कांग्रेसले भन्यो- सरकारको प्रतिशोध साँध्ने हतियार बन्ने अख्तियारलाई कसले नियाल्ने ?
काठमाडौँ — प्रतिनिधि सभाको बैठक तीन दिन अवरुद्ध गरेको कांग्रेसले मंगलबारबाट सञ्चालन हुन दिएको छ । उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको विरोधमा संसद् अवरुद्ध गरेको कांग्रेसले अवरोध खुलाएको हो ।
कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदीय दलको निर्णयअनुसार संसदको अवरोध हटाउने निर्णय लिइएको बताइन् । उनले 'संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया भएको' आरोप लगाउँदै प्रतिशोध साँध्न गच्छदारमाथि मुद्दा दायर गरिएको आरोप लगाइन् ।
'राजनीतिक पूर्वाग्रहको आधारमा अख्तियारले मुद्दा दायर गरेको छ । तटस्थ, निष्पक्ष ढंगबाट आफ्नो कार्यक्षेत्रभित्र रहेर काम गर्नुपर्ने अख्तियारले सकारबाट प्रभावित भएर मुद्दा दायर गरेकाले विरोधमा सदनलाई बन्द गराउनुपरेको थियो,' भुसालले भनिन्, 'विशेष अदालतमा दायर गरेको आरोपपत्र हेर्दा पनि पूर्वाग्रह राखिएको प्रस्ट छ । सरकारको ठूलो उपलब्धि हो भनेर सरकारका प्रवक्ताले भनेअनुसार पनि अख्तियार सत्ताबाट प्रभावित भएको प्रस्ट भयो ।'
यो पनि
आफ्नो सम्बोधनको अधिकांश समय अख्तियारको आलोचनामा बोलेकी भुसालले संवैधानिक अंग सरकारको लाचार छाया बन्न नुहने बताइन् । उनले पूर्वाग्रह र प्रतिशोध साँध्न संवैधानिक अंग परिचालन भएकोबारे संसद्ले नियाल्नुपर्ने बताइन् । 'मुलुकको संवैधानिक अंगले प्रतिशोध साँधेर सरकारको प्रभावाम आएर त्यस्ता निर्णय गर्छ भने त्यस्ता संवैधानिक अंगलाई नजिकबाट नियालेर हामी बसेका छौं । संविधानवादको, कानुनी शासनविपरीत प्रतिशोध साँध्नेलाई संसदले ननियालेर कसले नियाल्ने ?,' उनको प्रश्न थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको बैठकमा 'अदालतमा मुद्दा गइसकेको अवस्थामा सदनबाट केही गर्न सकिँदैन' भनेको स्मरण गर्दै भुसालले सदनको अवरोध खोल्ने निर्णय गरिएको जानकारी दिइन् । गच्छदारविरुद्ध मुद्दा चलाउने तर तत्कालीन प्रधानमन्त्रीविरुद्ध नचलाएको भन्दै भुसालले असन्तुष्टि जनाइन् । उनले भनिन्, 'कसैलाई मन्त्रिपरिषदको निर्णय हो भन्ने, कसैलाई जग्गा फिर्ता गर्ने भनेर मुद्दा चलाइएन । त्यतिबेलाका प्रधानमन्त्रीले गुरुयोजना मागेबमोजिम मन्त्रीका रूपमा गच्छदारले उक्त जग्गाको काम गर्नुभएको हो ।'
उनले तत्कालीन मुख्यसचिव र प्रधानमन्त्रीविरुद्ध मुद्दा नचलाएकोमा पनि आक्रोश पोखेकी थिइन् ।
