कोरोना संक्रमण फैलिए ३ सय ७५ भेन्टिलेटर जरुरी

चैत्र ५, २०७६

अतुल मिश्र

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमण भयावह भए उपचारका लागि अधिकतम तीन सय ७५ भेन्टिलेटरसहितको आईसीयू चाहिने आकलन गरेको छ । यो इटाली र इरानमा देखिएको भन्दा ५ गुना बढी नेपालमा संक्रमित भए एक महिनामा अधिकतम ७ हजार ५ सय बिरामी उपचारमा आउने अनुमान गरेर निकालिएको तथ्यांक हो । 

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोरोना विपद् व्यवस्थापन अध्ययन समितिका संयोजक डा. रोशन पोखरेलका अनुसार यहाँ महिनामा अधिकतम १५ सय बिरामीको उपचार गर्न सक्ने स्थिति आउने अनुमान गरिएको छ । यी अनुमान विश्व स्वास्थ्य संगठनको तथ्यांकका आधारमा गरिएका हुन् । सरकारले हालसम्मका विभिन्न तथ्यांकका आधारमा गरेको विश्लेषणअनुसार कोभिड–१९ संक्रमितमध्ये ८० प्रतिशतलाई सिटामोल खानेबाहेक केही खास उपचार आवश्यक पर्दैन । ‘बाँकी २० प्रतिशत प्रभावितलाई उपचार प्रक्रियामा लैजानुपर्छ,’ डा. पोखरेलले भने । 


मन्त्रालयले आइसोलेसन क्षेत्र र क्वारेन्टाइन क्षेत्र पहिचान गरिसकेको छ । टेकुमा १ सय, खरिपाटीमा २ सय, कीर्तिपुरमा १ सय २०, पाटन/एपीएफ/वीरमा १ सय गरी जम्मा ५ सय २० आइसोलेसन क्षेत्र निर्धारण गरिएको हो । 


आइसोलेसनमा बेड, चिकित्सक, आईभी स्टेन्ड, अक्सिजनको सुविधा हुन्छ । यो क्षेत्रमा भेन्टिलेटर हुँदैन । हाल काठमाडौंमा निजी र सरकारी गरी १ सय ५५ वटा भेन्टिलेटरसहितको आईसीयू छन्, जसमा ५० प्रतिशत अरू नै बिरामीले ओगटेका छन् । बाँकी कोभिड–१९ संक्रमितका लागि उपयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । सरकारले थप १ सय २० वटा भेन्टिलेटरसहितको आईसीयू तयार गर्न १० दिनभित्र आपूर्ति हुने गरी द्रुत खरिद प्रक्रिया अघि बढाएको छ । टेकुमा ४०, वीरमा २०, सशस्त्रमा २०, पाटनमा २० र आर्मीमा २० वटा भेन्टिलेटर थपिनेछ । आर्मीले १ सय ८ जना अट्ने आइसोलेसनसमेत बनाएको छ । 


प्रत्येक प्रदेशका १४ अस्पतालमा ६० भेन्टिलेटर सुविधाको १ सय २० आईसीयू शय्या बनाउने प्रक्रिया थालिएको छ । प्रदेश सरकारले एक सातादेखि १० दिनभित्र आईसीयू निर्माण गरिसक्ने तयारी गरेका छन् । १० दिनभित्र ४ सय भेन्टिलेटरसहितको आईसीयू बनाइने डा. पोखरेलले बताए । 

कोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully