कोरोना रोक्‍नका लागि मेडिकल सामग्री र चिकित्सक टोली पठाउन चीन तयार

चाहिने कुराको व्यवस्थित सूची माग

काठमाडौँ — कोरोना भइरस (कोभिड–१९) नियन्त्रणका लागि आफ्नो मुलुकमा सफलता हासिल गर्दै आएको छिमेकी मुलुक चीनले नेपालका लागि आवश्यक पर्ने मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव गरेको छ । नेपालका लागि के–के सामग्री र प्राविधिक सहयोग आवश्यक पर्छ, त्यसबारे व्यवस्थित माग राख्न चीनले भनेको हो ।

कोरोना रोक्‍नका लागि मेडिकल सामग्री र चिकित्सक टोली पठाउन चीन तयार

भाइरस प्रभावित अन्य मुलुकहरूलाई सहयोगको मात्रा बढाइरहेको चीनले नेपालमा पनि सम्भावित महामारी रोक्नका लागि सहयोगको प्रतिबद्धता जनाएको हो ।


कोरोना भाइरस रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार चीनले सहयोगका सम्भावित क्षेत्रबारे पनि उल्लेख गरेको छ । ऊर्जा, मास्क, मेडिकल सामग्री र मेडिकल टिम पठाउनेसम्मको प्रतिबद्धता चीनबाट आएको छ । त्यस्तै भाइरसको संक्रमण घट्नेबित्तिकै नेपालले चाहे चिनियाँ पर्यटकहरूको आगमन पनि अरूभन्दा पहिले खुला गर्न तयार रहेको प्रतिबद्धता आएको छ । त्यस्तै नेपालको पूर्वाधार निर्माणको कामलाई पनि नेपालले चाहेको समयमा गति दिन तयार रहेको सूचना चीनले पठाएको छ ।


‘यस्तो गर्ने हो भने तुरुन्त माग होस्, हामी तत्पर छौं भनेर चिनियाँ पक्षबाट हामीलाई आश्वासन आएको छ,’ उपप्रधानमन्त्री पोखरेलले मंगलबार कान्तिपुरसँग भने, ‘हामी पनि संक्रमण नफैलियोस् भनेर लागेका छौं र आवश्यक पर्ने सबै खालका सहयोग लिन्छौं ।’


केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच पनि कुराकानी भएको थियो । त्यस क्रममा पनि पनि सहयोग गर्ने विषयमा दुईपक्षीय कुराकानी भएको थियो । ‘उहाँहरूले सहयोगका लागि तत्परता देखाउनुभएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँहरूको असल अभ्यासबाट कसरी सिक्ने भन्ने नै हो । दोस्रोचाहिँ हामीलाई आवश्यक पर्दा सामग्रीहरूमा सहयोग गर्ने कुराहरू हुन्, त्यसमा कुराकानी भइरहेको छ ।’


चीनले कोरोनाबाट अत्यधिक प्रभावित इटाली र स्पेनमा मेडिकल टोलीसहित स्वास्थ्य सामग्री पठाएर सहयोग गरिरहेको छ । युरोपको सबैभन्दा प्रभावित मुलुक इटालीको राजधानी रोममा केही समयअघि चीनले विमान चार्टर गरेर नौ सदस्यीय मेडिकल टोली पठाएको थियो । चीनको राष्ट्रिय स्वास्थ्य आयोग र चीनकै रेडक्रस सोसाइटीले सात हजार भेन्टिलेटर र मोनिटरसहित अन्य स्वास्थ्य सामग्री इटालीलाई सहयोग गरेको छ ।


नेपालमा संक्रमण फैलिए अहिलेका अस्पतालमा रहेका भेन्टिलेटर र मेडिकल कीटलगायतको व्यापक अभाव हुने आकलन छ । त्यसैले त्यस्ता सामग्री खरिद प्रक्रिया र विदेशी सहयोगबाट समेत जोहो गर्ने सरकारी तयारी छ । त्यही तयारीअन्तर्गत चीनले गरेको सहयोगको प्रस्तावबाट सरकार उत्साहित छ । यसअघि चीनमा संक्रमण बढेका बेला नेपालले एक लाख थान मास्क पठाएको थियो । नेपालको उक्त सहयोगप्रति चीनका परराष्ट्रमन्त्री वाङ यीले पनि प्रशंसा र आभार व्यक्त गरेका थिए । अहिले नेपालमा जोखिम बढ्ने सक्ने अवस्थालाई मध्यनजर गरेर चीनले आफ्नोतर्फबाट पनि गुन तिर्न खोजेको हो ।


‘असल छिमेकीको हिसाबले हाम्रो क्षमताअनुसार हामी नेपाललाई सहयोग गर्न तयार छौं,’ चिनियाँ दूतावासका एक उच्च अधिकारीले भने, ‘नेपालबाट के–के कुरा चाहियो भन्ने प्रस्ताव पठाएपछि त्यसको आधारमा हामी सहयोग पठाउँछौं ।’


केही दिनअघि सार्क राष्ट्रहरूबीच पनि कोरोनाविरुद्ध साझा प्रयास अघि बढाउने सहमति भएको थियो । आठवटै मुलुकहरूबीच गत आइतबार भएको भिडियो कन्फरेन्समा कोरोनाविरुद्ध लड्नका लागि साझा कोष बनाउने सहमति पनि भएको थियो । उक्त कोषमा भारतले एक अर्ब रुपैयाँ बराबरको रकम राख्ने प्रतिबद्धता जनाएको थियो । सार्क राष्ट्रसँगको संयुक्त प्रयास भए पनि चीनले भने आफ्नो छिमेकी सम्बन्ध आधारमा नेपाल केन्द्रित सहयोगको इच्छा देखाएको हो ।


उपप्रधानमन्त्री पोखरेलले सार्कको विपत् व्यवस्थापन कोषमा रहेको पैसा पनि अहिले भइरहेको महामारीको नियन्त्रणमा प्रयोग गर्न सकिने बताए ।


‘यो अस्थायी समस्या हो, स्थायी फाइदा लिने गरी प्रस्ताव नल्याउनुहोस्’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल



कोरोना संक्रमण नियन्त्रणका लागि सरकारको अहिलेको प्रयास कति मजबुत छ ?

हामीले सकेसम्म सबै खालको प्रयास गरिरहेका छौं । यो बीचमा हामीले आठवटा बैठक गर्‍यौं । समन्वय समितिबाट काम भइरहेको छ । सर्वदलीय बैठकमा सबै पार्टीहरूबाट साझा प्रतिबद्धता आएको छ । प्रदेशहरूको समस्या पनि हामीले मुख्यमन्त्री, सामाजिक विकास मन्त्रीहरूलाई बोलाएर सुनेका छौं । आवश्यक पूर्वाधारहरू तयार गर्ने सम्बन्धमा उच्चस्तरीय समितिबाट महत्त्वपूर्ण निर्णय भएका छन् ।


तपाईंले डाक्टर र विज्ञहरूसँग मंगलबार छलफल गर्नुभएको थियो, के सुझाव दिए ?

बीएसथ्री ल्याबहरू बढाउनुपर्‍यो भन्ने छ । अहिले केन्द्र एउटा (टेकु अस्पताल) मात्र छ । यसलाई सातवटै प्रदेशमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्छ । स्याम्पल कलेक्सन सेन्टरलाई बढाउने र डिटेक्सनमा ध्यान दिनुपर्‍यो भन्ने सुझाव छ । होम र सेल्फ क्वारेन्टाइनलाई नियमन गर्नुपर्‍यो, एयरपोर्टको यो सिस्टमलाई सिल्ड नै गर्नुपर्छ भन्ने सुझाव आएको छ । मुभमेन्टलाई रेस्ट्रिक्सन गर्ने कुरा गर्नु भएको छ । अपरिहार्य आवस्थाबाहेक सामान्य नियमित चेकका लागि अस्पतालमा जाने, त्यहाँ भीडभाड नगर्ने भन्ने खालको सुझाव पनि उहाँहरूबाट आएको छ ।


प्रदेशहरूमा त एउटा गतिलो प्रयोगशाला पनि छैन नि ?

प्रदेशका लागि पनि अत्यावश्यक सामग्री, पूर्वाधार के छ भन्ने हामीले मुख्यमन्त्रीहरूसँगको छलफलमा पनि बुझ्यौं । उनीहरूको मागअनुसार काम गर्नेछौं । प्रदेश र केन्द्रमा केही ग्याप छ भने त्यसलाई हटाएरै काम हुन्छ र भइरहेको छ । बीएसथ्री ल्याब सात प्रदेशमै सञ्चालन गर्नेमा सरकार सकारात्मक छ ।


फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरूलाई के व्यवस्था छ ?

सुरक्षाका सबै उपाय अपनाइएको छ । उनीहरूका लागि आवश्यक पर्ने इन्सेन्टिभ दिने भन्ने निर्णय नै भइसकेको छ ।


धेरै मुलुकमा सामग्रीको अभाव छ । अत्यावश्यक सामग्रीहरू नेपालले कहाँबाट ल्याउँछ ?

चीनले हामी जुनसुकै सहयोग गर्न तत्पर छौं भनेर भनेको छ । जस्तै, चीनले ऊर्जा सहयोग गर्न, मास्क तथा अन्य मेडिकल सामग्रीसहित मेडिकल टिम पठाउन आवश्यक छ ? भनेर सोधेको छ । संक्रमण रोकिएपछि नेपालमा चीनका पर्यटक पहिलो पर्यटक हुनेछन् भन्नुभएको छ । त्यस्तै नेपालले आवश्यक ठानेको समयमा चीनले नेपालका पूर्वाधारहरू निर्माणका कामलाई गति दिन चाहन्छौं पनि भनेको छ । के आवश्यक छ, तुरुन्तै माग होस्, हामी तत्पर छौं भनेका छन् ।


सार्कका मुलुकहरूबीचमा आइतबार भिडियो कन्फरेन्स भएको छ । भारत सरकारले रकमको घोषणा पनि गर्‍यो । त्यसका बाबजुद सार्कको विपद् व्यवस्थापन कोषमा पनि अहिले रकम छ । त्यसलाई पनि मोबिलाइज गर्न सकिन्छ । भारतीय प्रधानमन्त्रीले भारतका तर्फबाट विशेष सहयोग हुन्छ भन्नुभएको छ । त्यो पनि राम्रो कुरा हो ।


इक्युपमेन्टहरूको सन्दर्भमा डब्लूएचओ र सम्बन्धित एजेन्सीहरूले पनि काम गरिरहेका छन् । भेन्टिलेटरहरू पनि उपत्यका भरिमा एक सयवटाभन्दा पनि रहेनछन् । त्यही बेलामा खोजी हुने हो । सामग्री ल्याउने सन्दर्भमा हामीलाई आवश्यक पर्दा जुन देशमा छ, त्यहींबाट ल्याउने हो । यहाँबाट यसरी आउने भन्ने छैन । तर सम्भावित ठाउँहरूको अध्ययन गरेर स्वास्थ्य मन्त्रालयले ल्याउँछ ।


संक्रमणको जोखिम भित्रिन नदिन सावधानी अपनाउँदा सबै उद्योग व्यवसाय चौपट भयो, राहत प्याकेज दिनेबारे केही सोचेको छ ?

हामीले औषधि उद्योग संघका प्रतिनिधिहरूसँग कुराहरू गरेका छौं । उनीहरूलाई आवश्यक पर्ने सहयोगका कुरा गर्नु भएको छ । उनीहरूलाई कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था भएका छन् । हामीले पर्यटन व्यवसायीहरूबीचमा पनि कुरा गर्‍यौं ।


मैले भनिदिएको छु, तपाईंहरूका समस्याहरू के–के हुन् ? सूची बनाएर ल्याउनुहोस्, सरकारले के गरिदिनुपर्‍यो ? यो–यो समस्या हो भन्नुपर्छ । यो अस्थायी समस्या हो तर यही बेला स्थायी फाइदा लिने गरी प्रस्ताव लिएर चाहिँ उहाँहरू आउनु हुँदैन । सरकारबाट प्याकेज पाउनका लागि उहाँहरूबाट ठोस रूपमा प्रस्ताव आउनुपर्छ र त्यसपछि के गर्ने भनेर अघि बढ्ने हो ।

प्रकाशित : चैत्र ५, २०७६ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?