कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एयर इन्डियाको लापर्बाहीले दिल्लीमा नेपाली यात्रुलाई सास्ती

दूतावासको पहलमा २४ घन्टापछि ओर्लिन पाए काठमाडौं
सुरेशराज न्यौपाने

काठमाडौँ — भारतको सरकारी वायुसेवा कम्पनी एयर इन्‍डियाको लापर्बाहीका कारण दुबईबाट काठमाडौंका लागि उडेका २८ जना नेपालीहरूले भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अनाहकमा बिचल्लीको अवस्था भोग्नु परेको छ ।

एयर इन्डियाको लापर्बाहीले दिल्लीमा नेपाली यात्रुलाई सास्ती

उनीहरू दुबईबाट शुक्रबार बिहान ४ बजे दुबईबाट एयर इन्डियाको उडानबाट दिल्ली ओर्लेका थिए । तर, एयर इन्डियाको लापर्बाहीका कारण अनाहकमा करिब दिल्ली एयरपोर्टमा उनीहरूले बिचल्ली भोग्नु परेको हो । नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल गरेपछि मात्र उनीहरू करीब २४ घन्टापछि शनिबार बिहान काठमाडौं आर्लेका छन् ।

सास्ती खेपेका नेपालीहरूले सरकारले दुबईबाट काठमाडौं जाने उडानमा रोक लगाएपछि दिल्ली हुँदै जानका लागि एयर इन्डियाको टिकट काटेका थिए । त्यसअनुसार उनीहरू शुक्रबार बिहानै एयर इन्डियाकै ७:४० को विमानबाट काठमाडौंका लागि उड्‍न पर्ने थियो । तर, एयरपोर्टमा ओर्ले पछि उनीहरूको स्वास्थ्य परीक्षण गर्ने नाममा ३ घन्टा भन्दा बढी समय लगाइएका कारण उनीहरू समयमै काठमाडौं जाने काउन्टरमा पुग्न पाएनन् । र, उनीहरूको फ्लाइट छुट्यो ।

त्यसपछि उनीहरूले एयर इन्डियाका अधिकारीहरूलाई आफूहरूलाई जसरी भए पनि काठमाडौं उडाउन आग्रह गरे । तर, त्यसमा एयर इन्डियाले बेवास्ता गरेपछि उनीहरूले दिल्लीस्थित नेपाली दूतावासलाई गुहारेका थिए । जानकारी पाउनासाथ दिल्लीस्थित नेपाली दूतावासले एयरपोर्ट र एयर इन्डियाका अधिकारीहरूसँग छलफल गरेको थियो ।

दूतावासले दिल्ली एयरपोर्टको हृयाण्डल गर्ने कम्पनी जिएमआरका अधिकारीहरूसँग छलफल गरेपछि एयर इन्डियाले शनिबार जसरी भए पनि उडाउने प्रतिबद्धता जनाएको थियो । अहिले ती सबै नेपाली काठमाडौं ओर्लिसकेका छन् ।

दूतावासले पहल नगरेको भए त हामीहरूलाई बिचल्ली नै बनाउने थियो, नेपाल सरकारका तर्फबाट दूतावासले निकै सराहनीय काम गरेको छ, सरकार छ भन्ने अनुभूति भयोदिल्लीमा अलपत्र परेका नेपालीहरूमध्येका झापाका एकराज पोखरेलले कान्तिपुरसँग भने ।

दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले एयर इन्डियाले आफ्नो कमजोरी भएको स्वीकार्दै सबै नेपाली यात्रुको जिम्मा लिएको र त्यहीँअनुसार शनिबार बिहानै काठमाडौं उडाएको बताए । दूतावासले आवश्यक पहल गरेपछि एयर इन्डियाले शनिबार बिहानै उडानबाट काठमाडौं पठाउने भनेको थियो । आज उहाँहरू काठमाडौ ओर्लिसक्नु भएको छ,’ रेग्मीले भने ।

नेपाली यात्रुहरूले भने एयरपोर्ट र एयर इन्डियाका कर्मचारीको लापर्बाहीकै कारण आफूहरूले अनाहकमा सास्ती भोग्नु परेकोमा आक्रोश व्यक्त गरेका छन् । उनीहरूको भनाईमा आफूहरूले दुबईबाट आउनासाथ काठमाडौंको उडानबारेमा सम्बन्धित कर्मचारीहरूलाई जानकारी दिइसकेका थिए । तर, स्वास्थ्य परीक्षण भन्दै कहिले अध्यागमन त कहिले स्वास्थ्य परीक्षण गर्ने ठाउँमा घुमाइएको र अन्ततः जहाज छुटेको उनीहरूको भनाइ छ ।

आफ्ना ट्रान्जिट यात्रुहरू दिल्ली ओर्लेका तीन घन्टा बितिसक्दा पनि एयर इन्डियाले कुनै चासो नरहेको नेपालीहरूको गुनासो छ । हामीले ओर्ले देखि नै भनेका थियौं, एयर इन्डियाको फ्लाइटका बारेमा तर, हाम्रो कुरा नै सुनेनन्,’ दुबईबाट आएकी पूजा डंगोललले भनिन् ।

काठमाडौं उड्‍न नपाएकामा दिल्लीमै क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने चिन्ताले पनि त्यत्तिकै त्रसित थिए । शनिबार उड्‍न नपाएको खण्डमा आइतबारदेखि नेपाल र भारत दुवैले अन्तर्राष्ट्रिय उडानहरूमा रोक लगाएको हुँदा उनीहरू अनिवार्य रूपमा १४ दिनको क्वारेन्टाइनमा बस्नु पर्थ्यो । किनभने भारत सरकारले बुधबारदेखि लागू हुने गरी युएई, कतार, ओमान र कुवेतबाट आएका जोकोही यात्रुले पनि अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था अघिल्लो सातादेखि नै लागू गरिसकेको छ ।

दिल्लीमै क्वारेन्टाइनमा बस्नुपर्छ कि भन्ने चिन्ता एकातिर थियो भने अर्कोतर्फ एयर इन्डियाका कर्मचारीको व्यवहारबाट उनीहरू थप दुःखी थिए । आफ्ना ट्रान्जिट यात्रुहरूको जिम्मेवारी लिनुपर्ने एयर इन्डियाले उल्टो आफूहरूलाई दोष दिँदै आफै टिकट काटेर जानु भन्दै ठाडो जवाफ दिएको नेपालीहरूले बताए । त्यतिमात्र होइन, दिल्ली ओर्लेको १२ घन्टा बितिसक्दा पनि उनीहरूलाई पानी समेत दिइएन । त्यसमाथि एयर इन्डियाका कर्मचारीले उल्टो दुव्यवहार र अपशब्द बोलेको नेपाली यात्रुहरूको गुनासो छ । केही सोध्यो भने पनि चुप लाग मात्र भने । कति घन्टासम्म त पानी समेत दिइएन । जबकी हामीहरूको कुनै गल्ती नै छैन,’ डंगोलले भनिन् ।

तिमीहरूलाई हामीहरू केही गर्न सक्दैनौं । यहीँ सड । जे गर्नुछ गर भनेर उल्टो धम्की दिए,’ डंगोलले थपिन् ।

एकातिर एयर इन्डियाका कर्मचारीको त्यस्तो व्यवहार अर्कोतर्फ फोन र इन्टरनेट सुविधा नभएका कारण करिब १० घन्टासम्म उनीहरूले परिवारसँग सम्पर्क पनि गर्न पाएनन् । पछि एयर इन्डियाका कर्मचारीसँग त्यससम्बन्धमा आक्रोश पोखेपछि मात्र उनीहरूलाई इन्टरनेट सुविधा दिइएको थियो । त्यसपछि मात्र उनीहरूले परिवारसँग सम्पर्क गर्न पाएका थिए ।

दूतावासले चासो राखेपछि भने एयर इन्डियाका कर्मचारीहरूको व्यवहारमा परिवर्तन आएको नेपालीहरूले बताए । अर्को सिफ्टको कर्मचारी भएर हो कि दूतावासले कुरा गरेपछि हो साँझ त राम्रो व्यवहार गरे । खाना पनि राम्रै दिए,’ पोखरेलले भने ।

प्रकाशित : चैत्र ८, २०७६ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?