युरोपसहित कोरोना प्रभावित मुलुकका नागरिकलाई वैशाख ३ सम्म प्रवेश रोक

चैत्र ५, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले वैशाख ३ गतेसम्मका लागि कोरोना भाइरस प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । साथै खाडी क्षेत्र, युरोपका सबै मुलुक, इरान, टर्की, दक्षिण कोरिया, जापान ट्रान्जिट भई आउने सबैलाई पनि वैशाख ३ गतेसम्मका लागि प्रतिबन्ध लगाइएको छ । 

आवागमनमा लगाएको प्रतिबन्धका कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकको भिसा अवधि नियमित गर्न गृह र परराष्ट्र मन्त्रालयले समन्वय गर्ने पनि समितिको बैठकले निर्णय गरेको छ । 

त्यस्तै सरकारले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ । विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेलामा रोक लगाउने पनि सरकारले निर्णय गरेको छ । यसको अनुगमन गृह मन्त्रालय र संस्कृति एवम् पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने पनि समितिको निर्णयमा उल्लेछ । साथै यससम्बन्धमा प्रदेश र स्थानीय सरकारलाई पनि अनुगमन गर्न संघीय सरकारले निर्णय गरेको छ । 

बुधबार बसेको समितिको बैठकले सिनेमा हल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब, स्विमिङ पुल, डान्सबार तथा क्लबलाई पनि वैशाख १८ सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । 

कोरोना भाइरसकोभिड–१९ संक्रमण रोकथाम समिति

कान्तिपुर

Link copied successfully