संसद्को अवरोध हट्यो- समाचार - कान्तिपुर समाचार

संसद्को अवरोध हट्यो

कांग्रेसले भन्यो- सरकारको प्रतिशोध साँध्‍ने हतियार बन्‍ने अख्तियारलाई कसले नियाल्ने ?
जयसिंह महरा

काठमाडौँ — प्रतिनिधि सभाको बैठक तीन दिन अवरुद्ध गरेको कांग्रेसले मंगलबारबाट सञ्‍चालन हुन दिएको छ । उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको विरोधमा संसद् अवरुद्ध गरेको कांग्रेसले अवरोध खुलाएको हो ।

कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदीय दलको निर्णयअनुसार संसदको अवरोध हटाउने निर्णय लिइएको बताइन् । उनले 'संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया भएको' आरोप लगाउँदै प्रतिशोध साँध्‍न गच्छदारमाथि मुद्दा दायर गरिएको आरोप लगाइन् ।

'राजनीतिक पूर्वाग्रहको आधारमा अख्तियारले मुद्दा दायर गरेको छ । तटस्थ, निष्पक्ष ढंगबाट आफ्‍नो कार्यक्षेत्रभित्र रहेर काम गर्नुपर्ने अख्तियारले सकारबाट प्रभावित भएर मुद्दा दायर गरेकाले विरोधमा सदनलाई बन्द गराउनुपरेको थियो,' भुसालले भनिन्, 'विशेष अदालतमा दायर गरेको आरोपपत्र हेर्दा पनि पूर्वाग्रह राखिएको प्रस्ट छ । सरकारको ठूलो उपलब्धि हो भनेर सरकारका प्रवक्ताले भनेअनुसार पनि अख्तियार सत्ताबाट प्रभावित भएको प्रस्ट भयो '


यो पनि

आफ्‍नो सम्बोधनको अधिकांश समय अख्तियारको आलोचनामा बोलेकी भुसालले संवैधानिक अंग सरकारको लाचार छाया बन्न नुहने बताइन् । उनले पूर्वाग्रह र प्रतिशोध साँध्‍न संवैधानिक अंग परिचालन भएकोबारे संसद्ले‍ नियाल्नुपर्ने बताइन् । 'मुलुकको संवैधानिक अंगले प्रतिशोध साँधेर सरकारको प्रभावाम आएर त्यस्ता निर्णय गर्छ भने त्यस्ता संवैधानिक अंगलाई नजिकबाट नियालेर हामी बसेका छौं । संविधानवादको, कानुनी शासनविपरीत प्रतिशोध साँध्नेलाई संसदले ननियालेर कसले नियाल्ने ?,' उनको प्रश्‍न थियो ।

सभामुख अग्‍निप्रसाद सापकोटाले शुक्रबारको बैठकमा 'अदालतमा मुद्दा गइसकेको अवस्थामा सदनबाट केही गर्न सकिँदैन' भनेको स्मरण गर्दै भुसालले सदनको अवरोध खोल्ने निर्णय गरिएको जानकारी दिइन् । गच्छदारविरुद्ध मुद्दा चलाउने तर तत्कालीन प्रधानमन्त्रीविरुद्ध नचलाएको भन्दै भुसालले असन्तुष्टि जनाइन् । उनले भनिन्, 'कसैलाई मन्त्रिपरिषदको निर्णय हो भन्‍ने, कसैलाई जग्गा फिर्ता गर्ने भनेर मुद्दा चलाइएन । त्यतिबेलाका प्रधानमन्त्रीले गुरुयोजना मागेबमोजिम मन्त्रीका रूपमा गच्छदारले उक्त जग्गाको काम गर्नुभएको हो ।'

उनले तत्कालीन मुख्यसचिव र प्रधानमन्त्रीविरुद्ध मुद्दा नचलाएकोमा पनि आक्रोश पोखेकी थिइन् ।

प्रकाशित : माघ २८, २०७६ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा लागेन ‘ब्रेक’, थन्किए अध्ययन प्रतिवेदन

दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे विभिन्न जाँचबुझ प्रतिवेदनमा विस्तृत उल्लेख गरिए पनि त्यसअनुसार सुधारका कामहरू हुन सकेका छैनन्, जसले सडक दुर्घटनामा कमी आएको छैन ।
दुर्गालाल केसी

(दाङ) — चितवनको गीतानगरबाट दुलही लिएर २०७५ मंसिर २७ मा बाँकेको शमशेरगन्ज जाँदै गरेको स्करपियो लमही–९, रिहार नजिक बससँग ठोक्कियो । दुर्घटनामा दुलाहाका बुवाआमासहित ६ जनाको मृत्यु भयो । दुलही भित्र्याउन तयार राप्ती सोनारी–८ स्थित शमशेरगन्ज शोकमा डुब्यो ।

लमही–घोराही सडकखण्डको बेलदमारमा २०७५ माघ २४ मा कार दुर्घटना हुँदा प्रदेश सांसद उत्तरकुमार वलीको मृत्यु भयो । ना५ख ५५२९ नम्बरको बस र सांसद ओली सवार बा१८च ६८३६ नम्बरको कार ठोक्किँदा गम्भीर घाइते वलीको उपचारका क्रममा मृत्यु भयो । प्रदेश सांसदको मृत्युपछि दुर्घटनाबारे जाँचबुझ गर्न अध्ययन समिति बनाइयो । दुर्घटना न्यूनीकरण अभियान र ट्राफिक सचेतनाका कार्यक्रम पनि चलाइयो । प्रदेश प्रहरीले चालकको स्वास्थ्य जाँच, मोबाइल फोन प्रयोगमा निषेध, यात्रु सचेतना, लामो दूरीका सवारी साधनमा दुई चालकको व्यवस्था र ट्राफिक नियम पालनामा कडाइ गर्‍यो ।

२०७५ पुस ६ मा तुलसीपुर–३, राम्रीमा घोराहीको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बा४ख ९७६६ नम्बरको बस दुर्घटनामा पर्‍यो । प्रयोगात्मक अभ्यासका लागि सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान अवलोकन सकेर फर्किने क्रममा बस भीरबाट खस्दा १९ विद्यार्थी, दुई शिक्षक, चालक र सहचालक गरी २३ जनाको मृत्यु भयो । दुर्घटनापछि प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीको संयोजकत्वमा अध्ययन टोली बनायो । जसले दुर्घटना न्यूनीकरण सम्बन्धमा सुझाव दिएको थियो । तर सुझाव कार्यान्वयन भएन ।

छुट्टाछुट्टै सुझाव
उक्त टोलीले २०७५ पुस १८ मा तयार पारेको प्रतिवेदनमा तीव्र गति, साँघुरो सडक र चालक सडकमा केन्द्रित नहुनुलाई दुर्घटनाको मुख्य कारण मानिएको छ । सडक फराकिलो बनाउन, सडकका खाल्डाखुल्डी पुर्न, सडक किनारमा बलियो बार तथा पिल्लर राख्न, पहाडी क्षेत्रमा गुड्ने सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त राख्न सवारी धनीले ध्यान दिन, ट्राफिक प्रहरीले नियमित अनुगमन गरी बसको सिट र भारवहन क्षमता नियन्त्रण गर्न र चालकलाई बेलाबेला प्रशिक्षणको व्यवस्था गर्न प्रतिवेदनमा सुझाइएको छ ।

प्रतिवेदनमा सुझावका रुपमा वनभोज, शैक्षिक भ्रमण तथा समूहगतरुपमा रिजर्भमा जाने सवारी साधनको विशेष जाँच गर्नुपर्ने, सडकको अवस्थाबारे जानकारी दिन सूचना पार्टी राख्नुपर्ने, स्थानीयबासीले समेत सडक मर्मतसम्भारमा ध्यान दिनुपर्ने र तुलसीपुरदेखि कपुरकोट खण्डमा चल्ने सवारी साधनलाई टाइम कार्डको व्यवस्था गर्नुपर्ने उल्लेख छ । अध्ययन टोलीले समग्र दुर्घटनालाई मध्यनजर गरी ट्राफिक प्रहरी, सडक कार्यालय, यातायात व्यवस्था कार्यालय, स्थानीय तह, यातायात व्यवसायी, चालक, सहचालक र सडक प्रयोगकर्ताले गर्नुपर्ने कामहरूको छुट्टै सूची नै बनाएको छ । जसमा सडक कार्यालयले नियमित सडक मर्मत गर्नुपर्ने, सडक चिन्ह, ट्राफिक संकेत बोर्ड राख्नुपर्ने, जेब्रा क्रस र पुलहरूमा रंगरोगन गर्नुपर्ने, व्यस्त सहरमा आकाशे पुल बनाउनुपर्ने, सडक प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नुपर्ने, राजमार्गमा बिग्रने सवारी साधन राख्न निश्चित दूरीमा यार्डहरू निर्माण गर्नुपर्ने र सवारी चापअनुसार सडक विस्तार गरी डिभाइडर राख्नुपर्ने भनिएको छ ।

यातायात व्यवस्था कार्यालयले सवारी साधन जाँचपास गर्दा यान्त्रिक र बाहृय अवस्थाको जाँच गर्नुपर्ने, सवारी चालक अनुमतिपत्र वितरण गर्दा अनिवार्य ट्राफिक सचेतना कक्षामा समावेश गराउनुपर्ने, चालक अनुमतिपत्र दिँदा स्वास्थ्य जाँचलाई कडाइ गर्नुपर्ने, आवेग, संवेगको मनस्थिति बुझ्ने व्यवस्था हुनुपर्ने र २० वर्ष पुराना सवारीसाधन हटाउनुपर्ने सुझाव दिइएको छ । प्रतिवेदनमा स्थानीय तहले व्यवस्थित पार्किङ र छाडा गाईगोरुको व्यवस्थापन गर्नुपर्ने, सामान लोड–अनलोड गर्दा ध्यान दिनुपर्ने तथा बजार क्षेत्रमा राखिएका अनावश्यक होर्डिङ बोर्ड हटाई ट्राफिक सचेतनासम्बन्धी बोर्डहरू राख्नुपर्ने भनिएको छ । सवारी साधन दुरुस्त भए नभएको जाँच गरेर मात्र चलाउने, चालकले मादकपदार्थ सेवन गरे नगरेको अनुगमन गर्ने, रिस तथा आवेगमा आउनेलाई चालकको जिम्मेवारी नदिने, लामो दूरीमा दुईजना चालकको अनिवार्य व्यवस्था गर्ने, सवारी चालक पोसाक र परिचयपत्र अनिवार्य गर्नुपर्ने, क्षमताभन्दा बढी यात्रु राख्न बन्द गर्नुपर्ने सुझाव सवारी धनी र यातायात व्यवसायी संघसंस्थाहरूलाई दिइएको थियो ।

चालकले आफू र सम्पूर्ण यात्रुहरूको जीवन आफ्नो हातमा रहेको कहिलै नबिर्सने, अत्यधिक खुसी, तनाव, आवेग, अनिद्रा, थकान र पिडामा हुँदा सवारी नचलाउने, लागुपदार्थ र मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तीव्र गतिमा नचलाउने, अर्को साधनसँग प्रतिस्पर्धा नगर्ने र सवारी साधनबारे पूर्ण ज्ञान राखी आवश्यकता अनुसार मर्मत गराउने काममा ध्यान दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । यसैगरी यात्रुहरूलाई जथाभावी बाटो नकाट्न, झुन्डिएर, छतमा र ढोकामा उभिएर यात्रा नगर्न, आरक्षित सिटमा सम्बन्धितलाई बस्न दिन, सडकमा मर्निङ वाक नगर्न र सडकमा सामान नराख्न अध्ययन टोलीले सुझाएको छ ।

अर्घाखाँचीको सल्लेरीमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुईंटेलको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिले २०७६ मंसिर १८ मा तयार पारेको प्रतिवेदनमा प्रत्येक जिल्ला सदरमुकाममा गाडीको प्राविधिक जाँच गर्ने कम्तिमा एउटा कार्यालय हुनुपर्ने र लामो रुटमा जानुपूर्व अनिवार्य प्राविधिक जाँचको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ । एकपटक दुर्घटना गराएको चालकलाई दुर्घटनाको प्रकृत्तिअनुसार निश्चित समयसम्म सवारी चलाउन कानूनीरुपमै प्रतिबन्ध लगाउनुपर्ने, चालकको शारीरिक र मानसिक अवस्था जाँच गर्ने प्रणालीलाई कानून बनाई नियमित र प्रभावकारी बनाउनुपर्ने र सडकको दुवै साइडमा बत्तीहरू राख्नुपर्ने सुझाइएको छ ।

दुर्घटनाबारे तयार भएका प्रस्तुत सबै अध्ययन प्रतिवेदनमाथि अहिलेसम्म कतै र कहिल्यै गम्भीर छलफल भएको छैन । दुर्घटनाका प्रतिवेदनहरू प्रदेश सरकार र प्रहरी प्रधान कार्यालमा पेस भएको प्रदेश ५ का प्रहरी प्रमुख डिआइजी सुरेशविक्रम शाहले बताए । दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे प्रतिवेदनमा विस्तृत उल्लेख भए पनि त्यस अनुसार सुधारका कामहरू हुन नसकेको उनको भनाइ छ ।

दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही : प्रहरी
चालकको लापरवाही दुर्घटनाको मुख्य कारण रहेको प्रहरीको निष्कर्ष छ । प्रदेश प्रहरीले १२ जिल्लामा भएका दुर्घटनाको अध्ययन गरी सो निष्कर्ष निकालेको जनाएको छ । २०७५/०७६ मा भएका एक हजार २९ मध्ये सबैभन्दा धेरै चार सय ९५ दुर्घटना चालकको लापरवाहीले भएका छन् । यसैगरी ४ सय २ दुर्घटना तीव्र गतिले घटेका छन्, जुन चालकको लापरवाहीबाटै भएको प्रहरी बताउँछ । चालु आवको पुस मसान्तसम्म भएका पाँच सय ६६ दुर्घटनामध्ये सबैभन्दा बढी दुई सय ७० तीव्र गति र दुई सय २१ चालकको लापरवाहीले भएका छन् ।

ओभरटेक, मादक पदार्थ सेवन, मोबाइलको प्रयोग र ओभरलोडका कारण पनि दुर्घटना भएको तथ्यांक छ । यी पनि चालककै लापरवाहीसँग सम्बन्धित छन् । यान्त्रिक गडबडी, यात्रुको गल्ती, चौपाया र मौसमको अवस्थाका कारण हुने दुर्घटनाको संख्या निकै कम छ । यस वर्ष चौपायाका कारण १९, यान्त्रिक गडबडीले १४, यात्रुको गल्तीले १२, सडकको अवस्थाले ८ र मौसमको खराबीले एक वटा मात्रै सडक दुर्घटना भएको प्रहरीको तथ्यांक छ ।

सबैभन्दा बढी दुर्घटना हुने साधन मोटरसाइकललाई भनिएको छ । गत वर्ष दुर्घटनामा परेका एक हजार चार सय ४० सवारी साधनमध्ये सबैभन्दा बढी ६ सय ५५ मोटरसाइकल छन् । त्यसपछि जीपकार एक सय ९०, बस एक सय ३०, ट्रक, ट्याक्टर एक सय १८, टिपर ५७, टेम्पो ५२ र माइक्रोबस १५ वटा छन् । चालु आवको पहिलो ६ महिनामा भएका सात सय ७३ साधन दुर्घटनामा परेकोमा सबैभन्दा बढी तीन सय ८४ वटा मोटरसाइकल छन् । त्यसपछि जीपकार एक सय एक, बस ७०, ट्रक ५०, ट्याक्टर ४९, टिपर २६, टेम्पो २५ र माइक्रोबस ११ वटा छन् ।

प्रहरीका अनुसार धेरै दुर्घटना साँझ ६ बजेको समयमा हुने गरेका छन् । गत वर्ष सोही समयमा तीन सय ७९ र यस वर्ष दुई सय ३० वटा दुर्घटना भएका छन् । बेलुकापख कामबाट घर फर्कन मनिसहरूको भिडभाड हुने, सवारीसाधनको पनि चाप हुने, अँध्यारो बढ्दै जाने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने र हतारका कारण तीव्र गति हुने भएकाले दुर्घटना धेरै हुने गरेको प्रहरीको विश्लेषण छ ।
कसरी घटाउने दुर्घटना ?
दुर्घटनाको जाँचबुझ तथा अध्ययन भई न्यूनीकरणका लागि विभिन्न सुझावहरू दिइए पनि यसको कार्यान्वयन पक्ष भने कमजोर देखिएको छ । दुर्घटनाको अध्ययन गर्दा सडक र सवारी साधन विज्ञको सहभागीता गराइँदैन । सबै दुर्घटनामा प्रहरीलाई मात्रै अध्ययनको जिम्मेवारी दिइएको छ । दुर्घटनाबारे अध्ययन हुने तर त्यसको कार्यान्वयन नहुने समस्या रहेको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नवराज पोख्रेल स्वीकार्छन् ।

‘अध्ययनबाट आएका निष्कर्ष कार्यान्वयन गर्न सबै सरोकारवालाहरूको भूमिका हुन्छ । प्रहरीको भूमिकाले मात्रै दुर्घटना न्यूनीकरण सम्भव छैन,’ उनले भने, ‘सडक, यातायात कार्यालय र यात्रुहरूको भूमिका बढी महत्वपूर्ण हुन्छ । सबै सरोकारवाला जिम्मेवार हुन आवश्यक छ ।’ यात्रुहरूको चेतनास्तर उच्च भए मात्रै पनि दुर्घटना न्यूनीकरणमा धेरै सघाउ पुग्ने उनले बताए । ‘यात्रुहरू सडकमा जथाभावी नहिँडिदिने, गाडीमा क्षमताभन्दा बढी नचढिदिने र जानेका नियमहरू पालना गरिदिने हो भने दुर्घटना धेरै कम हुन सक्छ,’ उनले भने, ‘चालकको सावधानी त्यत्तिकै महत्वपूर्ण हुन्छ । गाडी र सडकको अवस्था ठिक हुन पनि उत्तिकै आवश्यक छ ।’

दुर्घटना कम गर्न प्रहरीको तर्फबाट धेरै नै पहल भएको पोख्रेलले दाबी गरे । उनका अनुसार चालक, सहचालक र यात्रुहरूलाई समेत सुरक्षित यात्राबारे सचेत पार्ने गरिएको छ । लामो दूरीका गाडीलाई राजमार्गमा रोकेर चालकलाई प्रशिक्षण दिने, सवारी साधनमा रिफ्लेक्टर टेप राखेर रातीमा टल्किने बनाउने र नियमित सवारी जाँच गर्ने काममा प्रहरी खटिरहे पनि अन्य निकाय जिम्मेवार नहुँदा दुर्घटना कम हुन नसकेको उनले औंल्याए । ट्राफिक सचेतनाको काममा प्रहरीको भूमिका भए पनि सडक र सवारी साधनको अवस्थामा प्रहरीको हात नहुने भएकाले दुर्घटना न्यूनीकरणमा समस्या भएको उनको भनाइ छ । ‘सडक छेउमा बार, रेलिङ हाल्ने, सडक राम्रो बनाउने र गाडीको अवस्था जाँचमा हाम्रो पहुँच हुँदैन,’ उनले भने, ‘गाडीको प्राविधिक अवस्था जाँच्ने र सडक सुरक्षित बनाउने कुरामा पनि ध्यान दिनुपर्छ ।’

दुर्घटना कम गर्न ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गरिरहेको दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रेमप्रसाद रेग्मीले बताए । ‘सुरक्षित यात्राबारे गाडीभित्रै चढेर चालक, सहचालक र यात्रुलाई सचेत पार्ने काम गरिरहेका छौं,’ उनले भने, ‘विभिन्न ठाउँमा गाडी चेकिङ गर्ने र त्यसक्रममा भेटिएका समस्याबारे तत्कालै यात्रु र यातायात व्यवसायीलाई सचेत पार्ने गरिएको छ ।’ गाडीमा यात्रा गर्दा दुर्व्यवहार हुने गरेको, भाडामा ठगिने गरेको, महिला, अशक्त र वृद्धवृद्धाले आरक्षण सिटमा बस्न नपाएको जस्ता विषयमा समेत ट्राफिक प्रहरीले अनुगमन गर्ने गरेको रेग्मी बताउँछन् । ‘यसबाट दुर्घटना न्यूनीकरणका साथै सहज र सुरक्षित यात्रामा सहयोग पुग्छ,’ उनले भने, ‘गाडीको अवस्था, कागजात र यात्रुहरूको सुविधाबारे जिल्लाका सबै सरोकारवाला निकाय एकसाथ जुटेर चेकिङ गर्ने गरिएको छ ।’

नियमअनुसार नचल्ने यातायात व्यवसायीलाई कारबाही गरिएको रेग्मीले बताए । उनका अनुसार साउनयता मात्रै २४ हजार ६ सय ९९ चालक कारबाहीमा परेको र त्यसबाट एक करोड ५१ लाख ७९ हजार राजश्व संकलन भएको छ ।

प्रकाशित : माघ २८, २०७६ १३:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×