ललिता निवास मुद्दामा लालफित्ता र स्वेत फित्ताधारीको व्यवहार गरिएको छैन : सरकारका प्रवक्ता

'निर्दोष ठहरिएर आउनुस्, अब दोषी ठहरिनुभए हाम्रो के लाग्छ त बाबा ?'

माघ २३, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिपक्षी कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध सरकारले कुनै पूर्वाग्रह नराखेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितता गरेको मुद्दा अनुसन्धान सकेर अदालत पुर्‍याएको र बाँकी काम अदालतबाटै हुने उनको भनाइ थियो ।

कांग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारलाई सरकारले फसाएको आरोप लगाइरहेका बेला सूचना तथा संचार प्रविधिमन्त्री बाँस्कोटाले मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा निर्दोष भए अदालतमा आफ्ना कुरा राख्न सुझाव दिएका हुन् । उनले अदालतमा तथ्य प्रस्तुत गरेर निर्दोष प्रमाणित भएर आए सरकारले फेरि दोषी करार नगर्ने बताए ।

'यहाँ पूर्वाग्रहको कुरा छैन । अहिले सरकारमा रहेका हामीहरू पनि भोलि केही पर्न गएमा व्यक्तिगत रूपमा जिम्मेवार हुनुपर्छ । जे प्रमाणित हुन्छ बेहोर्नु पर्छ । आरोप र पूर्वाग्रह बेहोर्नुपर्दैन तर प्रमाण त बेहोर्नुपर्‍यो,' गच्छदारलाई लिएर कांग्रेसका नेताका अभिव्यक्तिको जवाफमा मन्त्री बाँस्कोटाले भने, 'तथ्य नै गलत छ भने अदालतमा उहाँले ती कुरा राख्नुपर्‍यो, आफू निर्दोष प्रमाणित भएर आउनुपर्‍यो । फेरि सरकारले समातेर लगेर तँ दोषी नै हो भनेर करार गर्दैन । अब दोषी नै ठहरिनुभयो भने त हाम्रो के लाग्छ त बाबा ?'

उक्त मुद्दालाई लिएर अदालतको फैसला नै सरकारले कार्यान्वयन गर्ने बाँस्कोटाको प्रस्टोक्ति थियो । उनले ललिता निवासको जग्गाबारे नेपाल प्रहरीको सिआइबी र अख्तियारले छानबिन गरेको बताए । त्यसलाई पूर्वाग्रहको रूपमा नबुझ्न पनि उनको सुझाव थियो । वर्तमान सरकारको पालामा उक्त घटना नभएको बताउँदै उनले थपे, 'यो घटना आज भएको होइन । सरकारले सूचना थाहा पाएपछि कारबाही चलाएको हो ।'

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेल्ने सबैलाई मुद्दा चलाइएको बाँस्कोटाको भनाइ थियो । अख्तियारले बुधबार उक्त प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । जसमा मोही बनेर जग्गा आफ्नो नाममा राख्ने र उक्त जग्गा किन्नेहरू पनि रहेका छन् ।

उक्त प्रकरणमा 'लालफित्ता धारी र स्वेतफित्ताधारीको व्यहार सरकारले नगरेको' बाँस्कोटाको भनाइ थियो । सबै क्रियाकलाप कानुन बमोजिम भएको उनको भनाइ थियो । अन्य ठाउँमा पनि सरकारी जग्गा व्यक्तिको नाममा विगतमा राखिएको र तिनलाई वर्तमान सरकारले फिर्ता ल्याइरहेको उनले बताए । '-जसका नाममा अनधिकृत जग्गा, राज्यको सम्पत्त्ति गएको छ सबैमाथि निसन्देह कारबाही हुन्छ ,' उनले भने ।

मन्त्री बाँस्कोटाले नेकपाका महासचिव तथा सांसद विष्णु पौडेलको नाम बालुवाटारको जग्गामा नजोडिएको तर्क गरे । उनले पौडेलका छोराको नाममात्रै त्यसमा जोडिएको बताए । 'विष्णु पौडैलको नाम भन्दा पनि उहाँको छोराको नाम जोडिएर आएको छ । पाँचौं नम्बरमा त्यस्ता ६५ जना आएका छन्,' उनले थपे, 'थाहा पाएर किनेकाे हो वा थाहा नपाएर किनेको हो ! श्रेस्ता भिडाएको होला, त्यसरी नै किन्छन् जग्गा किन्नेले ।'  

पौडेलले जग्गा फिर्ता गर्ने भनेपछि उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छैन ।

ललिता निवास

कान्तिपुर

Link copied successfully