले निजरब जिल्लाको एक प्रहरी चौकीमा शनिबार बिहान आक्रमण गरेको बताए । दुबैतर्फ झण्डै एक घण्टा गोली हानाहान भएको प्रवक्ता करिमको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।

अमेरिका र तालिबानबीच शान्ति सम्झौता भएपनि अफगान सरकार र विद्रोही समूहबीच वार्ता हुन सकेको छैन । खासगरी अफगानिस्तानका जेलमा रहेका पाँच हजार लडाकुलाई बिनाशर्त छाड्नुपर्ने तालिबानको मागलाई अफगान सरकारले अस्वीकार गरेपछि वार्ता अनिश्चित भएको छ ।

शुक्रबार राति तालिबानको आक्रमणमा दक्षिणी जाबुल प्रान्तमा दुई दर्जनभन्दा बढी सैनिक मारिएका थिए ।



प्रकाशित : चैत्र ९, २०७६ २०:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×