कोरोना कहर

कोरोनाको कहरका कारण अमेरिकाका धेरैजसो राज्य सरकारले संकटकाल लगाएका छन् । ५० वटै राज्यमा कोरोनाको संक्रमण फैलिएको छ । शनिबारसम्म अमेरिकामा ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
मनोज अधिकारी

काठमाडौँ — मात्र ५/७ मिनेटको दूरीमा ४ जना निकट साथी छौँ । बसोबासका हिसाबले मात्र नभई हरेक दृष्टिले वर्षौंदेखि हाम्रो निकटता छ । अमेरिकाको बोस्टनमा हामी चारै परिवारबीच आत्मीय र मित्रवत् सम्बन्ध स्थापित छ । 

दिनै वा हप्तैपिच्छे व्यक्तिगत भेटघाट र पारिवारिक जमघट हाम्रा सामान्य नियमितता हुन् । सँगै कफी पिउन वा मःम खानको लागि जमघट गर्नुपरे हामीले क्यालेन्डर हेरेर दिन जुराउनु पर्दैन । तत्काल जमघट गर्न कुनै शनिबार वा आइतबार कुर्नु परेको छैन ।


नेपालमा लामो समय मूलधारको पत्रकारिता गरेका चारैजना प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपाली मिडियासँग जोडिएका छौँ । चारमध्ये तीनजनाले कुनै बेला एकसाथ एउटै मिडियामा काम गरेकाले धेरै विषय मिल्दाजुल्दा हुन्छन् ।


अर्को आधा घण्टाको दूरीमा सक्रिय लेखन र पत्रकारिताका थप दुई धुरन्धर मित्र छन् । एकपल्ट ग्रुप च्याटमा म्यासेज गरे ६ जना वा ६ परिवार तुरुन्तै भेट्न कुनै आइतबार कुर्नु पर्दैन । यो परदेशी भूमिमा एकै क्षेत्र, विधा र अनुभवका निकट मित्रहरु एकै ठाउँमा यसरी नजिक रहन पाउनुलाई सुखद संयोग नै मान्नुपर्छ ।


तर दुई सातायता अवस्था पुरै बदलिएको छ । परस्थितिले भौतिक दूरी कोशौं टाढा पुर्‍याएझैं बनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले हाम्रै सहर बजारसमेत छोइसकेको छ ।


घना बस्ती, शैक्षिक हब, सडक तथा रेल सञ्जालका कारण यो भाइरसले पुरै सहर ढपक्क ढाक्दै लगेको छ । भाइरसको भयावह स्थितिपछि मानिसहरुको जमघट र भेटघाटमा बन्देज लाग्न थालेको छ ।


यही भाइरसका कारण अहिले भौतिक दूरी बढाउनुपर्ने वाध्यताले हामीबीच आपसी भेटघाटसमेत ठप्प बनाएको छ । ग्रुपमा भिडियो कल गरेर जमघटको तिर्सना मेट्नुपर्ने अवस्था सृजना गरेको छ ।


दिनदिनै देख्दादेख्दै आफ्नै टोल, बस्ती र पुरै सहरको दृष्य अहिले बदलिएको छ । चौबिसै घण्टा चल्ने सडक र खुल्ने बजारहरु सुनसान देखिन थालेका छन् । मान्छेहरुको हिँड्डुल निकै पातलो हुँदै गएको छ । एकले अर्कोलाई देख्नेबित्तिकै तर्केर हिँड्नुपर्ने अवस्था छ ।


कोरोनाले विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई समेत आक्रान्त पार्दै लगेको छ । जस्तोसुकै प्रविधि, विज्ञता र सम्पन्नता भए पनि अमेरिकालाई समेतयतिबेला कोरोनासँग जुध्न हम्मे परिरहेको छ । आमअमेरिकी र बाहृय दुनियाँले समेत कोरोना भाइरस अमेरिकाको लागि खासै टाउको दुखाउको विषय हुँदैन भन्ने सोचेका थिए ।


संसारसँग कहिलै नझुक्ने शान बनाएको अमेरिका कोरोना भाइरससामु भने निरीह बन्न पुगेको छ । भाइरस नियन्त्रण गर्न नसकेपछि अमेरिकी सरकारले आफ्ना नागरिकलाई राहत दिन विभिन्न आर्थिक सहयोगका प्याकेज घोषणा गरेर आश्वस्त पार्नु परेको छ ।


कोरोनाको कहरका कारण यहाँका धेरैजसो राज्य सरकारले संकटकाल लगाएका छन् । ५० वटै राज्यमा कोरोनाको संक्रमण फैलिएको छ । शनिबारसम्म अमेरिकामा ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।२५ हजारभन्दा बढीमा यो संक्रमण देखिइसकेको छ । केही राज्यमा भने यसको प्रभाव र क्षति धेरै देखिन थालेको छ ।


क्यालिफोर्नियाले ४० मिलियन जनतालाई ‘लक डाउन’ मा राखेको छ । यस्तै अर्को घनाबस्तीको सहर न्यूयोर्कमा पनि अत्यावश्क सेवाबाहेक पुरै बन्द गरिएको छ । अन्य राज्यहरु र स्थानीय सहरहरुले पनि भाइरसको प्रभावअनुसार आआफ्नो क्षेत्रमासंकटकाल घोषणा गरेका छन् । जसका कारण व्यापार, व्यवसायदेखि स्थानीय प्रशासनका कार्यालयहरु बन्द छन् । सबैको ध्यान कोरोनासँग जुध्ने प्रत्यत्नमा केन्द्रीत छ ।


हाम्रै आसपासका हार्वड, एमआइटीजस्ता विश्वविद्यालयदेखि अन्य विभिन्न कलेज, विद्यालय, सामाजिक संघसंस्था पूर्णरुपमा बन्द गर्नुपरेको छ । कलेजहरुले घरमै बसेर पढ्न र ‘असाइन्मेन्ट’ गर्न मिल्ने गरी शैक्षिक तालिका बनाएका छन् । विद्यालयहरुले घरमा रहे पनि बच्चाहरुको पढाइमा बाधा नपरोस् भनेर सकेसम्म अनलाइनबाटै शैक्षिक गतिविधि गराउन थालेका छन् ।


घरघरको हालत अहिले पुरै बदलिएको छ । लामो समय घरमै रहनुपर्दा बेचैनी सबैको बढेको छ । हामी पनि थुनिएझैं महसुस गर्न थालेका छौँ ।


दुई छोरीहरु घरी टिभीमा लिन हुन्छन्, घरी साइकल चलाएर खुट्टा चलायमान बनाउन खोज्छन् । केहीबेर स्कुलको तालिकाअनुसार होमवर्क र अनलाइन वर्कमा समय बिताउँछन् ।


श्रीमती सरकारी जागिरे भए पनि उनले घरबाटै काम गर्न थालेको एकहप्ता बितिसक्यो । उनलाई कम्तिमा एक महिना कार्यालय नआउनू भनिएको छ । बाहिर कतै जान नमिले पनि घर पछाडि निस्किएर श्रीमान्श्रीमती ब्याडमिन्टन र डोरी खेल्न थालेका छौँ ।


दिनको अधिकांश समय बच्चाहरुको टिभी, श्रीमतीको ल्यापटप र आफ्नो कम्प्युटरसँग बितिरहेको छ । जतिखेर पनि कोरोनाकै खबर पढ्ने र हेर्ने लत बसेको छ । यस्तै दैनिकी अझै कति दिन वा हप्ता चल्ने हो कुनै अनुमान गर्न सकिएको छैन ।


यस्तो अवस्थामा याद आउने र ख्याल गर्नुपर्ने निकटस्थहरु धेरै हुन्छन् । हामी यताबाट नेपालको चिन्ता गर्छौं । उताबाट परिवार र आफन्त यताको भयावह खबर सुनेर हाम्रो चिन्ता गर्छन् । यता आफूहरु ठीक रहेको र तपाईंहरु त्यता सतर्क हुनु भन्नुबाहेक दुवैतर्फ कुनै शब्द हुँदैन ।


सन् २०१९ को अन्तिम साता चीनको वुहान सहरमा एकाएक देखा परेको नोवेल कोरोना भाइरसले केही सातामै संसारभर यसरी आतंक मच्चाउँछ भन्ने सोचिएकै थिएन । तत्काल कुनै उपचार सम्भव नभएको यो भाइरसले अहिले १ सय ८० भन्दा बढी मुलुकमा पुगेर दिनदिनै सयौं मानिसको ज्यान लिइरहेको छ ।


शक्तिशाली आणविक अस्त्र वा क्षेप्यात्रभन्दा कयौं गुणा डरलाग्दो गरी कोरोना संसारभर फैलिएर आतंक मच्चाउँछ भन्ने अनुमान कसैले गरेका थिएनन् । यो भाइरसले यतिबेला पुरै संसारलाई एक अर्को देश, सहर र समाजबाट अलग गराइरहेको छ । पुरै देश, सहर, बस्ती र व्यक्ति व्यक्तिसमेतलाई अहिले ‘सेल्फ क्वारेन्टाइन’ र ‘आइसोलेसन’ मा बस्नुपर्ने अवस्थामा पुर्‍याएको छ ।


भौतिक विकासको सम्पन्नतासँगै स्वास्थ्य क्षेत्रको सेवा, सुविधा र प्रविधिका हिसाबले पनि संसारमै अब्बल कहलिएका मुलुकहरुलाई समेतअहिले यो चुनौती सामना गर्न हम्मे–हम्मे परिरहेको छ । संसारभरयस रोगको रोकथामका लागि भरमग्दुर प्रयास जारी रहे पनि सफल हुन सकिरहेको छैन ।


दिनदिनै तीब्र भइरहेको कोरोना भाइरसको प्रत्यक्ष असर मानव जीवनका हरेक क्षेत्रमा देखा पर्न थालिसकेको छ । विभिन्न आँकडा र अनुमानअनुसार यसकै कारण अहिले लाखौं बेरोजगार हुन थालेका छन् । आर्थिक संकटका लक्षण सुरु भएका छन् ।


निजी तथा सरकारी र बहुराष्ट्रिय कम्पनीका कार्यालयहरु बन्द भएका छन् । कतिपयले सम्भव भएसम्म घरबाटै काम गर्ने व्यवस्था मिलाएका छन् । जसका कारण ठूल्ठूला तारे होटल, क्यासिनो, रेष्टुरेन्ट, बार, क्लब, ट्राभल एजेन्सी, सिनेमा हल, जिम सेन्टरहरु ठप्प भएका छन् । ठूला होटलका अकुपेन्सी ६० देखि ८० प्रतिशतसम्म खस्किएको छ । पहिलैदेखिका बुकिङहरु धमाधम रद्द भएका छन् ।


ठूल्ठूला सभा, समारोह र सम्मेलनहरु रोकिएका छन् । सीमित रेष्टुरेन्टले डाइनिङ सेवा बन्द गरेर आफ्नो सेवालाई डेलिभरीमा सीमित गरेका छन् । अधिकांश रेष्टुरेन्टले व्यवसाय धान्न नसकेपछि कर्मचारीलाई विदा गर्दै चियर र टेबल उत्तानो पारेर राखेका छन् । यी सबै व्यवसायमा प्रत्यक्ष संलग्न लाखौंको रोजगारी अहिले टुटेको छ ।


बजार र अभाव

कोरोनाको सर्वत्र प्रभाव र बिस्तारका कारण आममानिसभयभीत छन् । सम्भावित संकट देखेर खाद्यान्न तथा आवश्यक सरसामग्री किन्न खाद्यान्न र तरकारी तथा फलफूलबजारमा मानिसको ठूलो चाप छ ।

सुरुवातमै हृयाण्ड स्यानिटाइजर र मास्क ‘आउट अफ स्टक’ भइसकेको छ । ग्रोसरी स्टोर च्यानलहरुले पर्याप्त खाद्यवस्तु रहेको जनाउ दिए पनि मानिसहरु आश्वस्त हुन सकेका छैनन् । घण्टौं लाइनमा बसेर खाद्यान्न जोहो गर्नेको भीड सम्हाल्न प्रहरी खटिनु परेको छ । यस्तो चापले वृद्धवृद्धा र अशक्तलाई अप्ठेरो पर्ने देखेर ग्रोसरी स्टोरहरुले बिहानको पहिलो केही घण्टाको छुट्टै अवधि उनीहरुका लागि तोकेर सेवा दिइहरेका छन् ।


रोजगारीमा असर

कोरोना भाइरसको फैलावट भयावह बन्दै गएपछि मानिसका दैनिकी र जनजीवन दिनदिनै खुम्चिंदै गइरहेका छन् । यसको प्रत्यक्ष मार पर्यटन क्षेत्रमा परेसँगै हवाइसेवा नराम्ररी थिचिन पुगेको छ । कैयन् मुलुक र राज्यहरुले बाहिरी मानिसको आउजाउमा रोक लगाएपछि हवाइसेवा ठप्प भएका छन् ।


अमेरिकामा मात्र दैनिक ४५ हजारभन्दा बढी हवाइ उडान रोकिएका छन् । दैनिक करिब ३० लाख मानिस उड्ने अमेरिकी आकाश अहिले सुनसान बनेको छ । यसले अर्थ बजारमा पार्ने असर भोलिका दिनमा पक्कै सानो हुने छैन ।


स्टक मार्केट ध्वस्त

ससाना व्यवसायदेखि ठूल्ठूला कम्पनी दिनदिनै बन्द हुन थालेपछि अर्थतन्त्रले इतिहासमै नभोगेको झट्का बेहोर्न पुगेको छ । कोरोनाले आर्थिक र विकासका दृष्टिले ठूला र बलिया देशहरुलाई बढी आक्रान्त पारेको छ । संसारकै राजधानी मानिने न्यूयोर्कको स्कट मार्केटलाई इतिहासमै सबैभन्दा ठूलो झट्का लागेको छ ।


अहिलेसम्मकै ठूलो गिरावटले स्टक मार्केट नाजुक बिन्दुमा झरेपछि लाखौं लगानीकर्ता र कम्पनी घाटाको महासागरमा चुर्लुम्म डुबेका छन् । केही साताको बिचमा हेर्दाहेर्दै खरबौं डलरको नोक्सानी झेलेका छन् । यो डुबानबाट उत्रन कतिवर्ष लाग्ने हो अनुमान गर्न गाह्रो छ । यसको तत्कालिक असर जति डरलाग्दो छ त्योभन्दा कयौं गुना कहालीलाग्दो असर दीर्घकालमा हुने विश्लेषण गर्न थालिएकोछ ।


कोरोना आतंकले संसार कहिलेसम्म आक्रान्त हुने हो भन्ने प्रश्नको उत्तर हालसम्म कसैसँग छैन । यसकै मारले बन्द भएका होटल, पर्यटन, शैक्षिक, सामाजिक, आर्थिक र प्रसाशनिकलगायतका क्षेत्र कहिले खुल्छन् भन्ने पनि अनुमान कसैले गर्न सकेको छैन ।यतिबेला सबैको ध्यान ‘सेल्फ आइसोलेसन’र ‘क्वारेन्टाइन’तर्फ मात्र केन्द्रीत हुँदै गएको छ । बाँकी त भविष्यकै गर्भमा छ ।


अधिकारी अमेरिकाको बोस्टनमा बस्छन् प्रकाशित : चैत्र ९, २०७६ १९:२४

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

तनहुँमा बस दुर्घटना, मृतकको संख्या ३ पुग्यो [अपडेट]

हरिराम उप्रेती, सम्झना रसाइली, लालप्रसाद शर्मा

गोरखा/तनहुँ — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा आइतबार बस खस्दा तीन जनाको मृत्यु भएको छ । २१ जना घाइते छन् ।

सल्यानका २२ वर्षीय सन्दीप ओली र ४० वर्षीय चूडामणि रेग्मीको मृत्यु भएको हो । अर्का एक मृतकको पहिचान नखुलेको डीएसपी लीलाराज लामिछानेले बताए । पोखराबाट दाङ जाँदै गरेको ना५ख ४२९४ नम्बरको बस करिब एक सय मिटर तल नदी किनारमा खसेको हो ।

दुर्घटनाका घाइतेमध्ये दुईलाई पोखरा र सात जनालाई चितवन मेडिकल कलेज लगिएको छ । अन्यको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १९:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×