कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

लुट्नका लागि जनताले शासनमा पुर्‍याएको होइन : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले भ्रष्टाचार र लुटतन्त्र मच्चाउनका निम्ती शासन सत्तामा नपुर्‍याएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा उनले भ्रष्टाचारप्रति शून्य सहनशीलता बोलीमा होइन व्यवहारमा अपनाउने पनि बताए ।

लुट्नका लागि जनताले शासनमा पुर्‍याएको होइन : प्रधानमन्त्री

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएर सूचना तथा संचार प्रविधिमन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको केही समयपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनमत भ्रष्टाचार गर्न नदिएको बताए ।

'शासनमा रुलिङ पोजिसनमा पुर्‍याउनुको अर्थ लुटिङ फ्यासिलिटी दिएको भन्ने होइन । त्यो चिजको सुविधा हुँदैन,' उनले भने, 'स्वच्छता, पारदर्शिताको सम्बन्धमा अलिकति पनि प्रश्न उठ्ने बितिक्कै मैले भन्ने गरेको छु कि- म यसमा कसैको अनुहार हेरेर निर्णय गर्दैन ।'

'भ्रष्टाचारप्रतिको शून्य सहनशीलता' भन्नका लागि नभएर व्यवहारमा उतार्न भनेको ओलीले बताए । सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाएको ओलीको दाबी थियो । 'सुशासनका निम्ति चाल्न पर्ने कदम यहाँहरूले देख्नै भएको छ । सुशासनका निम्ति चाल्नुपर्ने कदममा म हिचकिचाउँदिन,' उनले भने, 'अप्ठ्यारा त आउँछन्, अवश्य आउँछन्, कठिनाइ अवश्य आउँछन् । कहिले कहिले मान्छेहरूले भन्ने गर्छन् 'तेरो प्रधानमन्त्री पद धरापमा पर्छ है यहिँ चालले' मलाई त्यसको चिन्ता होइन ।'

आफू प्रणाली स्थापना गर्नका लागि काम गरिरहेको ओलीको दाबी थियो । उनले भने, 'प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने होइन मैले एउटा प्रणाली स्थापित गर्ने हो ।'

प्रधानमन्त्री ओलीले कसैले पनि लामो समय शासन नगर्ने र आफू पनि त्यस पक्षमा नरहेको बताए । उनले भने, 'हजार वर्ष कसैले शासन गर्दैन । जतिसुकै सफल भएपनि प्रकृतिले धेरै लामो समय शासन गर्न दिँदै दिँदैन । जस्तै राम्रो गरे पनि धेरै समय शासनमा बस्न खोज्यो भने परिणाम राम्रो हुँदैन ।'

प्रकाशित : फाल्गुन ८, २०७६ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?